खुल्लामञ्च भरिने गरी ३० दलीय मोर्चाको उपस्थिति


काठमाडौं /एमाओवादी र मधेसवादी नेतृत्वको ३० दलीय मोर्चाले शनिबार राजधानीमा गरेको प्रदर्शनमा खुल्लामञ्च भरिने गरी उपस्थिति देखिएको छ ।
कार्यक्रममा दुई लाखको सहभागिता गराउने भनिएकोमा लक्ष्य प्राप्त नभए पनि आन्दोलनकारी मोर्चाका नेताहरु कार्यकर्ताको ठूलो सहभागिता देखेर उत्साही देखिएका छन् ।
आमसभा सकिएपछि धेरैले अनुमान लगाएका छन् कि खुलामञ्च र आसपासमा उपस्थित रहेका प्रदर्शनकारीको संख्या एक लाखको हाराहारीमा थियो ।

कतिपयले खुलामञ्चको क्षमता ४०/५० हजारमात्रै रहेको बताएका छन् । तर, मञ्च परिसरभन्दा बाहिरको समेत उपस्थितिलाई जोडेर कतिपयले ६० हजारसम्मको उपस्थिति हुन सक्ने अनुमान गरेका छन् । आमसभाका आयोजक मध्येका सामाजिक लोकतान्त्रिक पार्टीका नेता पासाङ शेर्पाले आमसभामा एक लाख मानिस सहभागी भएको दाबी गरे ।

तर, खुलामञ्चको सभामा ४०/५० हजारमात्रै मानिस उपस्थित भएको मान्ने हो भने पनि त्यसले विपक्षीलाई उत्साही बनाएको कतिपयको विश्लेषण छ । खुल्लामञ्च भरिने गरी मानिस उपस्थित गराएर सभा गरिनुलाई विपक्षीले दलहरुले ठूलो सफलता मानेको आयोजकले बताएका छन् ।