महिला भेदभाव र वैदेशिक रोजगारी


 

-कल्पना पौडेल “जिज्ञासु”

आज पनि महिलाहरू सामाजिक, आर्थिक र राजनैतिक क्षेत्रबाट उत्पीडित र उपेक्षित छन् । सरकारी तथा गैरसरकारी क्षेत्रबाट महिला हक, हित र अधिकारका निम्ति गरिएका प्रयत्नका बाबजुद महिलाहरूको स्थितिमा तात्विक अन्तर आउन सकेको छैन ।
महिलामाथि हुने अनेक उत्पीडनमध्ये घरेलु हिंसाबाट पनि नेपाली महिलाहरू उत्तिकै प्रभावित छन् ।

बितेका एक वर्षमा १ सय ५२ जना महिलाको हत्या २ सय ११ जनाको बलात्कार (जसमध्ये २३ जना महिला आफ्नै परिवारका सदस्यबाट बलात्कृत), १२ जना महिलाद्वारा आत्महत्या र ७५ जना महिला बोक्सीको आरोपमा पीडित भएको तथ्याङ्कले देखाएको छ । महिला हिंसाविरोधी १६ दिने अभियानकै क्रममा महिला हिंसासम्बन्धी ३ हजार ७ सय ४९ उजुरी दर्ता भएका छन् ।

दास व्यवस्थामा मान्छेको पनि व्यापार गरिन्थ्यो । त्यतिखेर मान्छेलाई बेच्ने, कुटने, र मार्ने पनि गरिन्थ्यो । त्यति बेला यी घटनामा परेर कति जना गहभरि आँशु झार्दथे भने कतिपय रिसले चुर हुन्थे । कतिपय दारा किट्थे । कतिपय मुठ्ठी कसेर त्यो अन्यायपूर्ण व्यवस्थाको विरोध गर्दथे । आज त्यो क्रुर र निच प्रकारको मानिने दास व्यवस्था अतितको विषयवस्तु बनिसकेको छ । सामान्य रूपमा हेर्दा हिंसा शब्द शाररिक यातना बा कुटपिटसँग सम्बन्धित देखिन्छ तर यसले व्यापक अर्थ ओगट्छ ।

आज पनि महिलाहरू ठूलो सङ्ख्यामा घरेलु हिंसाबाट आतङ्कित छन् । एउटा सर्वेक्षण अनुसार ८२ प्रतिशत महिलाहरू घरेलु हिंसाबाट प्रभावित छन् । सासूले बुहारीमाथि गर्ने र पतिले पत्नीमाथि कुटपिट गर्ने, महिलाको इच्छा विपरीत यौन दुराचार गर्ने, पुत्र लाभ नभएकोमा महिलामाथि हुने मानसिक यातना आदि घरेलु हिंसाका केही उदाहरण हुन् । धेरै महिलाहरू पतिको जबरजस्ती करणीबाट पीडित छन्† तर उनीहरू यसलाई उजुरीको बिषय बनाउने साहस गर्न सकेका छैनन् ।

यद्यपि घरेलु हिंसासम्बन्धी अपराध, अनुसन्धान तथा सजायको व्यवस्था गर्न बनेको विधेयक पारित भैसकेको छ† तर घरेलु हिंसाबाट पीडित महिलाहरूले उजुरी दिने साहस धेरै कमले मात्र गर्दछन् । आजको समाज, संस्कृति, धर्म आदिले पुरुषले महिलामाथि गर्ने हिंसालाई वैधानिकता दिने काम गरेको छ । त्यसकारण पुरुषको ज्यादतीविरुद्घ उजुरी दिँदा महिलाहरू आफूलाई असुरक्षित महसुस गरेको स्थिति छ । बहुबिवाह पनि महिलाहरूका लागि एक प्रकारको उत्पीडन नै हो । “मर्दकी दश वटी” भन्ने उखानै छ । पुरुषले अर्को बिवाह गर्छ ।

त्यसलाई समाजले सामान्य रूपमा लिन्छ । त्यही काम एउटी महिलाले गर्छे भने त्यो अपराधजन्य हुन्छ । विषय एउटै हुन्छ तर मापदन्ड बेग्लै हुन्छ । यसरी एउटै विषयमा समाजको दुई प्रकारको मापदन्ड बेग्लै हुन्छ । सर्वेक्षण अनुसार ६४ प्रतिशत महिलाहरू बहुबिवाहबाट पीडित रहेको देखिन्छ । दुर्गम गाउँमा गएर हेर्ने हो भने यसको सङ्ख्या अझ बढी पाउन सकिन्छ । “मर्दका दश वटी” भन्ने उखानले समाजमा महिलामाथि सौता हाल्नको लागि खुल्ला छुट दिन्छ वा प्रोत्साहन दिन्छ । यसरी बहुबिवाहले पुरुषलाई एकै पटक एकभन्दा बढी महिलासँग व्यभिचार गर्ने छुट दिन्छ भने महिलाहरू सम्पत्तिकमा समान अधिकारको अभावमा अनेक यातना सहेर पनि सौता र लोग्नेसँगै कष्टप्रदः जीवन बिताउन बाध्य छन् ।

दाइजो प्रथा पनि महिला हिंसाको एउटा रूप हो । खासगरी तराईलाई यस समस्याले निकै गाजेको छ । दाइजोे मागेबमोजिम दिन नसकेका कारण लोग्ने र सासु मिलेर बुहारीको हत्यासम्म गरिएका थुप्रै घटना छन् । यसरी श्रीमतीलाई जीवनसाथीको रूपमा हैन, वस्तुको रूपमा हेर्ने व्यापारिक र समान्तवादी चिन्तनबाट ग्रसित हँुदा यस प्रकारका घटनाले ठाउँ पाइरहेको देखिन्छ । दाइजोलाई नेपालीमा कानुनी मान्यता प्राप्त नभए पनि कानुनका रखवाला वर्तमान राज्यव्यवस्थाका नाइकेहरूले बिवाहलाई प्रतिष्ठाको विषय बनाउने र करोडौँ खर्च गर्ने परिपाटीले दाइजो प्रथा निरुत्साहित गर्नुकोे साटो बढावा दिने काम भएको छ । गैरसरकारी तथ्याङ्क अनुसार ३६ प्रतिशत महिलाहरू दाइजो प्रथाको समस्याले पीडित छन् ।

मानव समाजले २१ औँ शताब्दीमा पाइला टेक्दासम्म पनि नेपाली समाजमा बोक्सीको नाममा महिलाहरूलाई मलमूत्र खुवाउने जस्ता अपराधजन्य काम हुनु ज्यादै लज्जाजनक कुरा हो । समाजमा बोक्सी त्यही हुन्छ, जो असहाय, कमजोर, अशिक्षित र गरिब छन । आजसम्म धनी, बलियो मान्छे बोक्सी बनेको छैन । के बोक्सी विधा कमजोर, असहाय, अशिक्षितले मात्र सिक्ने विधा हो र ? यसबाट यो प्रस्ट हुन्छ कि बोक्सी हेला गरेर प्रयोग गरिने शब्द हो । बोक्सी यदि विद्या हो भने त्यसको गुरु को ? त्यो कुन विश्वविद्यालयमा पढाइन्छ । त्यो विद्या पुरुषले किन पढ्दैनन् ? यसको जवाफ बोक्सी भनी आरोप लगाउनेहरूले दिनु पर्छ । वर्तमान विश्व विज्ञान र प्रविधिले यति शक्तिशाली बनिसक्दा पनि नेपाली मानसपटलमा बोक्सीको भुत हट्न सकेको छैन ।

नेपाली मानसिकता अझ पनि सामन्ती, रुढिवादी र अन्धविश्वाशको घेराबाट माथि उठ्न सकेको छैन । बोक्सी जस्तो अलौकिक शक्तिको कुरा गरेर महिलालाई यातना दिने र मलमूत्र खुवाउने कार्य हुनु विडम्वनाको विषय हो । समाजमा आज पनि सयौँ बोक्सीको आरोपमा प्रताडित बनिरहेका छन् । चेलीबेटी बेचबिखन नेपालको सन्दर्भमा एउटा प्रमुख समस्याको बनेको छ । नेपालमा वर्षेनी ५ देखि ७ हजारसम्मको सङ्ख्यामा नेपाली चेलीहरू भारतको बेश्यालयमा बेचिने गर्छन ।

डेढ लाखभन्दा बढी नेपाली महिलाहरू भारतका विभिन्न शहरमा शरिर बेचिएका छन् । अहिले भारतको बाटो हुँदै संसारका अन्य मुलुकमा पु¥याइएका नेपाली चेलीहरूको अवस्था ज्यादै डरलाग्दो छ । यसरी भारतको खुल्ला सीमानाका कारण मानव तष्करीलाई सहजता पैदा भएको छ । विशेष गरी दुर्गम बस्तीका सिधा, अशिक्षित गरिब महिलाहरूलाई नोकरी दिने बहानामा वा बिवाह गरेर घुम्न लैजाने बहानामा चेलीबेटीहरूको बेचबिखन हुने गरेको छ । आफन्तजनबाट पनि यस्ता क्रियाकलाप प्रशस्तै हुने गरेको पाइन्छ । मान्छेले मान्छेलाई बिक्री गर्ने जस्तो जघन्य अपराध हँुदा समेत राज्य मुकदर्शक भएर बसेको देखिन्छ ।

चेलीबेटी बेचबिखन मानव तष्करहरूको नाफा कमाउने ठूलै धन्दा बनिसक्यो । यौन व्यापारको राजधानी मानिने भारतको शहर मुम्बईमा वेश्याबृत्ति गर्ने कुल महिलाहरूको आधा सङ्ख्या नेपालीहरू रहेको अनुमान छ । यसरी लाखौँ महिलाहरू भारतको वेश्यालयमा नारकीय जीवन ब्यतित गर्न बाध्य बनाउने मानव तष्करहरू समाजमा खुलेआम हिँडिरहेका छन् । बलात्कार अत्यन्तै संवेदनशील विषय हो । बलात्कारले महिलालाई शारिरीक मात्र होइन, मानसिक रूपमा समेत गम्भीर आघात पुग्दछ । तर नेपालको सन्दर्भमा बलत्कारका कैैयौँ घटना बाहिर आउन सक्दैनन्† किनभने समाजले महिलाको अस्मितालाई यौन शुद्धतासँग जोडेर हेर्ने गर्दछ ।

यति हुँदाहँुदै पनि युद्धको समयमा होस् या शान्तिको समयमा, बलात्कारका घटना दिनहुजसो घटिरहेका छन् । ७ वर्षको बच्चादेखि ७० वर्षको बृद्ध महिलाहरू बलत्कारका शिकार भैरहेका छन् । बलात्कार जस्तो जघन्य अपराधमा समेत कठोर कानुन बन्न नसक्दा बलात्कारीहरू खुला रूपमा हिँडिरहेका छन् । एक गैरसरकारी सर्वेक्षण अनुसार ३३ प्रतिशत  महिलाहरू बलात्कारको शिकार बनिरहेका छन् । कानुनमा बलात्कार सिद्ध गर्ने पर्याप्त आधार नहँुदा मुद्दा हारिने स्थिति पनि छ । मातृत्व क्षमता बोकेका महिलाहरूको रजस्वलालाई छाउपडी प्रथाले अत्यन्तै घृणित र अपमानित तुल्याएको छ ।

रजस्वलाको समस्यामा महिलालाई पर्याप्त आराम र पौष्टिक खानाको आवश्यकता हुन्छ† तर सुदूर पश्चिमका केही जिल्लाहरूमा रजस्वला भएका महिलालाई गोठमा राख्ने र दुध, दही जस्ता पौष्टिक खानाबाट बञ्चित गरिन्छ । विज्ञानले यतिका प्रगति गरिसक्दा पनि नेपाली समाजको मानसिकता उठन सकेको छैन । धर्मको नामबाट पनि महिलाहरू उत्तिकै ठगिएका छन् । संसारका सबै धर्म पितृसत्तात्मक छन् । संसारका सबै धार्मिक ग्रन्थहरू पुरुषले नै बनाएका हुन् । धार्मक व्याख्या, विश्लेषण र प्रवचन गर्ने कार्य पनि पुरुषले नै गरेका छन् । ठूल्ठूला दर्शन, सिद्धान्तका ब्याख्याकार पनि पुरुष नै छन् । यसरी सबै क्षेत्रमा पुरुषले विजय कायम गरिसकेपछि उनीहरूले आफनो लिङ्ग अनुकुलतामा नियम बनाए र लागु गरे ।

यसरी हिंसाका विभिन्न रूपहरूमध्ये देउकी प्रथा, छुवाछुत आदि पनि हिंसाका रूपहरू हुन् । बाटोमा हिडिरहेको बेला महिलालाई पुरुषले जिस्काउँछ भने त्यो पनि हिंसाको रूप हो । कसैलाई मानसिक रूपमा अप्ठ्यारोमा पु¥याइन्छ भने त्यो पनि हिंसा हो । यसरी सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक, धार्मिक रूपबाट पछाडि पारिएका र ठगिएका महिलाहरू मानब अधिकारको मामिलामा सबैभन्दा ठगिएका छन्† किनभने समान रूपमा जिउन पाउनु तथा समान अवसर पाउनु मान्छेले मान्छे भई बाच्न पाउनु मानव अधिकारको मान्य सिद्धान्त हो ।

यस अवस्थामा सवल र समुन्नत समाज निमाणका लागि आधाभन्दा बढी सङ्ख्यामा रहेका महिलाहरूको समग्र पक्षमा सुधार गर्नु अहिलेको मुख्य कार्यभार हो । घरेलु हिंसा र गरिबीले पीडित धेरै नेपाली महिला वैदेशिक रोजगारीमा लाग्न बाध्य छन् । परिवार र आफ्नो भविष्यलाई आर्थिक टेवा पु¥याउन मात्र होइन, घरेलु हिंसाबाट मुक्त हुन, लैङ्गिक, सांस्कृतिक, सामाजिक शोषण र पुरातनवादी मूल्य, मान्यताबाट छुटकारा पाउनका लागि पनि नेपाली महिलाहरू अस्थायी कामदारको रूपमा बिदेशिने क्रम बढ्दो छ । यसरी विदेशिने महिलाहरू सुरुदेखि अन्त्यसम्मै हिंसामा पर्ने गरेका छन । स्वदेशमै दलालले अनावश्यक कमिसन खोज्छन् ।

कतिपय अवस्थामा आफ्नै परिवारका मान्यजनले विदेश पठाउन दबाव सिर्जना गर्छन् । हिंसा विमानस्थलमै हुन्छ । सेल्टर होममा भेडा–बाख्रा जस्तो गरी घरमालिकको पखाइमा धेरै सङ्ख्यामा लामो समय कुराउँछन । तोके जति तलब नदिएर ज्यालाको शोषण हुन्छ । बिमारी पर्दा राम्रो उपचार हुन्न । यौनजन्य हिंसाको सिकार भएका छन् । गरिबी र बेरोजगारी वर्तमान नेपालको जुम्ल्याहा समस्या हुन् । यी समस्यासँग जुध्नका लागि नेपालीहरू विदेशिने क्रम जारी छ । वैदेशिक रोजगार बिभागको अभिलेख अनुसार हालसम्म नेपालबाट श्रम स्वीकृत लिएर विदेशिनेको सङ्ख्या २५ लाख नाघिसकेको छ ।

यसमा महिलाहरूको सङ्ख्या पनि उल्लेखनीय छ । आ.व २०६८÷६९ को तथ्याङ्क अनुसार विदेशिने ३,८४,६६५ मध्ये २२,९५८ महिला थिए । हालैको नेपाल जीवन स्तर सर्वेक्षण अनुसार करिब ५५.८ प्रतिशत घरधुरीले बिप्रेषण आय भित्राउने गर्छन् । जस अनुसार नेपालको कुल गार्हस्थ उत्पादनमा बिप्रेषणको योगदानको आधारमा विश्वभरिमा पाँचौँ स्थानमा नेपाल परेको छ । हाल दैनिक सरदर १,००० भन्दा बढी नेपालीहरू रोजगारीका खातिर मुलुक बाहिर निस्कन्छन् । प्रति वर्ष नेपाली युवाहरू वैदेशिक श्रम बजारमा चार लाखको हाराहारीमा आउने गरेको पाइन्छ । स्वदेशमा रोजगारीको अवसर सिर्जना नहुञ्जेल बैदेशिक रोजगारमा लाग्नेहरूको शृङ्खला रोकिने छैन । अन्तरिम संविधान २०६३ ले रोजगारको अधिकारलाई मौलिक अधिकारको रूपमा राखेको छ । सरकारले आर्थिक विकास र समृद्धिको तत्कालीन कार्ययोजना २०६८ र सुशासन कार्ययोजना २०६८ मा पनि रोजगार बृद्धिमा जोड दिएको छ ।

सरकारको यस तत्परतालाई व्यावहारिक बनाउन संवेदनशील क्षेत्रमा रोजगारका बिशेष प्याकेज कार्यक्रम लागु गनु पर्ने देखिन्छ† जसले गर्दा हिंसाबाट मुक्ति पाउन विदेश ताक्ने प्रवृत्तिबाट महिलालाई निरुत्साहित गर्न सकियोस् । महिलाहरूलाई कानुनी उल्झनबाट मुक्त गरी आर्थिक सशक्तीकरणका कार्यक्रमद्वारा आत्मनिर्भर बनाउन विदेश पलायन हुनबाट रोक्नु पर्दछ । विदेशमा कामको प्रकृति र बसाइँका हिसाबले विशेषतः खाडी मुलुकमा घरेलु कामदारका रूपमा जाने महिलाहरू बढी शोषण र हिंसामा पर्ने गरेका छन् । त्यति मात्र नभई स्वदेशमा फर्किएपछि पनि सामाजिक लाञ्छना, श्रीमान–श्रीमतीबीच वैमनस्यता जस्ता समस्याले थप हिंसा भित्रिएको छ†

जसको परिणामस्वरू एक पटक बैदेशिक रोजगारमा गएकामध्ये धेरै महिलाहरू पुनः विदेश फर्कने गरेको तथ्याङ्क छ । छोरा, बुहारी, छोरीहरू बिदेशिँदा केटाकेटीको हेरचाहमा बृद्घ माता, पिता, सासु–ससुरालाई थप बोझ भइरहेको छ । यसले गर्दा पारिवारिक बिखन्डन, चर्को ब्याज दरको ऋणभार, आश्रित परिवारजन कुलतमा फस्ने जस्ता सामाजिक समस्या पनि देखिन थालेका छन् ।

अतः बैदेशिक रोजगारीका कारण कमजोर हँुदै गएको मूल्य–मान्यतालाई बेलैमा पहिचान गरी सुधार्नु र महिलामाथि हुने गरेका हिंसा रोक्नका लागि सरकारी र अन्य सम्बन्धित निकायहरूले ध्यान दिनु जरुरी भएको छ ।

(लेखक बैदेशिक रोजगारको क्रममा इजराइलमा छन्)
गैडाकोट,४,नवलपरासी
हाल:इजरायल