‘एनआरएनएको गिरेको साखलाई फेरि उँचो बनाउँछु’


‘एनआरएनको गुमेको विश्वास जित्न अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छु । अब कुराभन्दा पनि परिणाममुखी काम गरेर देखाउन सक्नुपर्छ ।’

  • महेशकुमार श्रेष्ठ

गैरआवासीय नेपाली संघको १०औं महाधिवेशनबाट तीन–तीन जना अध्यक्ष बनेपछि संस्थाप्रतिको नकारात्मक सन्देश गएको छ । एनआरएनएको साख नै गिरेको छ । विदेशमा बस्ने नेपाली माझ पनि साख गिरेको छ । नेपालमा राजनीतिक दल, नेताहरूदेखि सर्वसाधारणले समेत एनआरएनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको छ । नकारात्मक सन्देश प्रवाहित भएको छ ।

यो संस्थाप्रति अविश्वास बढेको छ । सबैले विश्वास गर्ने र सबैको अपनत्व सम्झने संस्था बनाउन अहिले सबैभन्दा ठूलो चुनौती छ । गुमेको प्रतिष्ठा जोगाउनको लागि पनि सबैलाई मिलाएर लैजाने नेतृत्वको आवश्यकता छ ।

सहमति, सहकार्य र एकता गर्ने नेतृत्वको जरूरी छ । सबैलाई समेट्न सक्छु भन्ने विश्वास राखेको छु । गिरेको साखलाई फेरि उँचो बनाउँछु भन्ने दृढताका साथ अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेको छु । त्यसैले चुनावी मैदानमा उत्रने निर्णय गरेको हुँ ।

फेरि अर्को कुरा एनआरएनले ठूला–ठूला गफ मात्र गर्छन् तर काम गर्दैनन् भन्ने आरोप लाग्दै आएको छ । त्यसले पनि विश्वास गुमेको छ । अविश्वास पैदा गरेको छ । अब चाहिं कुरा भन्दा पनि काम गरेर देखाउने बेला आएको छ । मैले परिणाममुखी काम गर्ने कार्यसमिति बनाउने विश्वास लिएको छु ।

नेतृत्वमा पुगेको खण्डमा क्यालेन्डर बनाएर नै काम सुरु गर्नेछौं । शपथग्रहण गरेको क्षणदेखि नै दुई वर्षमा के–के काम गर्ने भन्ने तय गर्नेछांै । एक्सन प्लान बनाएर काम गर्नेछौं । त्यसले गर्दा परिणाम आउँछ र परिणाममुखी काम भएपछि विस्तारै संस्थाप्रतिको विश्वास पनि आर्जन हुँदै जान्छ ।

त्यसैले अहिलेको मेरो उम्मेदवारी भनेको संस्थाको साख जोगाउन, गुमेको विश्वास जित्न र परिणाममुखी काम गर्न नै हो । यसबाहेक विश्वभरका नेपालीलाई जोड्नुका साथै नेपालमा लगानी वृद्धि, सम्पत्ति सुरक्षा, सुरक्षित तथा मर्यादित वैदेशिक रोजगारी तथा गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन अहिलेको आवश्यकता हो । यसका लागि पनि मैले नेतृत्वमा इच्छा प्रकट गरेको छु ।

नेपाली कांग्रेसले समर्थन गरेको हो ? भन्ने तपाईंले जुन प्रश्न राख्नुभएको छ । अब के हुन्छ भने, चुनावी मैदानमा उत्रिंदा कसैले आस्थाको आधारमा समर्थन गर्छन् । कसैले क्षेत्रको आधारमा गर्छन् । कसैले जातको आधारमा समर्थन गर्लान् । कसैले युवा हो भनेर गर्लान् । कसैले बौद्धिकताका आधारमा गर्लान् । कसैले व्यापारी भनेर गर्लान् ।

समर्थन गर्ने आ–आफ्ना आधार हुन्छन् । राजनीतिक पक्ष पनि एउटा आधार हुनसक्छ । त्यो हिसाबले लोकतान्त्रिक पक्षले मलाई समर्थन गर्छ भन्ने कुरा मेरा लागि पनि खुशीको कुरा हो । त्यो स्वाभाविक पनि हो जस्तो लाग्छ । त्यसलाई अन्यथा लिनुहुँदैन ।

म पहिले जनसम्पर्क समितिको सभापति भइसकेको र कलेजमा नेविसंघको सभापति भइसकेको मान्छे हुँ । नेपाली कांग्रेसको महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि भइसकेकोले मेरो आस्था र निकटता नेपाली कांग्रेससँग स्वाभाविक नै रहने भयो । तर यो आस्थाको कुरा मात्रै हो । हामी संस्थाभित्र राजनीतीकरण गर्नुहुँदैन भन्ने कुरामा सचेत छौं । सबैको अपनत्व हुने एनआरएन बनाउनुपर्छ भनेर म विगतदेखि नै लड्दै आएको छु । पहिलेका साथीहरूसँग पनि मेरो विमति यही कुरामा नै थियो ।

राजनीतिक आड विना एनआरएनको चुनाव कहिल्यै पनि नहुने भो भन्ने तपाईंले राखेको जिज्ञासालाई म चाहिं फरक ढंगले बुझाउन चाहन्छु । यति ठूलो संस्था भइसकेको छ । विदेशमा यति ठूलो नेपाली समुदाय छ । विदेशबाट नै मताधिकारको पनि प्रयोग हुँदैछ । निर्वाचन आयोगले पनि भोटिङको व्यवस्था गर्दैछ ।

दलहरूमा राजनीतिको प्रभाव अब नेपालबाट भन्दा पनि विदेशबाट बढी पर्ने सम्भावना देखिंदैछ । त्यो हिसाबले पनि राजनीतिक पार्टीहरूको विदेशमा रहने संघ–संस्थाहरूप्रति आकर्षण बढ्दै जानु स्वाभाविक हो । राजनीतिक पार्टीहरूलाई आफ्नो विचारसँग सम्बन्धित व्यक्तिले जितिदिए हुन्थ्यो भन्ने भावना हुन्छ । त्यो प्रभाव हिजो र आज मात्रै होइन सधैं नै रहन्छ ।

तपाईंले राख्नुभएको अर्को जिज्ञासामा अध्यक्ष पदकै लागि अमेरिकाबाट केशव पौडेलजी पनि आकांक्षी नै हुनुहुन्थ्यो । एउटा राम्रो पक्ष उहाँले मलाई निशर्त समर्थन गर्नुभयो । त्यसले पनि हाम्रो टिमलाई झन् एउटा माहोल सृजना गरेको छ ।

संस्थाका पूर्व अध्यक्षहरूको समर्थन मलाई छ । गैरआवासीय नेपालीको हक–हित, नेपालको समृद्धि र विकासमा गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई संस्थागत गर्ने, विश्वभर रहेका नेपालीका समस्याको समाधान र युवाहरूलाई एनआरएनमा जोड्ने रणनीतिक योजनाका साथ अघि बढ्न उहाँहरूले मलाई सुझाव दिनुभएको छ ।

यसपटक गत अधिवेशनमा जस्तो हुँदैन । गत अधिवेशनमा निर्वाचन हुन नसक्नुको कारण डेलिगेट्समा नै समस्या भएर हो । अहिले त्यस्तो हुँदैन । सबै एनसीसीहरूमा निर्वाचन सम्पन्न भइसकेको छ । जब एनसीसीहरूको निर्वाचन र डेलिगेट्समा कुनै समस्या हुँदैन भने महाधिवेशनमा समस्या हुने कुरै आउँदैन । विश्वस्त रहनुहोस् ११औं महाधिवेशनले एउटा नयाँ नेतृत्व अवश्य चुन्नेछ ।

(एनआरएनएको ११औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी रहेका उपाध्यक्ष श्रेष्ठसँग अनलाइनखबरकर्मी वसन्त रानाभाटले टेलिफोनमा गरेको कुराकानी ।)

स्रोत अनलाईनखबर