‘जहाँ समुद्र बगेको छ त्यहींबाट नै गाग्री भर्न सजिलो हुन्छ ।’


मुलुकका लागि रेमिट्यान्स मार्फत सबैभन्दा बढी योगदान दिइरहेको ठाउँ पनि हो, मध्यपूर्व । जहाँ समुद्र बगेको छ त्यहींबाट नै गाग्री भर्न सजिलो हुन्छ । त्यसैले यो क्षेत्रको प्रतिनिधित्व गर्दै म अध्यक्षको दावेदार बनेको हुँ ।

  • राजेन्द्र कुमार (आरके) शर्मा

अमिलो मन गरेर विदेशिने नेपालीको एउटा साझा पीडा छ । छिट्टै समृद्ध नयाँ नेपालमा फर्किन कहिले पाइन्छ भनेर सबैको एउटा साझा सपना छ । सन् २००३ मा मस्कोबाट सुरु भएको यो पवित्र अभियान २० वर्ष लाग्दै गर्दा हामीहरू पछिल्लो समयमा मानवीय कार्यमा भन्दा चुनावदेखि चुनावसम्म धेरै नै लाग्यौं । समृद्ध नेपालको मूल उद्देश्यतर्फ अलि कम लाग्यौं ।

म १५ वर्षदेखि यो अभियानमा छु । झन्डै ४० प्रतिशत रेमिट्यान्स अवैधानिक बाटो हुँदै भित्रिरहँदा त्यसलाई न्यूनीकरण गर्न हाम्रो के भूमिका रहन्छ ? म आगामी कार्यकालका लागि अध्यक्षको प्रत्यासी भइरहँदा यो विषयमा गम्भीर ढंगले सोचिरहेको छु ।

देश बाहिर सबैभन्दा धेरै नेपाली दाजुभाइ बसोबास गर्ने क्षेत्र मध्यपूर्व हो । मुलुकका लागि रेमिट्यान्स मार्फत सबैभन्दा बढी योगदान दिइरहेको ठाउँ पनि मध्यपूर्व हो । जहाँ समुद्र बगेको छ, त्यहींबाट नै ग्राग्री भर्न सजिलो हुन्छ । त्यसैले यो क्षेत्रको प्रतिनिधित्व गर्दै गैरआवासीय नेपाली संघ २०२३–२५ कार्यकालका लागि म अध्यक्षको दावेदार भएको हुँ । अरू प्रत्यासी साथीहरू पनि हुनुहुन्छ तर म परिपक्व छु । वरीयताको हिसाबले पनि अहिले देखिएका साथीहरूभन्दा म सिनियर पोजिसनमा नै हुन्छु ।

म पाँच महिनाको अन्तरालमा झन्डै ३६ वटा राष्ट्र घुमिसकें । एनआरएन अभियानलाई समृद्ध नेपालको मूल बाटोमा हिंडाउन मैले उहाँहरूसँग राय–सुझाव लिएँ । उहाँहरूका समस्याहरूलाई नजिकबाट नियालेको छु । धेरै एनसीसीमा सामूहिक समस्या छन् । भाषाको अज्ञानताका कारणले स्वास्थ्य सेवा लिन जाँदा गाह्रो महसुस गर्ने, सामान्य गल्तीमा पनि ठूलो झन्झट व्यहोर्नुपर्ने समस्या देखिन्छन् । विदेशमा हाम्रा बालबच्चालाई पनि नेपाली भाषाको समस्या देखिन्छ । कला र संस्कृतिसँग उनीहरूलाई कसरी जोड्न सकिन्छ भन्ने ठूलो चुनौती छ ।

मध्यपूर्वमा काम गर्ने श्रमिक हुन् वा अमेरिकामा नासामा काम गर्ने विद्वान् दाजुभाइ हुन्; वा बेलायतमा प्रोफेसर वा डाक्टरको काम गर्ने नेपाली हुन् ! सबैको कर्तव्यबोध सहितको गैरआवासीय नेपाली संघ बनाउने मेरो उद्देश्य रहनेछ ।

मध्यपूर्वको नेतृत्व एकपटक हुन जरूरी छ भनेर यसअघि पूर्व अध्यक्षहरू पनि बोल्दै आउनुभएको छ । सार्वजनिक रूपमा उहाँहरूले बोल्दै आएका कुराहरूलाई व्यवहारमा लागू गर्ने यो अवसर पनि हो । तर पूर्व अध्यक्षहरूलाई चुनावमा जोडेर म विवादमा ल्याउन चाहन्न । उहाँहरूप्रति मेरो सम्मान छ । तर यस पटक उहाँहरूको बोलीको अग्निपरीक्षा भने अवश्य हुनेछ ।

तपाईंले प्रधानमन्त्री र नेकपा माओवादीको मलाई पूर्ण समर्थन छ भनी सोध्नुभएको प्रश्नमा यसरी प्रष्ट्याउन चाहन्छु । सबैभन्दा पहिले गैरआवासीय नेपाली संघ र नेपाली राजनीतिक दलहरूको उद्देश्य समृद्ध नेपाल बनाउने नै हो । सबै एजेन्डाले नै काम गर्ने हो । तर उहाँहरूसँग सहकार्य रहन्छ नै ।

मेरा एजेन्डाहरू आम श्रमिकका मामिला हुन् । भुईंमान्छेका एजेन्डाहरू हुन् । दलहरूसँग हामी सहकार्य गर्छौं । तर दलसँग छलफल गरेर उम्मेदवारीको टुङ्गो लगाउने कुरा चाहिं गलत हो । हाम्रा एजेण्डाहरू नेपाल सरकारसँग सम्बन्धित छन् । नीतिगत रूपमा सम्बोधन गराउन होस् वा भोलि लगानीको सुरक्षा गराउन होस् । वैदेशिक रोजगारमा आएका नेपाली श्रमिकका समस्याहरू नीतिगत रूपमा सम्बोधन गर्न होस् । हामी नेपाल सरकार, राजनीतिक दल र नेताहरूसँग धेरै नजिक छौं ।

मैले के जोड्न चाहें भने मेरा एजेन्डाहरू सही छन् । सामूहिक लगानी भित्र्याउन र हुण्डी निरुत्साहित गर्न, आम श्रमिकको गैरआवासीय नेपाली संघ बन्नुपर्छ भन्ने प्रधानमन्त्रीको पनि मनमा रहेको छ । हामी पनि गैरआवासीय अभियानमा धेरै योगदान दिनुभएका कम विवादित हुनुभएका साथीहरूलाई जोडेर चुनावको तयारी गरिरहेका छौं ।

मेरो उम्मेदवारीको विषयमा मेरो मात्र भोट आए पनि म पछि हट्दिनँ । विभिन्न राजनीतिक दलहरूको मेरो उम्मेदवारी प्रति आस्था र भरोसा छ । झन्डै ३० लाख श्रमिक मध्यपूर्व र मलेशियामा बस्दै गर्दा भोट केन्द्र भएको आधारक्षेत्रबाट एकपटक एनआरएनएले नेतृत्व पाउनुपर्छ भन्ने उहाँहरूको जोड छ । श्रमिकमैत्री एनआरएनए बन्नुपर्छ भन्ने चिन्ता र सद्भाव रहेको छ । तपाईंको लोकप्रिय मिडिया मार्फत म भन्न चाहन्छु, ‘मेरो उम्मेदवारी कुनै पनि हालतमा पछि हट्ने छैन ।’

तपार्इंले मतदानबारे जिज्ञासा राख्नुभयो । त्यो पूर्ण रूपमा अनलाइनमा नै हुन्छ । तर सफ्टवेयरको विषयमा मेरा पनि केही रिजर्भेसनहरू छन् । दुई वटा सफ्टवेयर समानान्तर रूपमा एउटै बटमबाट चुनाव गर्ने हो कि, यो कुरामा हामीहरू बसेर निर्वाचन समितिसँग छलफल गर्छौं । तर निर्वाचन अनलाइनबाट नै हुन्छ । यसपटक विदेशबाट घरमै बसेर एनआरएनहरूले आफ्नो नेतृत्व चुन्न पाउनुहुनेछ ।

(एनआरएनएको ११औं महाधिवेशनका लागि अध्यक्षका प्रत्यासी रहेका एनआरएन उपाध्यक्ष शर्मासँग अनलाइनखबरकर्मी वसन्त रानाभाटले टेलिफोनमा गरेको कुराकानी ।)

स्रोत अनलाईनखबर