पोखरामा ‘जुनिएर रणविर’भन्छन् फिल्म क्षेत्रको राम्रो कलाकार बन्छु ः


– राजाराम पौडेल

पोखरा/
गीत–संगीतको सफलताको लागि शब्द, संगीत र स्वर तीन पक्षको हात हुने भनिए पनि अब गीत–संगीत हिट हुनुमा म्यूजिक भिडियोको स्थान अपरिहार्य बन्दै आएको छ । कारण म्यूजिक भिडियो निर्माण गर्नुपर्ने अपरिहार्यता र यसको क्रेजलाई नै लिन सकिन्छ ।सूचना तथा प्रविधिमा भएको विकास सँगै गीत संगीतको क्षेत्रमा समेत विस्तार ल्याईदियो । सुन्नेमात्र हैन अहिले हेर्ने र सुन्ने एकैचोटी गर्ने चाहना दर्शक श्रोताको चाहना बन्न पुग्यो ।

यसरी म्युजिक भिडियोको निर्माण हुने क्रम बढेसँगै मोडलिङ्ग क्षेत्रमा नयाँ–नयाँ प्रतिभाको आगमन भैरहेको छ । हुनत रहरले मोडल बन्नेको संख्या बढिरहेको यो समयमा यहि क्षेत्रमा भविष्य कोर्न संघर्ष शुरु गरेका छन् राजन कार्कीले । पोखरामा ‘जुनिएर रणविर’को नामले परिचित उनी विगत दुई वर्षदेखि मोडलिङ्ग क्षेत्रमा आएका हुन् ।

सानो उमेरदेखिको ठुलो पर्दाको फिल्ममा अभिनय गर्ने सपना बुनेका उनको सपना छोटो समयमानै वास्तवीकतामा परिणत भैसकेको छ । कारण उनले फिल्म ‘छेस्को’ मार्फत नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्ने मौका पाए । दुर्गा विष्ट निर्माता रहेको फिल्म ‘छेस्को’मा नायकको रुपमा अभिनय गरी फिल्मी क्षेत्रमा डेब्यु गर्ने मौका पाएका राजनको कलाकारीता क्षेत्रको परिक्षाको घडि अब शुरु भएको छ ।

फिल्ममा आफुले गरेको अभिनयको माध्यमबाट दर्शकको मन जित्न सफल बने भने पक्कै उनले आफ्नो सपना पुरा भएको महसुस गर्नेछन् । हुनत केहि समय अगाडि फिल्मको पोस्टर र प्रोमो रिलिज गरीएपछि यो फिल्मको चर्चा यतिबेला नेपाली फिल्म क्षेत्रमा विस्तारै बढ्दैछ । आगामी वैशाखमा अल नेपाल रिलिज गरीने भनिएको ‘छेस्को’ फिल्ममा आफुलाई दिएको भुमिकामा न्याय गरेको दावी गर्ने राजन फिल्म हेरेर आफ्नो अभिनयको मुल्याङ्कन गरी आगामी दिनमा यस क्षेत्रमा अगाडी बढ्न मार्गनिर्देशन गर्न दर्शक तथा शुभचिन्तक सँग आग्रह गर्छन् । ए आर फिल्म प्रोडक्सनको व्यानरमा बनेको फिल्मको अधिकांश छायांकन पोखरा आसपासमा गरिएको छ । सुरेश थापाको निर्देशन रहेको फिल्म झण्डै ३० लाखको लगानीमा निर्माण भएको हो ।

फिल्म मार्फत युवा पुस्ता कसरी दुव्र्यसनमा फस्छन् भन्ने कुरा चित्रण गरिएको उनले सुनाए । फिल्म सन्देशमुलकहुनुका साथै मनोरञ्जनात्मक बनेको भन्दै कलेज पढ्ने युवायुवती र तिनका अविभावकले हेर्नुनैपर्ने उनको तर्क छ । फिल्ममा उनका अलावा पुजना प्रधान, अञ्जित खड्का, रविन वैद्य, श्रृष्टि सेन्चुरी, पवित्रा आर्चाय लगायतको अभिनय देख्न सकिन्छ ।

सन्देश बोकेको यस फिल्मले आफुलाई नायकको रुपमा स्थापित गराउनेमा उनी विश्वस्त देखिन्छन् । यस फिल्ममा गरेको अभिनय दर्शकले मन पराउनेमा विश्वस्त बनेका राजन प्रर्दशन पश्चात अन्य फिल्ममा अवसर पाउनेमा पुर्णतया आशावादी छन् । ‘राम्रो कलाकार बन्ने लक्ष्यका साथ फिल्म क्षेत्रमा प्रवेश गरेको छु’ उनले थपे ‘दर्शकको साथ र माया पाएभने अवश्य सफल हुनेछु ।’

आजभन्दा २४ वर्ष अगाडि तनुहँ जिल्लाको बन्दिपुरमा बुबा तेजेन्द्र बहादुर र आमा देवकला कार्कीको सन्तानको रुपमा जन्मिएका राजन बाल्यकालमा चञ्चले स्वभावका थिए रे, । बाल्यकालदेखिनै कलाकारीता क्षेत्रमा रुची राख्ने उनले गाउँमा तथा स्कुलमा आयोजना हुने कार्यक्रममा भाग लिई आफ्नो प्रतिभा देखाउने गर्दथे । वि.स. २०६८ मा उच्च शिक्षा अध्ययनको लागि सुन्दर नगरी पोखराको जनप्रिय उच्च मा.वि. भर्ना भए सँगै उनको प्रतिभाले फक्रने अवसर प्राप्त गरेको हो । अध्ययनको क्रममा उनको सामिप्यता मोेडलीङ्ग र कलाकारीता क्षेत्रमा लागेका व्यक्तिसँग हुन पुग्यो । फलस्वरुप यो क्षेत्रमा हिड्न अग्रसरता उनमा थपियो । अनि एकपछि अर्को अवसर प्राप्त हुदै सबैमाझ चिरपरिचित हुन पुगे ।

औपचारीक रुपमा वि.स.२०७० सालमा स्वरुपराज आर्चायको आवाजमा रहेको ‘जान्छु पनि नभनेर’ गीतमा मोडलको भुमिका निभाइ मोडलिङ्ग क्षेत्रमा प्रवेश गरेका थिए । हुनत उनले यस अगाडिनै विज्ञापनमा मोडलको भुमिका निभाइसकेका थिए । यसै बिचमा अञ्जु पन्तको ‘तिम्रो आँखा रसायो’, सुधा रत्नको ‘सबैले मलाई’, कनैया सिँहको ‘तिमिले त घात’ लगायतका एक दर्जन गीत तथा रेडबुल र आइसवर्ग वियरको विज्ञापनमा उनले मोडलिङ्ग गरीसकेका छन् । केहि म्युजिक भिडियो अब केहि समयमानै दर्शकमाझ रिलिज हुने उनले जनाए ।

मोडलिङ्ग क्षेत्रमा छोटो समयमानै पाएको सफलताले यो क्षेत्रमा अगाडि बढ्न हौसला मिलेको उनको भनाई छ । हाल काठमाण्डौँको मैतीदेवीमा कान्तिपुर मोडलिङ्ग एजेन्सी सञ्चालन गरेका उनले अब केहि महिना पछाडि ‘गोल्डेन स्टार नेपाल’ गायन तथा नृत्य प्रतियोगीताको आयोजना गर्ने बताए । यसअगाडि पोखरा मोडल एजेन्सीको आयोजनामा मिस गण्डकी र कास्की आइडलको सफल आयोजना उनले गरिसकेका छन् ।नेपाली फिल्म र मोडलिङ्ग क्षेत्रको यात्रा निरन्तर अगाडी बढाउने सोच बनाएका उनी अब भने राजधानीमानै बसेर यात्रा अगाडि बढाउने बताउँछन् । पोखराबाट मात्र सबै काम सम्भव नहुने भएकोले स्थापीत हुन काठमाण्डौ जानुपरेको उनले दुखेसो पोख्छन् । यतिबेला नाम चलेका म्युजिक भिडियो निर्देशकको रोजाइमा पर्ने गरेका उनले आफ्ना हरेक सिर्जनामा नयाँपन खोजी गरी गीतलाई बुझेर अभिनय गर्ने गर्दछन् ।