‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’


‘अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस् ।’

बार्सिलोना ।

सिमानामा टक्क अडेर

छातीभरि देश बोकेर

रोए है…

पैतालादेखि हत्केलासम्म

वेदनाको छाल फुटुन्जेलसम्म

चर्केर छाती उर्लिए व्यथा

चुपचाप जङ्घार तर्नेमा बेला

भक्कानो छाडी रुँदै

मुग्लान पसे हाम्रै दाजुभाइ

पूर्वै जाने रेलै चढेर

मुग्लान पसे हाम्रै दाजुभाइ

पूर्वै जाने रेलै चढेर

दुई दशक अघिको नेपथ्यको ‘सिमानामा’ बोलको यो गीत । जसले लाहुर जाने अर्थात् मुग्लान पस्नेको कथा बोलेको छ। हिजो रेल चढेर मुग्लान पस्नेको कथा ठुलो लाग्थ्यो। तर आज रेल चढेर हैन । जहाज चढेर ‘भुई छोड्नेको’ कथाले ध्यान खिचेको छ।आजभोली दिनहुँ सरदर दुई हजार बढीले नै काम र अध्ययनका लागि देश छोडिरहेका छन् ।

मुग्लान पस्नेहरुको व्यथासँग वर्षौ अघिदेखि असाध्यै नजिक छन् नेपथ्यका अमृत गुरुङ।उनले विदेशिएका युवाहरुको कथा मात्र होईन। रित्तिएका गाउँहरु कुर्नेको व्यथालाई बुझेका छन् । यात्रा गर्न असाध्यै रुचि राख्ने गायक गुरुङलाई आजभोलि गाउँहरु डुल्दा खल्लो लाग्छ। “अहिलेका गाउँहरु रित्ता छन् । बच्चाहरु छन् । छोरी मान्छेहरु छन् । बुढाबुढीहरु छन् । तर युवाहरु एउटै छैन गाउँभरी,’ उनले सुनाए ।

गायक गुरुङको अर्को एउटा सशक्त गीत पनि छ। उनी भन्छन्, ‘टाढा धेरै टाढा उडेका रंगीन चरा,धर्तिमा कहिले फिर्लान्,आकाशको कालो मैलो हटि घाम जुन कहिले खुल्लान्’ विदेशिनु पर्ने बाध्यता भएपनि ज्ञान सिप र विज्ञता लिएर नेपाल फर्कन उनको अनुरोध पनि छ।

‘देश बिकास अरुले आएर गर्ने त रहेनछ । सुरुवात तपाईं आँफैबाट गर्ने हो । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्,’ उनले भने ।

आजभोलि नेपथ्य देशमाभन्दा पनि विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय मञ्चमा बढी गुञ्जिन्छ । सन् २००२ मा नेपालयले व्यवस्थापन सम्हालेपछि नेपथ्यले १८ वटा देशमा प्रस्तुति दिईसकेको छ । गायक गुरुङ पनि यति बेला सांगीतिक यात्राको क्रममा क्यानाडामा नै छन् । उनीसँग युवा तन्देरीहरुको विदेशगमन र नेपथ्यको सांगीतिक यात्राबारे अनलाईनकर्मी वसन्त रानाभाटले टेलिफोनमा कुराकानी गरेका छन् । प्रस्तुत छ नेपथ्यका गायक अमृत गुरुङसँग गरिएको कुराकानीको सम्पादित अंश :

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जानेको लर्को देख्दा कस्तो लाग्छ

स-साना बच्चाहरु पनि आफ्ना बा-आमालाई एयरपोर्टमा पुर्‍याउन आइराखेको देखे । उनीहरु धुरुधुरु रोइराखेका छन् । मैले त्यतिबेलै साथीलाई भने । के देख्न परिराखेको छ ? के भइराखेको छ यो ? भोलि झन् के हुने हो ? यो बारेमा म चिन्तित भएँ। मुख्य कुरा बाध्यता रहेछ।सिद्वान्त,नैतिकता धेरै कुराहरु,सबै आवश्यकता र बाध्यतामा विर्सने रहेछ।जब मानिसलाई समस्याहरु हुन्छन् । ग्राहो हुँदो रहेछ । हिंड्नु पर्ने बाध्यता हुँदो रहेछ । त्यो बाध्यता कसरी सृजना भयो । किन भयो ? भन्ने कुरामा अध्ययन भएन भने समस्या झन् बढ्दै जान्छ । अर्कोतर्फ युवा जनशक्ति जुन राष्ट्रलाई चाहिने चिज हो । जुन पावर हो । देशको शक्ति हो । अहिले खाडीमा, युरोप, अमेरिका, अष्ट्रेलियामा ठुलो जनशक्ति छ ।

तपाईंको बुझाइमा देशनै खाली हुने गरी विदेशमोह बढ्नुको कारण के- हो भन्ने लाग्छ ?

अवसरको खोजी गर्दै पहिलेदेखि लाहुर त गइराखेकै हौं । आफू पनि बाँच्नु पर्‍यो । परिवारलाई पनि बचाउनु पर्‍यो । भोको पेटले आर्दश गाएर मान्छे कतिन्जेलसम्म बाँच्छ र ? एउटाले काम गर्ने,अरु बस्ने संस्कारमा हुर्किएका छौ । भुवाङ्ग नै भुवाङ्ग भएको ठाउँमा कहाँ -कहाँ टाल्ने ? नयाँ पुस्तालाई देशमै रोजगारको अवसर दिन सकेनौं । त्यसैले पनि विदेशिने लर्को झन् झन् बढ्दै गएको छ । द्वन्दको बेलामा विदेश जाने बाध्यता जस्तै बनेको थियो । तर अहिलेसम्म पनि त्यो बाध्यताको निरन्तरता भइरहेको छ । जब आफ्नो ठाउँमा अवसर हुँदैन । त्यसपछि रोजगारीका लागि बाहिर जाने हो । एउटाले काम गर्ने,अरु बस्ने संस्कारमा हुर्किएका छौं । हाम्रो संस्कार र चलनचल्ती नै त्यस्तै रहेको छ। हाम्रो समाज त उज्यालो समाज हो नि त । उज्जालो समाजमा हाँस्नु पर्ने। रमाउनु पर्ने । आतिथ्य सत्कार गर्नुपर्ने । पर्यावरणलाई माया गर्ने । प्रकृतिका पुजकहरु हौ। त्यो सबै भएर पनि आर्थिक तवरबाट देशलाई सम्पन्न बनाउन सकेनौं । बाध्यताबश बाहिरिनु परेको छ । धेरैजना करले बाहिरिएका छन् । थोरै मात्रै रहरले हो जस्तो लाग्छ ।

क्यानाडा यात्राको क्रममा तपाईं कतार ट्रान्जिटमा केही घण्टा बिताउनुभयो । त्यहाँको परिदृश्य देख्दा नेपाल नै ट्रान्जिट बनिरहेको जस्तो लागेन

त्यस्तो अनुभूति मलाई पनि भयो । रोजगार नपाएर जब आफ्नो बच्चालाई मान्छेले खाना खुवाउन सक्तैन । आर्थिक कारणले आफ्नो बच्चालाई राम्रोसँग हेर्न सक्तैन । आर्थिक कारणले ठुलो संकटमा फसेको हुन्छ । विभत्स अबस्थामा पुगेपछि विदेश पलायन नभए के गर्ने त ? देशमा चाहेर पनि बस्न सकिरहेको अवस्था छैन । मुख्य कारण नै रोजगारीको अवसर नमिल्नु हो । संसारमा मान्छेले बनाएर नबन्ने चिज के नै छ र ? सबै चिज बनाउन सकिदो रहेछ । नेतृत्वकर्ताले बाटो त देखाउनु पर्‍यो नि ! सधैं आँफू मात्रै बन्यौं । तर अरुलाई बनाउने कोशिस नै गरेनौं । मान्छे कहाँदेखि आज कहाँ पुगे ? सामाजिक तवरबाट होस् वा व्यक्तिगत तवरबाट । तर हेर्नुहोस् त जनताको सास्ती जहाँको त्यही छ ।

कतारजस्तो सानो देशले यति राम्रो देश बनायो । दुआईले (यूएई) बनाउन सक्छ भने हाम्रो त अन्नपूर्णको भण्डार भएको देश । के छैन नेपालमा ? तर बनाउन नसक्नु हाम्रो नालायकी हो नि त।

यात्राको क्रममा सबैजसो जिल्लाका गाउँ -गाउँमा पनि पुग्नुभएको छ । युवा तन्देरीहरु विदेशिएपछि अहिलेका गाउँहरु  कस्ता छन् ?

अहिलेका गाउँहरु रित्ता छन् । केही वर्ष अगाडि म घुम्दै घुम्दै रुकुम पुगेको थिए । बच्चाहरु छन् । छोरी मान्छेहरु छन् । बुढाबुढीहरु छन् । तर युवाहरु एउटै छैन गाउँभरी । १४-१५ दिन हिंड्दा युवाहरु भेटिदैन । युवाहरु एकदमै थोरै । एकदमै कम । त्यसपछि अचम्म लाग्यो । गाउँमा युवाशक्ति नै छैन । यो त देशै खाली हुने अवस्था आएछ भन्ने लाग्यो । यसको परिणाम झन् भोलि के होला ? गाउँ घुम्दै गर्दा एकदमै नरमाइलो लाग्यो । त्यो बेला हाम्रो गीत ‘शिरफूल शिरैको’ अन्तरामा पनि त्यो भाव छ। ‘वनभरी फुलै फूल लाउने कोही छैन । नदेखेमा के-हो केहो ? देखे माया लाग्छ,’ त्यहाँ पुग्दा गुरास फूल यति धेरै फूलेका थिए । तर छोरा मान्छे गाउँमा छदै छैन । छोरी मान्छेहरु मात्रै छ । आखिर त्यो फूल कसलाई लगाइदिने ?

सांगीतिक यात्राको क्रममा विभिन्न देशहरुमा पुग्दा युवा तन्देरीहरुसँग भेट्नु भएको छ।उहाँहरुको मनस्थिति कस्तो पाउनुहुन्छ

घर फर्कन त मन लाग्छ। रहर लाग्छ नि दाई भन्नुहुन्छ । तत्काल घर फर्केर के -गर्ने ? घर फर्केपछि अवस्था त्यही नै छ। बाध्यताले विदेश आएको सुनाउनुहुन्छ । बच्चाबच्ची पढाउनै पर्‍यो । जहान परिवार पाल्नै पर्‍यो । आँफू पनि बाँच्नै पर्‍यो । त्यही कामले घरका मान्छेहरु पनि पालिन्छन् । यसका लागि कसै -कसैले समर्पण त गर्नै पर्‍यो । तर उहाँहरुको घर फर्कने रहर छ। तर रहर मात्रै भएर के गर्ने ? धेरै भाइ बहिनीहरुको मानसिकता यस्तै पाउँछु ।

विदेशमा तपाईंले कन्सर्ट गरिरहदा भर्खर १९-२० वर्षका कलिला युवाहरु हजारौंको संख्यामा तपाईंको आवाजमा रमाइरहेका हुन्छन् । तपाईं कस्तो सन्देश दिनुहुन्छ

विदेशमा जुन ठाउँमा बसेपनि त्यहाँको भाषा, संस्कृति, संस्कारलाई पनि सम्मान गर्नुहोस् । काम सबैभन्दा ठुलो कुरा रहेछ । त्यसलाई इज्ज्यत गर्नुहोस् । यहाँको काम गर्ने शैलीलाई इमान्दारिक पूर्वक सिक्नुहोस् । देश बिकास अरुले आएर गर्ने त रहेनछ । अरुले त गफै मात्र गर्ने रहेछ । सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस् । मैले कन्सर्ट गर्दै गर्दा आजभोलि भाइबहिनीहरुलाई यस्तै भन्दै आएको छु ।

विदेश पलायनबारे नेपथ्यले संगीत मार्फत पनि कुनै सन्देश दिदैछ की  ?

कवी, कलाकार, गायकहरुले अनुभूतिका कुराहरु लेख्ने हो । भन्ने हो । संगीतबद्व गर्ने पनि हो । हामीले धेरै अगाडि यस्ता खालका गीतहरु पनि गरेका थियौं । द्वन्दकालमा । तर मान्छेलाई सुन्न खासै मन पर्ने रहेनछ । दस्तावेजका रुपमा बनाउने आफ्नै ठाउँमा छ । त्यति धेरै मन पर्ने रहेनछ भन्ने मेरो पहिलाको अनुभव रह्यो ।यस्ता खाले गीतहरु पटक पटक होइन । तर कहिलेकाही मात्रै सुन्ने गरेको उहाँहरुले बताउनुभयो ।

छोराछोरीलाई विदेश पठाउन लाखौं खर्च गर्न तयार हुने तर देशमै उद्दमशीलता गर्न परिवारले पनि सहयोग नगर्ने परिपाटी देखिएको हो ?

सबैभन्दा पहिला त राज्यले माहोल नै बनाउन सकेन । ऋण काटेर होस् वा बैंकबाट ऋण लिएर लगानी गरेपछि लगानी उठ्ने बाताबरण त हुनुपर्छ नि ! कम्तिमा ऋण तिर्न सक्ने अवस्था हुनुपर्यो पर्‍यो नि ! हामीले माहोल नै बनाउन सकेनौं । लगानी सुरक्षित नहुने अवस्था आएमा हतोत्सायी हुने अवस्था सिर्जना हुन्छ । अर्कोतर्फ जहाँ गयो त्यही भष्टचार छ । जहाँ गयो त्यही नैतिकताको अभाव छ। सामाजिक खडेरी नै परेको छ।जताततै समस्या नै समस्या छ ।

अब एकछिन्, तपाईंको सांगीतिक यात्राको पनि चर्चा गरौं । १३ वर्षअघिको ब्रायन एडम्सको नेपालमा कन्सर्टबारे अहिले पनि चर्चा हुने गर्दछ । आज तपाईं ब्रायन जन्मेको देशमा पुगेर उनि नेपाल आएको झझल्को मेटाउँदै हुनुहुन्छ नि !

ब्रायन एडम्स गजवको कलाकार हुनुहुन्छ । जसको गीत सुन्दै हुर्कियौं । कलेज पढ्दा तिनै गीत गुन गुनायौ । हाम्रो देशमा  उहाँजस्तो कलाकारको कन्सर्ट हुनु ठुलो कुरा थियो । नेपथ्य ब्याण्डले नै उहाँको कन्सर्ट हेरेका थियौं  । त्यो कार्यक्रम एकदम उत्कृष्ट थियो । एकदमै गजव कार्यक्रम भएको थियो ।

त्यतिबेला दशरथ रंगशालाको माहोल थियो ? तपाईंको सम्झना र अनुभव सुनाइदिनुहोस् न !

पूर्णिमाको रात थियो त्यो दिन । रात बडो उज्यालो थियो । दशरथ रंगशालाको त्यो साँझ गजव राम्रो भएको थियो । अन्तर्र्राष्ट्रिय कलाकारलाई पाउँदा हामी संगीतकर्मीहरु हर्षले गदगद भएका थियौं । देशभरका धेरै ठाउँहरुबाट मान्छेहरू आएका थिए । त्योभन्दा पनि महत्वपुर्ण के थियो भने त्यस्ता कलाकारहरू फेरि पनि भबिष्यमा अरू पनि आवोस् भन्ने हाम्रो कामना थियो । तर त्यसो हुन सकेन ।

नेपालमा फेरि त्यस्तै अन्तर्राष्ट्रिय कलाकारहरुको भब्य कन्सर्ट हुन नसक्नुको कारण के हो जस्तो लाग्छ ?

ब्रायन एडम्स पछि पनि हामीले अन्य थुप्रै विश्व प्रसिद्व कलाकारहरु आउनुहुन्छ भन्ने अपेक्षा राखेका थियौं तर आउनुभएन । आर्थिक सम्पन्नताको कुरा हुँदो रहेछ । तीन करोड जनसंख्या भएको देश हो नि ! जनसंख्याको हिसावले त धेरै पावरफुल हौ । तर इकोनोमी राम्रो नभएको कारणले हामीले थप कलाकारहरु भित्राउन सकेनौ । जसरी कार्यक्रम गर्दा खर्च हुन्छ । त्यसरी नै उठ्ने वातावरण पनि बन्नु पर्‍यो नि ! देशको क्रयशक्ति राम्रो छैन । तर आर्थिक तवरबाट सम्पन्नशाली बन्यौं भने त्यो सबै सम्भव पनि छ । आर्थिक बाहेक अर्कोतर्फ तपाईको इमान कत्तिको छ ? नैतिकताको कुरा पनि हुँदो रैछ ।

नेपालमा अन्तर्राष्ट्रिय कलाकारहरुलाई बोलाएर ठुलाठुला कन्सर्टहरु हुनै छाडे । तर नेपथ्य ब्याण्डले भने विश्वभर अन्तर्राष्ट्रियस्तरका मञ्चमा पुगेर कन्सर्टहरु गरिरहेको छ । अन्तर्राष्ट्रिय मिडियाहरुको  ध्यान खिच्न पनि सफल भएको छ । बेलायतको ओम्ली एरिना, कोरियाको कोरियन ब्रोडकास्टिङ सिस्टम एरेना’ (केबिएस), अमेरिका न्युयोर्कको म्यानहटन सेन्टर, जापानको टोकियोस्थित तोयोसु पिट हलर अहिले अक्टोबर ८ मा क्यानाडाको म्यासी हलमाप्रस्तुति दिंदै हुनुहुन्छ। तपाईंलाई कस्तो लाग्छ ?

खुशी लाग्छ नि । आफूले असाध्यै सम्मान गरिएका जो प्रसिद्ध कलाकारहरूले प्रस्तुत गरेको मञ्चमा कार्यक्रम प्रस्तुत गर्न पाउदा खुशी लाग्छ । त्यो त भाग्यमानी मान्छे र भाग्यमानी कलाकारले पाउने चिज हो । हैन र ? कलाकार आफूमात्रै राम्रो भएर नहुदो रहेछ । उत्कृष्ट मात्रै भएर पनि नहुने रहेछ । यो सबै प्राप्तिका लागि समयले जुराउनु पर्ने रैछ।सबै तालमेलहरू मिल्नुपर्दोरहेछ । तबमात्रै सौभाग्य मिल्दो रैछ ।

अन्त्यमा, सन् २०२३ भरि नेपथ्यका सबै प्रस्तुतिहरूलाई मानवताका लागि संगीतको नारा दिइएको छ नि !

समाजमा जन्मिएपछि धेरै किसिमको सामाजिक समस्याहरु हुँदोरहेछ । सधैं एउटै संस्थाले, एउटै मान्छेले वा परिवारले त्यसको समाधान गर्न सक्तैन रहेछ । तपाईंले याद गर्नुभएको छ कि छैन । पहिले -पहिले सडक आश्रित धेरै मान्छेहरु हुन्थे । मानसिक तवरबाट विक्षिप्त मान्छेहरु सडकमै भेटिन्थे । यस्ता खाले मान्छेहरु सडकमा हिडिराखेको देखिन्थ्यो । तर हिजोआज नेपालमा यो धेरै कम मात्रामा देखिन्छ । यसो किन भयो भनेर बुझ्न मन लाग्यो । एकजना रामजी अधिकारी भन्ने भाइ हुनुहुँदो रहेछ । उहाँ र उहाँका साथीहरुको टिमको ‘मानव सेवा आश्रम’ । उहाँहरुले सडक आश्रित मान्छेहरुलाई लगेर सेल्टर बनाएर हेरचाह र औषधी उपचार गरिरहनुभएको देख्यौ । त्यो देखेपछि यो सरकारले गर्नुपर्ने काम उहाँहरुले गरिराख्नुभएको अनुभूति भयो । कस्तो राम्रो काम भन्ने लाग्यो । मानवताका लागि यो भन्दा ठुलो अरु के होला र ? त्यसैले यो वर्षको कार्यक्रमका लागि ‘मानवताका लागि संगीत’ भनेर सोच्यौं। ‘असक्त मान्छेहरुपनि बाँच्न सकुन्’ भन्ने मनसाय भएका सहयोगीलाई सांगीतिक तवरबाट उहाँहरुसमक्ष जोडेर समायोजन गर्ने काम गरेका छौ। यो काम गर्दा सबैभन्दा बढी आत्म सन्तुष्टि मिलेको छ।- onlinekhabar