पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको सेवा सुविधा बारे अनुगमन


पोखरा /

मानवअधिकार निगरानी समुहले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको अनुगमन गरी मेडिकल सुपरीटेण्डेण्टसँग अस्पतालको सेवा तथा समस्याको बारेमा मंगलबार छलफल सम्पन्न गरेको छ।

समितिका संयोजक कृष्णप्रसाद बरालको नेतृत्वमा गएको टोलीले अस्पतालका मेडिकल सुपरीटेनडेण्ट डाक्टर श्रीकृष्ण श्रेष्ठसँग भेटघाट गरी अस्पतालले प्रवाह गर्दै आएको सेवा, सुविधा र समस्याका बारेमा छलफल गरेको हो।

मेडिकल सुपरीटेण्डेण्ट डाक्टर श्रीकृष्ण श्रेष्ठले अस्पतालको क्षमताले भ्याएसम्म गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा प्रवाह गर्दै आएको तथा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको इलेक्ट्रोनिक हाजिरको शुरुवात गरी सेवा प्रवाह सुधार गरिएको, अस्पतालको सरसफाई र ट्याक्सी पार्किङ व्यवस्थित बनाएको, ज्येष्ठ नागरिक वार्ड, हेल्पिङ डेक्स स्थापना र ओपीडी सेवा हप्ताको छ दिन नै सञ्चालन भइरहेको जानकारी दिए।

अस्पतालबाट प्रसुति सेवा, ज्येष्ठ नागरिकलाई विभिन्न २९० प्रकारका औषधि निःशुल्क रुपमा उपलब्ध गराएको उल्लेख गर्दै ९६ शैया क्षमताको प्रसुति वार्डलाई विस्तार गरी २०० शैयाको बनाउन मन्त्रालयबाट २ करोड १५ लाख बजेट विनियोजन भएको जानकारी दिए।

शनिवार बाहेक १० बजेदेखि २ बजेसम्मको सेवा अवधिलाई विस्तार गरी आगामी एक महिनाभित्र आन्तरिक अस्पताल सेवा मार्फत् ४ बजेसम्म बनाउने पहल भइरहेको छ, मेडिकल सुपरीटेण्डेण्ट श्रेष्ठले भने, यो सेवा शुरु भएपछि विरामीले अस्पतालको निश्चित शुल्क तिरेर आफुले चाहेको विशेषज्ञबाट सेवा लिन पाउनेछन्।

उनले अस्पतालमा दरबन्दी अनुसार जनशक्ति पदपूर्ति भएको तर केही दरबन्दीका स्वास्थ्यकर्मी राजधानी लगायतका क्षेत्रमा काजमा रहेकोले समस्या रहेको र सार्वजनिक विदामा अस्पताल सञ्चालन गर्न विभिन्न कारणले गर्दा समस्या रहेको बताए।

छलफलमा मानवअधिकार निगरानी समुहका सल्लाहकार विष्णु बराल, समुहका सदस्यहरु बलराम घिमिरे, काशी गुरुङ, इन्सेक पश्चिमाञ्चल क्षेत्रीय संयोजक शिव खकुरेल, इन्सेक पोखराका फोकल पर्सन सवनम शर्मा, इन्सेक जिल्ला प्रतिनिधि सनबहादुर थापा सहभागी थिए।