आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालको पहिलो जित


काठमाडौं /

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले पहिलो जित हात पारेको छ ।
नेपालले आइतबार भएको आफ्नो दोस्रो खेलमा बलियो प्रितिद्वन्द्वी नेदरल्याण्डमाथि २ विकेटको रोमान्चक जित हात पारेको छ ।

नेदरल्याण्डले प्रस्तुत गरेको १५९ रनको लक्ष्य नेपालले अन्तिम तीन बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो । नेपालको सुरुवात भने निकै खराव थियो । कुन ५ रन बनाउँदा ओपनर नरेश बुढायरलाई १ रनमा गुमाएको नेपालले थप रन नजोड्दा दोस्रो विकेट झर्‍यो । उपकप्तान ज्ञानेन्द्र मल्ल पहिलो बलमै आउट भए ।

कप्तान पारस खड्का र सुवासले ३० रनको साझेदारी गरे । तर, खकुरेल १५ रनमा आउट भएपछि पारस र विनोद भण्डारीले नेपालीको पारी अघि बढाए । विनोदसँग ३४ रनको साझेदारी गरेका कप्तान पारस खड्का १९ रनमा आउट भए । नेपालका लागि आकर्षक पारी खेलेका विनोदले ३० बलमा चार चौका र तीन छक्कासहित ३५ रन बनाउँदै नेपालको पारी उकासे ।

KC-Karan

त्यसपछि सागर पुन १३ र बसन्त रेग्मी ६ रनमा आउट हुँदा नेपालले ७ विकेट गुमाएर ११३ रन बनाएको थियो । तर, सोमपाल कामीले २८ बलमा तीन चौकासहित २४ रन बनाउँदा नेपालाई जितको बाटो देखाए ।शरद भेसवाकर २४ र शक्ति गौचन २ रनमा अविजित रहे ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको नेदरल्याण्डले अन्तिम बल खेल्नुअघि सबै विकेट गुमाएर १५८ रन बनायो । नेपाली बलरहरु हावी भएको खेलमा प्रतियोगिताको बलियो टोली नेदरल्याण्ड सुरुबाटै दबाव आएको थियो । नेपालका कप्तान पारस खड्का, बसन्त रेग्मी, शक्ति गौचन र सोमपाल कामीले समान २-२ विकेट लिए ।

नामिबिया ४ अंकसहित शीर्ष स्थानमा छ भने २ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । समान अंक भएपनि रेट रेटका आधारमा नेदरल्याण्ड दोस्रो स्थानमा छ भने युगाण्डा चौथो, क्यानडा पाँचौं स्थानमा छ ।केन्याले भने दुबै खेल गुमाएको छ र पुछारमा छ ।