आम आदमी पार्टीको ‘चमत्कारिक’ जित,


नयाँदिल्ली/ भारतको दिल्ली विधानसभा चुनावमा अरविन्द केजरवाल नेतृत्व आम आदमी पार्टीले कसैले नसोचेको ‘चमत्कारिक’ ढंगबाट जित हात पारेको छ ।
मंगलबार सार्वजनिक मत परिणामअनुुसार दिल्ली विधानसभाको ७० सिटमध्ये ६७ सीटमा मा ‘आप’का उम्मेदवार विजयी भएका छन् । कुनै पनि लोकतान्त्रिक निर्वाचनमा आम आदमी पार्टीले पाएको यो जित अभूतपूर्व हो ।

यो जितसँगै ‘आप’का अरविन्द केजरिवाल फेरि दिल्लीको मुख्यमन्त्री बन्ने भएका छन् । यसरी जित्नेमा केजरीवाल आफैंले पनि सोचेका थिएनन् । गतसाल भएको अघिल्लो विधानसभा चुनावमा २८ सिटका साथ दोस्रो पार्टी बनेको आपका संयोजक केजरीवाल ४९ दिन मुख्यमन्त्री बनेका थिए । तर, लोकपाल विलमा आपलाई बाहिरबाट समर्थन गरेको कांग्रेसले भाजपासँग मिलेर विरोध गरेपछि केजरीवाल राजीनामा दिएर सडकमा आएका थिए ।

अहिले उनकै नेतृवमा आम आदमी पार्टीले ‘चमत्कारिक’ जित हात पारेको छ । आपले चुनावमा खसेको कुल मतको ५४ प्रतिशत मत पाएको छ । यो परिणाम आफूले समेत नसोचेको केजरीवालले बताएका छन् । उनका अनुसार आपले ५४ सिटमात्रै जित्ने आंकलन गरेको थियो ।

चुनावमा केजरीवालको ‘झाडू’ले भारतीय जनता पार्टी र कांग्रेस बढारिएको छ । भारतको सत्तारुढ पार्टी भाजपाले ३ सिटमात्रै जितेको छ भने कांग्रेस दिल्लीबाट पूर्णरुपमा बढारिएको छ ।

कांग्रेस नेता एवं मुख्यमन्त्रीका उम्मेदवार अजय माकनले महासचिव पदबाट राजीनामा दिएका छन् । अघिल्लो चुनावमा भाजपा ३१ सिट जितेर सबैभन्दा ठूलो दल बनेको थियो भने कांग्रेसले ८ सिट जितेको थियो ।

निर्वाचनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको मत भारतकै जनमत हुने बताएका थिए । तर, शर्मनाक हारपछि भाजपाका नेताहरु दिल्लीको परिणामलाई मोदी सरकारकै मत भन्न नमिल्ने बताउन थालेका छन् ।