डिभी चिट्ठा परि अमेरिका गएका जीवन तिवारीको अमेरिकी संसदमा उम्मेदवारी


– विजय थापा
डिसी /नेपाली मूलका जीवन तिवारीले अमेरिकाको डिसी महानगर क्षेत्र अन्तर्गत भर्जिनियाको तल्लो सदन ‘हाउस अफ डेलिगेट ‘ मा उम्मेदवारी घोषणा गरेका छन् ।
कास्की पोखरा लेखनाथ नगरपालिका बेगनास ताल घर भर्इ बिगत १० वर्षदेखि अमेरिकाको उत्तर भर्जिनियामा बस्दै आएका तिवारीले सोमबार भर्जिनियाको हाउस अफ डेलिगेटको लागि क्षेत्र ८७ बाट २०१५ को लागि प्रतिनिधिसभामा डेमोक्र्याट पार्टीबाट उम्मेदवारी दिएका हुन् । अघिल्लो जनगणना अनुसार उक्त क्षेत्रमा करिब २५ प्रतिशत एसिएन मूलका मानिस बसोबास गर्छन् ।

संसदका उम्मेदवार बनेका तिवारी डेमोक्रेटिक दलमा विभिन्न तहमा २००९ देखि नै सक्रिय रहि काम गर्दै आएका छन् भने उक्त क्षेत्रमा डेमोक्राटिक पार्टीका कोषाध्यक्ष भई काम गरिसकेका छन् l उनले अमेरिकाका राष्ट्रपति बराक ओबामाको चुनावी प्रचारप्रसारमा पनि सक्रिय रुपमा सहभागिता जनाएका थिए l

घर खरिद तथा बिक्रि अभिकर्ता रहेका तिवारी हाल उत्तर अमेरिका नेपाली समुदायकोकै जेष्ठ अमेरिका नेपाल सोसाईटीका वर्तमान अध्यक्ष पनि हुन् । यसबाहेक प्रिन्स विलिएम तथा लाउडन काउन्टी डेमोक्रेटिक दलका सदस्य तथा डेमोक्रेटिक एसिएन अमेरिकन अफ भर्जिनियाका सदस्य रहेका पनि छन् । उनी गैरमुनाफा सामाजिक संस्था सोसल सर्भेंट अफ अमेरिकाका संस्थापक पनि हुन् ।

सन् २००४ मा डिभी चिट्ठा कार्यक्रममा छनौट भर्इ अमेरिका आएका तिवारी १ वर्ष न्यूयोर्कमा बसी २००५ देखि श्रीमती हिमाली तिवारी तथा ४ वर्षका छोरा आदर्श तथा २ बर्ष कि छोरी अर्बिनाकासाथ भर्जिनियामा बसोबास गर्दै आएका छन् ।
आगामी जुन ९ ,२०१५ मा प्राथमिक एवं नोभेम्बरमा ३, २०१५ मा अन्तिम चरणको निर्वाचन हुनेछ । अमेरिकन सदनको लागि सभासदका उम्मेदवार तिवारीले पहिलो चरणमा बिजयी भएपछि मात्र नोभेम्बरमा हुने निर्वाचनमा रिपब्लिकनका उम्मेदवारसँग चुनाव लड्नु पर्ने छ ।

यो क्षेत्रमा दुई पटक रिपब्लिकन दलका लेबनानी-अमेरिकन डेविड रमादान बिजयी भएका छन् भने यो क्षेत्र केहि बर्ष अगाडी मात्र बनाईएको हो । आफ्नो उम्मेदवारीमा तिवारीले शिक्षा, स्वास्थ्य, आवास, आर्थिक विकास तथा विविधतालाई चुनावी मुद्दा बनाएका छन् । उनले आफ्नो आधिकारिक चुनावी वेब (संजाल ) तिवारी फर डेलीगेट डटकम खोलि सकेका छन् ।