विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल


बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया कार्यक्रममा बोल्दै हमालले यस्तो बताएका हुन् ।

जहाँ रहे पनि, जहाँको नागरिकता र पासपोर्ट हात पारेता पनि आफ्नो पहिचान आफ्नै हुने बताउँदै हमालले भने, ‘पहिचान भन्ने कुरा तपाईंले कसैको देशको नागरिकता लिएर न त्याग्न मिल्छ, न त कसैले तपाईंको पहिचानलाई खोस्न सक्छ । त्यसकारण आफ्नो पहिचान जोगाइराख्नुपर्छ ।’

पहिलो पुस्ताका नेपालीहरुमा नेपालप्रतिको आत्मियता असाध्यै धेरै रहेको बताउँदै अभिनेता हमालले दोस्रो पुस्ताका नेपालीलाई आफ्नो पहिचान सिकाउन भूमिका खेल्नुपर्ने बताए । ‘आफ्नो कला, संस्कृति र भाषाको संरक्षण गर्नुपर्छ । धर्म, संस्कृति, रितिरिवाजलाई तपाईंहरूले नै दोस्रो पुस्तालाई पनि सिकाउनु पर्छ । त्यो जिम्मेवारी पहिलो पुस्ताले लिनुपर्दछ,’ हमालले भने ।

अरू देशको तुलनामा नेपालबाट विदेशिने क्रम हालसालै बढेको उनले बताए ।‘ल सबै नेपाली दाजुभाइ विदेशिनु भो भन्ने कुराहरू गर्छौं, तर हामी विदेशिन थालेको धेरै भएको छैन,’ उनले भने, ‘अरू राष्ट्रको हेर्नु भो भने दुई-चार पुस्ता भइसकेको छ । तर विदेशमा हामी पहिलो पुस्ता भएका छौं । बच्चाहरु यहाँ हुर्किंदै छन् । त्यसैले अन्यको तुलनामा हाम्रो पछि नै हो ।’

तर २०-२५ वर्षको छोटो समयमा पनि डायस्पोरामा नेपालीहरुले ठूलो सफलता हासिल गरेको हमालले प्रष्ट पारे । ‘विदेशमा तपाईं कोही गीत संगीत, कलामा अब्बल हुनुहुन्छ ।कोही राजनीतिमा लाग्नु भएको छ ।कोही रोजगारी गरेर आफूलाई राम्रोसँग स्थापित गर्नु भएको छ।यो उपलब्धि देख्दा एकदमै खुसी लाग्छ,’हमालले भने ।

उनले युवाहरुलाई समय खेर नफाल्न र कामलाई सम्मान गर्दै मिहिनेत गर्न पनि आग्रह गरेका छन् ।जुनसुकै मुलुकमा बसे पनि त्यहाँको भाषा, संस्कृति र रहनसहनलाई नियाल्ने प्रयास गर्न पनि उनले आग्रह गरे ।

अभिनेता हमालले पोर्चुगलअघि फ्रान्स र बेल्जियमका नेपालीहरुमाझ पनि अन्तर्क्रिया गरेका थिए ।हमाल विदेशमा रहेका नेपालीहरुको संघर्ष र सफलताको कथालाई समेटेर टेलिभिजन कार्यक्रम ल्याउने तयारीमा जुटेका छन् ।सोही सिलसिलामा नै उनले युरोपको समेत भम्रण गरेका हुन् ।