एक वर्ष भित्रमा पोखरामा लेकसाइडबाट पुम्दीभुम्दी केवलकार सरर


 

पोखरा/लामो समयको प्रतीक्षापछि पोखरामा केवलकार चढ्ने सपना पुरा हुने भएको छ । सर्वोच्च अदालतमा विचाराधिन रहेको केवलकार निर्माण विरुद्धको रिट खारेज गरेपछि चितवन कोई समूहले आगामी बैशाखदेखि पोखरामा केवलकार निर्माण कार्य थाल्ने भएको हो ।

‘बैशाखदेखि पर्यटकीय पोखरामा केवलकार निर्माणकार्य शुरु गर्ने छौं ।’ केवलकार निर्माण कम्पनी चितवन कोई समूहका अध्यक्ष राजुवावु श्रेष्ठले भने—‘एकवर्षभित्रमा निर्माण पुरा गरेर सञ्चालनमा ल्याउने छौं ।’ केवलकार निर्माणको लागि चितवन कोईले नक्सा मन्त्रालयमा पठाईसकेको छ । अदालतले आवश्यक पत्रचार गरेपछि फाईनल डिजाईन गरेर बैशाखदेखि काम थाल्ने अध्यक्ष श्रेष्ठको भनाई छ ।

केवलकार कार निर्माण गर्न सरकारले पनि विभिन्न कम्पनीसँग बोलपत्र आह्वान गरेको थियो । आह्वान गरिएको बोलपत्र अनुसार कोई समूहको मात्रै क्वाईलिफाईड भएको थियो । प्रतिस्पर्धामा पुग्ने अंक नपुगेपछि अर्को कम्पनीको बोलपत्र रद्द भएको थियो । जिम्मेवारी पाए लगत्तै नपाएको कम्पनीले सर्वसाधारणलाई उचालेर सर्वोच्चमा रिट हालेको थियो । २०६८ सालमा हालेको रिटलाई सर्वोच्चले २०७१ माघमा आएर सल्ट्याईदिएको हो ।

चितवन कोई समूहले पोखराको लेकसाईड क्षेत्रस्थित बसुन्धरापार्कदेखि फेवातालको माथिहुदैं पुम्दीभुम्दीको अनदु डाँडामा रहेको विश्वशान्तिस्तुपसम्म पु¥याउने लक्ष्य राखेको छ । ‘सार्वजनिक उजुरीकै कारण पोखरामा केवलकार निमार्ण ढिलाई हुदैं गएको थियो’ उनले भने ‘उजुरीलाई सर्वोच्च अदालतले टुग्याईदिएको छ । अदालतको पत्र आएपछि धमाधम प्रक्रियागत रुपमा काम अगाडि बढाउँछौं ।’ समूहले उजुरीलाई केवल दुख दिने नियतको ‘अनाहक केश’को संज्ञा दिदैं आएको थियो ।

सरकारले केवलकार निर्माणको लागि ग्रुपलाई छ महिना अघि नै क्वालिफाईङ गरेको थियो । केवलकार निर्माणको लागि पोखराको लक्ष्मी ग्रुपले पनि चासो दिएको थियो । तर सरकारले चितवन कोई ग्रुपलाई क्वाइलिफाईङ ग¥यो । विकास विरोधी गतिविधिले पोखराको समग्र पर्यटन विकासमा अवरोध पु¥याउन खोजिएको थियो । पोखरामा केवलकार निर्माण गर्ने विषय झण्डै दुईवर्ष अघिदेखि निकै चर्चामा थियो । यद्यपी विभिन्न कारण देखाउँदै अदृष्य व्यक्ति संघसंस्थाले अवरुद्ध बनाएका थिए ।

एक दशमलव छ किलोमिटर दुरीको हुने चितवन कोईले जनाएको छ । पोखरामा बन्ने केवलकारमा एकै पटक ६० जनाले चढ्न पाउने उनको भनाई थियो । २० वटा कार(डिब्बा) रहने छन् । दशवटा जाने र दश वटा आउने अध्यक्ष श्रेष्ठले बताए । प्रत्येक डिब्बामा ६ जनाले यात्रा गर्न सक्छन् । ‘यात्रा गर्ने सर्वसाधारणले टाउको निकालेर प्राकृतिक सुन्दरता हेर्न पाउँछन् ।’ उनले भने—‘मनकामना केवलकारमा भने टाउको निकाल्न पाईदैन् ।’ मनकामनामा ३४ वटा कार(डिब्बा) छन् । ‘यात्रुको चाप अनुसार कार थप्दै जाने अनुसारको बनाउने छौं ।’ उनको भनाई थियो । छ वटा पोल निर्माण गरिने छ ।

उनका अनुसार आवश्यक सर्भे गरिसकिएको छ । साढे एक किलोमिटर लामो रुटको केबल कार निर्माणका लागि एक अर्ब ५० करोड लाग्ने अनुमान गरिएको छ । बाह्रै महिना आन्तरिक तथा बाहृय पर्यटकको भीड लाग्ने पोखरामा हाल प्याराग्लाइडिङ, बन्जि जम्प, जिप फ्ल्यार र अल्ट्रालाइट जहाजले पर्यटक तानिरहेका बेला केबल कार पनि थपिएपछि अझ पर्यटकको आगमन उत्साहप्रद हुने विश्वास गरिएको छ ।

केबलकारबाट पोखराका तालको रमणीय दृश्य, हिमाल र हरिया फाँटहरुको अवलोकन गर्न सकिने बताइएको छ । पोखरामा बसुन्धरापार्कदेखि शान्तिस्तुपसँगै सराङकोटमा पनि केवलकार बनाउने योजना चर्चामा आएको छ । पार्कबाट फेवाताल हेर्दै उचाईमा पुगेर पोखराको प्रत्यक्ष अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने विश्वास गरिएको छ ।