डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 


लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी गर्दै उनले आम सहमतिको लागि मार्गप्रशस्त गर्न भन्दै पुनः उपाध्यक्ष पदमा नै उम्मेदवारी दिने निचोडमा पुगेको बताएका हुन् ।डा. शर्माले यसअघि संघको अध्यक्ष पदका लागि आकांक्षी थिए तर कुनै पनि पदका लागि उम्मेदवारी भने घोषणा गरेका थिएनन्। 

संघको पूर्वप्रवक्ता तथा महासचिवको जिम्मेवारी सम्हालिसकेका डा. शर्माले अध्यक्ष पदका अन्य आकांक्षीलाई पनि सहमतिमा नेतृत्व चयन गर्ने वातावरण बनाउनु हुन अनुरोध गरेका छन्। “मलाई थाहा छ, मेरो यो निर्णयले पक्कै पनि मेरा शुभचिन्तकहरुलाई निराश बनाउने छ । तर एनआरएनए जस्तो सामाजिक संस्थामा तछाड–मछाड गरेर नेतृत्व लिनु भन्दा धैर्यताका साथ आपसी समझदारी, सहकार्य र सहमतिले अगाडि बढ्नु नै उपयुक्त हुन्छ भन्ने विगतबाट सिकेको पाठ हामी माझ छ ।” डा. शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन्। 

उनले प्रविधिको प्रयोग गरी संस्थाको रुपान्तरण  र सबैको साझा, सबल, र स्मार्ट एनआरएनए  निर्माण  गर्ने अभियानलाई थप सशक्त र प्रभावकारी रुपमा अघि बढाउने बताएका छन्। डा. शर्माले संघको राष्ट्रिय समन्वय परिषद्को महासचिव, अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य, प्रवक्ता, महासचिव हुँदै हाल संघको उपाध्यक्षमा रही काम गर्दै झण्डै १८ वर्षदेखि एनआरएन अभियानमा सक्रिय छन्। ८० भन्दा बढी देशका पञ्जिकृत सदस्यहरुलाई केन्द्रीय प्रणालीमा जोड्ने, अनलाइन भोटिङ, निःशुल्क प्रतिनिधि दर्ताजस्ता संघका महत्वपूर्ण निर्णयहरुमा उनको योगदान रहेको छ। 

डा.शर्माले काठमाडौंस्थित संघको सचिवालयलाई चुस्त राख्न र पुनरसंरचना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । डा. शर्माले विश्वव्यापी कोरोना महामारीमा विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धारको लागि संयुक्त राष्ट्रसंघ समक्ष पुगेर गैरआवासीय नेपाली संघलाई पहिलो पटक अन्तराष्ट्रिय दातृ निकायसँग सहकार्यको सुरुवात गरेका थिए ।

बाग्लुङको अमलाचौरमा जन्मिएका शर्मा एनआरएनभित्रका सकृय प्राज्ञिक व्यक्तित्वको रुपमा परिचित छन् । उनले भौतिकशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट गोल्ड मेडल समेत हासिल गरेका छन् । उनले सन् १९९७ मा जापानको रिक्यो विश्वविद्यालयमा मास्टर्स कोर्स गरेका थिए भने १९९८ मा इटालीबाट थप मास्टर्स डिग्री हासिल गरे । उनले सन् २००२ मा फ्री युनिभर्सिटी बर्लिनबाट ‘फिजिक्स’ मै पिएचडी गरेका हुन् ।

सन् २००५ मा एनआरएन जापानको महासचिवको जिम्मेवारी सम्हालेका शर्माले सन् २००७ मा बेलायत गएसँगै त्यहाँको आइसीसी सदस्यमा मनोनित भएका थिए । उनी एनआरएनए विधान समितिका संयोजक समेत थिए। संघका संस्थापक नेताहरु तथा सबै पूर्वअध्यक्षहरुसँग निकट रहेर काम गरेको अनुभव बटुलेका शर्माले पूर्वअध्यक्ष जीवा लामिछानेको कार्यकालमा प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए । ५० भन्दा बढी विद्यार्थीको विद्यावारिधि ‘सुपरभाइज’ गरिसकेका उनले आफ्नो नेतृत्वमा गत वर्ष काठमाडौंमा अन्तर्राष्ट्रिय विज्ञ सम्मेलन गरेका थिए।