‘धेरै एजेण्डा पूरा भएका छैनन् । त्यसैले फेरि नेतृत्वमा जाने निर्णय लिएको हुँ ।’


यो त विवाद व्यवस्थापनको कार्यकाल रह्यो । संस्था नटुक्रियोस् भनेर तीन जना अध्यक्षले मिलेर ६–६ महिनाको कार्यकाल चलायौं । धेरै एजेण्डाको सम्बोधन हुन लागेको छ तर पूरा भएका छैनन् । त्यसैले फेरि नेतृत्वमा जाने निर्णय लिएको हुँ ।

डा. बद्री केसी

गैरआवासीय नेपाली संघ एनआरएनए (२०२१–२०२३) को कार्यकाललाई म कार्यकाल नै मान्दिनँ । यो त विवाद व्यवस्थापनको कार्यकाल रह्यो । हामीले विधान नै परिवर्तन गरेर संस्था नटुक्रियोस् भनेर समझदारी गर्यौं । तीन तीन जना अध्यक्षहरूले मिलेर ६–६ महिनाको कार्यकाल चलायौं । त्यसैले त्यो कार्यकाल नै हैन । हामीले विवाद समाधानका लागि सहमति गरेका हौं । त्यसैले फेरि पनि नेतृत्वमा जानका लागि मेरो तयारी छ । २०२१ अक्टोबरदेखि दुई वर्ष ट्रान्सफर मात्र भएको छ । कुनै कुराहरू परिवर्तन भएका छैनन् । धेरै एजेण्डाको सम्बोधन हुन लागेको छ तर पूरा भएका छैनन् । त्यसैले पनि १०औं अधिवेशनमा मैले ल्याएका एजेण्डा सहित नै अब अध्यक्ष पदका लागि उम्मेदवारी दिने निर्णय लिएको छु ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा पछि नहट्नु भन्ने सन्देश दिनुभएको भन्ने तपाईंको प्रश्नको म पूर्ण रूपमा खण्डन गर्दछु । त्यसमा कुनै सत्यता छैन । समस्त एनआरएनहरूको एजेण्डालाई लिएर दुई दशकदेखि यो अभियानमा छु ।

म कुनै राजनीतिक पार्टीसँग नजिक हुँला तर कुनै पनि राजनीतिक पार्टीको एजेण्डालाई लिएर अगाडि बढेको छैन । त्यसलाई लिएर एनआरएनमा जानुहुन्न भन्ने मेरो दृढ मान्यता छ । त्यही मान्यताकै कारणले गएको अधिवेशनमा चुनाव हुन सकेन । तर त्यो मान्यतालाई स्थापित गराउने यो पटक पूरा पहल पनि रहन्छ । किनभने म अहिले कार्यकारी स्थानमा छु ।

अहिले ५९ देशहरूमा अधिवेशन भए । राजनीतिक भन्दा बाहिर रहेर विशुद्ध एनआरएनको एजेन्डामा रहेर अधिवेशन गर्न हामीले सहयोग पुर्याएका छौं । कार्यकारी अध्यक्षको हैसियतले भन्दा केन्द्रमा पनि तोकिएकै मितिमा चुनाव हुन्छ । निर्धारित मितिभन्दा एक घण्टा होइन एक सेकेण्ड पनि पर नसर्ने गरी चुनाव सम्पन्न गराउने मेरो प्रतिबद्धता छ । मसँगै अन्य साथीहरूले पनि यही आकांक्षा राख्नुभएको छ ।

एनआरएनमा अहिले हजारौं साथी नेतृत्व लिन सक्षम बनिसकेका छौं । त्यसैले इच्छा राख्ने साथीहरूलाई मैले सम्मान नै गर्छु । राजनीतिक एजेन्डाहरूलाई अघि सार्दा अघिल्लो पटक चुनाव हुन नसकेको उदाहरण छ । त्यसैले अब नेपालका राजनीतिक पार्टीहरूमा गुहार माग्ने प्रथा रोकिनुपर्छ ।

नेतृत्वमा मलाई पुर्याइदिनु भनेर उहाँहरूसँग गुहार माग्ने विल्कुलै गलत तरिका हो । त्यसैले यो पटक एनआरएनए सच्याउने पनि हामीले नै हो । यदि हामी सच्चिएनौं भने जतिसुकै ठूलो नारा लगाए पनि राम्रो एनआरएनए बनाउन सक्दैनौं ।

एनआरएनमा लामो समयदेखि योगदान दिंदै आएका अभियन्ताहरूलाई समेटेर म अगाडि बढ्दैछु । राजनीतिक पूर्वाग्रह विना सबै क्षेत्रलाई समेटेर मजबुत टिम बन्नेछ । १०औं अधिवेशनमा बनेको टिममा मेरो खासै परिवर्तन भएको छैन ।

वास्तवमा एनआरएनमा जाँदा टिम बनाएर जान पाइँदैन, जानुहुँदैन । तैपनि एजेन्डा मिल्ने साथीहरूसँग समझदारी हुन्छ । त्यो यसपटक पनि हुन्छ । मसँग सहकार्य गर्ने साथीहरू अघिल्लो चुनावमा जो–जो हुनुहुन्थ्यो ९० प्रतिशत साथीहरू उहाँहरू नै हुनुहुन्छ ।

वर्तमान उपाध्यक्ष डा. हेमराज शर्मासँग मेरो कुराकानी भइरहेको छ । उहाँको र मेरो कार्यशैली मिल्छ । टिम घोषणा गरिसकेका छैनौं तर उहाँले मलाई साथ दिने वाचा गर्नुभएको छ । गौरी जोशीजी पुनः महासचिवमा जाने हो । उहाँ पुनः हामीसँगै टिममा मिलेर महासचिव लड्नुहुन्छ ।

तर हाम्रो कुनै दलविशेषको समूह छैन । एनआरएनमा लामो समयदेखि योगदान दिनुभएका साथीहरू हुनुहुन्छ । डेमोक्र्याट होस् वा कम्युनिष्ट विचारधारा सबै किसिमका साथीको संगम छ । अझ भनौं हामी सबै खाले पृष्ठभूमिका साथीलाई मिलाएर टिम बनाउँछौं ।

म पूर्व अध्यक्षहरूको लिगेसी बोकेर अगाडि बढ्दै आएको हुँ । यसपटक पनि जीवाजीसँग व्यक्तिगत रूपमा भेटेर कुराकानी गर्दा उहाँले एनआरएनका सबैखाले कार्यकारी पदहरूबाट राजीनामा दिनुभएको छ । फाउन्डेसनबाट राजीनामा दिनुभयो । यो पटक एनआरएनको संरक्षक बन्न मान्नुभएन । एनआरएनएको इन्भेष्टमेन्ट कम्पनीबाट राजीनामा दिनुभयो ।

जसरी उपेन्द्र दाइ तटस्थ बस्नुहुन्थ्यो, सबैको लागि सर्वमान्य व्यक्ति बन्नुहुन्थ्यो । त्यही सर्वमान्य बन्छु भनेर मलाई वचन दिनुभएको छ । म उहाँलाई चिन्छु र उहाँले मलाई चिन्नुहुन्छ । उहाँहरू जस्तो एनआरएनका शीर्ष नेताहरू, एनआरएनए अभियानमा ठूलो इज्जत र सम्मान कमाइसक्नुभएका अभियन्ताहरूले अब यो वा त्यसलाई सपोर्ट गर्ने काम गर्नुहुन्न ।

डा. उपेन्द्र महतोले सुरुका दिनदेखि कुनै पनि चुनावमा भोटिङ गर्नुभएको छैन । कसैलाई पनि समर्थन गर्नुहुन्न । उहाँका लागि सबै एनआरएनहरू समान हुन् । त्यसैले पनि उहाँ सबैको सर्वमान्य अभिभावक बन्नुभएको छ ।

सेप्टेम्बर १५ सम्ममा डेलिगेट्सको अन्तिम रूप आइसक्छ । निर्वाचन यसपटक मिश्रित हुन्छ । जो साथीहरू नेपाल आउनुहुन्छ ती साथीहरूले भौतिक रूपमा भोट हाल्नुहुन्छ । जो साथीहरू नेपाल आउन सक्नुहुन्न ती साथीहरूले अनलाइन मार्फत भोट हाल्नुहुनेछ । निर्वाचन समिति गठन भएर उसले काम थालिसकेको छ । एनआरएनका विभिन्न समिति गठन भएर संघको ११औं अधिवेशन सम्पन्न गर्न काम सुरु भइसकेको छ ।

तपाईंले निर्वाचनको प्रतिस्पर्धाबारे जे प्रश्न गर्नुभयो, मैले थाहा पाएसम्म अध्यक्षमा इच्छा राख्ने साथीहरू ५ जना हुनुहुन्छ । म भइहालें, महेशजी, आरकेजी, रविनाजी र विनय अधिकारीजी हुनुहुन्छ । उहाँहरूलाई विना कुनै दबाब चुनावमा जाने वातावरण कमसेकम संस्थाले बनाउनुपर्छ । त्यो हामीले बनाउँछौं ।

(एनआरएनएको ११औं महाधिवेशनका लागि अध्यक्षका प्रत्यासी एनआरएन कार्यकारी अध्यक्ष डा. केसीसँग अनलाइनखबरकर्मी वसन्त रानाभाटले टेलिफोनमा गरेको कुराकानी ।)

स्रोत अनलाईनखबर