खाद्यान्न तथा न्यानो कपडा वितरणमा बागलुङ समाज पोखराका महिलाहरु सक्रिय


पोखरा/

विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका बागलुङ समाज पोखराका महिलाद्धारा दमौलीका विभिन्न स्थानका लक्षित वर्गलाई खाद्यान्न तथा न्यानो कपडा वितरण गरीएको छ । ‘आफुले जे सक्छौ, त्यही गरौ अरुको भर नपरौ, वस्ती वस्तीमा न्यानो माया बाडौं ’ भन्ने उद्घोषका साथ संचालीत अभियान अन्तर्गत शनिबार दमौलीको व्यास नगरपालिका वडा नं १० मा स्थानीय निडाको संयोजनमा उपस्थित भएका गरिब तथा असहाय बालबालिका, वृद्धवृद्धाहरुलाइ खाद्यान्न तथा न्यानो कपडा हस्तान्तरण गरीएको हो ।

बागलुङ समाज पोखरा महिला समूहका अध्यक्ष ज्योति शेरचनले मानवीय सेवानै धर्म भएकाले यस अभियानलाई जारी राख्ने बताइन् । त्यसैगरी सो न्यानो कपडा तथा खाद्यान्न संकलनका संयोजक वर्ण किरण वन्तले सानो तिनो सहयोगले लक्षितवर्गकालागि ठूलो राहत हुने भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताइन् । बागलुङ समाज पोखरा उपाध्यक्ष शान्ता गीरिले समाजसेवा धनबाट नभई मनबाट हुने बताइन् । निडा तनहुँकी संयोजक सोमाया गुरुङले कास्की देखि तनहुँसम्म आएर सहयोग गरेकोमा समाजका महिलालाई धन्यवाद दिदै यस्ता सामाजिक कार्यमा सधै सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरीन् ।

त्यसैगरी संचारीका समुह पश्चिमाञ्चका उपाध्यक्ष एवं पत्रकार जमुना वर्षा शर्माले यस्ता कार्यले वस्ती वस्तीमा न्यानो कपडा सँगै न्यानो माया पनि बाडिने बताइन् । गरिबीले कष्टकर जीवन व्यतित गरेकाहरुप्रति सरकारले ध्यान पुर्याउनु पर्ने उनको भनाई थियो । कार्यक्रमा रिसेट तनहुँका अध्यक्ष मदन पौडेल,सामुदायिक प्रहरी सेवा केन्द्रका सावित्रि रिजाल वरभञ्यागं दमौली सम्पर्क समाजका अध्यक्ष राज कुमार श्रेष्ठ, सिन्धु प्रा.विका प्र.अ ,लगायतले समाजमा अझै पनि एकसरो लुगामा जाडो फाल्न बाध्य वर्गलाई लक्षित गरी थालिएको अभियानले थोरै भए पनि राहत पुग्ने विश्वास व्यक्त गरे ।