शिवरात्रिका लागि करिब दुई हजार साधुसन्त पशुपतिमा


काठमाडौँ/- यस वर्ष शिवरात्रिका लागि पशुपतिमा करिब दुई हजार साधुसन्त आइसकेका छन् । भारतबाट नागाबाबाका साथै महिला साधुसन्त पनि आएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषका अनुसार स्वदेश तथा भारतका विभिन्न स्थानबाट विभिन्न सम्प्रदायका योगी शिवरात्रिमा मेला भर्न पशुपति क्षेत्रमा आगमन सुरु भएको छ । त्यसरी आएका साधुसन्तमा नागा बाबा तथा महिला साधुसमेत रहेको र सङ्ख्या तीन हजारसम्म पुग्न सक्ने अनुमान गरिएको छ।

कोषले मेला भर्न आएका साधुसन्तलाई फर्कने बेलामा बिदाइस्वरुप उनीहरुको पदवी तथा मर्यादा हेरी रु २५० देखि रु तीन हजारसम्म दक्षिणा उपलब्ध गराउने सहमति गरेको छ।

गोरखनाथ, सन्यासी, रामानन्द, रामनुजलगायत साधु तथा बाबाको उपस्थिति तथा उनीहरुले खरानी घसेर धुनी जगाउँदै गाँजा तान्ने, भोलेनाथ, शङ्करका नामले भगवान् शिवको आराधनाका गतिविधिले त्यस क्षेत्रमा अहिले रमाइलो धार्मिक वातावरण बन्दै गएको छ।

कोषले शिवरात्रिलाई व्यवस्थित गर्न विभिन्न समिति समेत गठन गरी आवश्यक कार्यको तयारी गरेको छ। समितिले रामघाट, स्वर्गद्वारी, निर्मल आश्रम तथा अन्नपूर्ण भण्डारको आश्रममा उनीहरुलाई बस्ने व्यवस्था मिलाएको कोषका सदस्यसचिव डा गोविन्द टण्डनले जानकारी दिनुभयो।

त्यसैगरी गुठी संस्थानले पनि उनीहरुलाई बिदाइका क्रममा दान दक्षिणा ददै आएको छ। कोषले मन्दिरमा रङ्गरोगन तथा आसपासका क्षेत्रमा अन्य शृङ्गार र सजावटका कार्य तीव्र रुपमा थालेको छ। यस वर्षको शिवरात्रि यही फागुन ५ गते परेको छ। रासस