कुमार लामामाथि बन्दीलाई यातना दिन आदेश दिएको अभियोग


लण्डन / बेलायतमा पक्राउपछि हाल धरौटीमा रहेका नेपाली सेनाका कर्णेल कुमार लामामाथि नेपालमा द्वन्द्वकालमा बन्दीहरुलाई यातना दिन आदेश दिएको आरोप लगाएको छ ।
लण्डनको सेन्ट्रल क्रिमिनल कोर्ट, ओल्ड बेलीमा भइरहेको सुनुवाईमा विपक्षी वकिल ववि चीमाले लामाले माओवादीको आशंकामा पक्राउ परेका जनक राउत र करम हुस्सैनलाई यातना दिन लगाएको अभियोग लगाए ।

बीबीसीका अनुसार पेशाले स्वास्थ्यकर्मी राउत त्यतिबेला स्थानीय निजी हेल्थपोष्टमा कार्यरत रहेको र माओवादी नरहेको जिकिर चीमाले गरिन् । राउतलाई लामा प्रमुख रहेको कपिलवस्तुको गोरुसिंगे ब्यारेकमा लगिएको र जंगलमा लगेर सेनाले यातना दिएको आरोप लगाइएको छ । कर्णेल लामाले जवानहरुलाई राउतलाई पिट्नका लागि फलामको रड, फरुवा (माटो खन्ने) र लठ्ठी ल्याउन लगाएका थिए । राउतलाई हत्कडी लगाएर, आँखामा पट्टि बाँधेर घोप्टो पारियो अनि जवानहरुले लठ्ठी र लात्ताले पिटे’ वकिल चीमाले अदालतमा भनिन् ।

‘राउतलाई यति पिटियो कि लठ्ठी भाँचिन्थ्यो र नयाँ लठ्ठी लिइन्थ्यो’ उनले अगाडि भनिन् । जब तत्कालिन राजा ज्ञानेन्द्रले संकटकालको अन्त्य भएको घोषणा गरे त्यसपछि राउतलाई धरौटीमा रिहा गरियो । अर्का पीडित हुस्सैन माओवादीप्रति सहानुभूति राख्थे । उनलाई समूहमा गिरफ्तार गरियो र आाखामा पट्टि बाँधेर गोरुसिंघे ब्यारेकमा लगियो । त्यहाँ लामाले उनीहरुलाई मार्न आदेश दिएका थिए ।
उनलाई जंगलमा पिटियो र भनियो, ‘अब जाऔँ, आज हामी तालाई मार्दैनौँ शायद केही दिनमा मार्छौँ ।’

नेपाली सेनाका कर्णेल ४७ वर्षीय लामा परिवार भेट्न युके आउँदा सन् २०१३ जनवरी ३ मा पक्राउ परेका थिए  ,पक्राउ पर्दा उनी संयुक्त राष्ट्रसंघीय मिसन सुडानमा कार्यरत थिए । बेलायतको आवासीय अधिकार लिएका लामामाथि सन् २००५ मा कपिलवस्तु र रुपन्देहीको सिमानामा रहेको गोरुसिंगे ब्यारेकमा प्रमुख रहँदा माओवादीको आरोपमा थुनिएकाहरुलाई यातना दिएको आरोप छ ।

यातना विरुद्ध संयुक्त राष्ट्रसंघीय महासन्धिका कारण लामालाई युकेमा मुद्दा चलाइएको हो । आफूमाथि लगाइएको आरोपलाई उनले अस्वीकार गर्दै आएका छन् ।
सुनुवाई जारी छ भनी वीनेपालीको समाचारमा उल्लेख छ।