एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 


बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य हुन्। उनले एनआरएनए सामाजिक काम गर्ने संस्था भएकाले संस्थागत रुपमा नै विकास गर्न आँफूले उपाध्यक्षमा उम्मेदवारी दिने बताए ।एनआरएनएको ११ औं विश्व सम्मेलन आगामी अक्टुबर १७ देखि २० सम्म काठमाडौंमा आयोजना हुँदैछ । 

जापानको नेपाली डायस्पोरामा एउटा छुट्टै पहिचान र परिचय बोकेको नाम हो रोविन शेरचन।मुस्ताङमा जन्मिएका शेरचन सन् १९८८ मा जापान पुगेका थिए। आँफू २१ बर्षको उमेरमा जापान पुग्दा त्यहाँ करिव २ सय नेपालीहरु मात्रै रहेको उनि सम्झन्छन्। 

“एनआरएन भर्खर सुरु हुँदा म आफ्नो ब्यवसायमा पनि ब्यस्त थिए।तर सामाजिक काममा भने सक्रिय नै थिए। पहिला  आँफू व्यक्तिगत रुपमा मजबुत बनौं ।केहि गर्न सक्ने भएपछि मात्रै संस्थामा लागौं भन्ने मेरो मान्यता हो,”उनले भने, “अब त्यो बेला आएकाले पनि मैले उपाध्यक्षमा चुनाव लड्ने निर्णय लिएको हुँ। अहिले व्यक्तिगत रुपमा पनि सक्षम छु।संस्थालाई केहि दिन सक्ने क्षमता भएकाले साथीहरुले पनि मलाई अघि बढ्न जोडबल गर्नुभयो।” 

उनले एनआरएनएप्रति जनमानसमा अहिले निराशा देखिएको भन्दै आँफू निर्णय तहमा पुगेर सही बाटोमा डोर्‍याउन प्रत्यन्न गर्ने बताए। “एनआरएनका राम्रा पक्ष पनि देख्यौं नराम्रा कुरा पनि देख्यौं।” उनले भने, “अब संघमा विधानलाई अक्षरस पालाना गरौं ।अझ बाँधेर राखौं। रुपान्तरण गरौँ। सबैको अपनत्व हुने सांझा संस्था बनाउने अभियानमा हातेमालो गरौँ।” 

एनआरएनभित्र गुटबन्दी र राजनीतिक हस्तक्षेप बढेकोमा शेरचनले चिन्ता ब्यक्त गरेका छन्। “म कुनै राजनीतिक मान्छे पनि होईन। कुनै पार्टीको सदस्य पनि छैन।स्वतन्त्र हिसाबले अभियानमा जोडिएको छु।” उनले भने, “कतिपय साथीहरुले संघमा पार्टीको रंग पनि ल्याउन खोज्छन्।यो सामाजिक काम गर्ने संस्था हो।राजनीतिबाट मुक्त बनाऔं।” आफ्नो विचार, भिजन,लक्ष्यर सोच मिल्ने साथीहरुसँग मिलेर चुनाव लड्ने योजना रहेको पनि शेरचनले सुनाए। 

जापानमा १ लाख ४० हजारको हाराहारीमा नेपालीको संख्या पुगिसकेको भन्दै उनले एनआरएनए सदस्यता ८-९ हजार मात्रै हुनु दुर्भाग्यपूर्ण रहेको बताए। “संस्थाप्रतिको आकर्षण बढ्ने गरी काम गर्न जरुरी छ। बिगतका गल्ती कमजोरीबाट पाठ सिकेर यो अभियानमा लाग्न सबैलाई प्रेरित गर्नुपर्छ।” उनले भने। 

रेष्टुरेन्ट व्यवसायमा संग्लग्न शेरचनका जापानमा २२ भन्दा बढी रेष्टुरेण्टहरु रहेका छन्। लामो समयदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका उनी सामाजीक, परोपकारी क्षेत्रमा पनि क्रियाशील रहेका छन् ।