नयाँ वडाका बासिन्दा असन्तुष्ट, पोखराको बजेट ७० करोड


– भरत कोइराला

पोखरा/ पोखरा उपमहानगरपालिकामा हालै गाभिएका १० वटा वडाका बासिन्दाले नगरको बजेट सहरकेन्द्रित भएको भन्दै असन्तुष्टि पोखेका छन् । उपमहानगरले सोमबार पोखरामा गरेको एकीकृत योजना तर्जुमा गोष्ठीमा सहभागी स्थानीइ प्रस्तावित बजेट पुरानै सहर केन्द्रित भएकाले नयाँ वडाको भौतिक विकासमा जोड दिन आग्रह गरे ।

तत्कालीन हेम्जा गाविसका बासिन्दा नीलकण्ठ पौडेलले पछि गाभिएका वडाहरुमा केही वर्षको विकास बजेट केन्द्रित गरेर लैजानुपर्ने सुझाव दिए । पहिले नै रहेको नगर क्षेत्रमा विकासका पूर्वाधार बनिसकेकोले अब ग्रामीण भेगलाई त्यो अवस्थामा पु¥याउन ध्यान दिन उनले आग्रह गरे । सराङकोटका मिनबहादुर भुजेलले नयाँ गाभिएका क्षेत्रका बासिन्दाले उपमहानगरबाट ठूलो आशा लिएको र त्यसलाई बेलैमा सम्बोधन नगरे समस्या उब्जने बताए । नागरिकबाट कर मात्र थप्ने तर विकासमा ध्यान नदिए असन्तुष्टी थपिने उनको भनाइ थियो । कार्यक्रममा सहभागीहरुले भूगोल र जनसंख्याको आधारमा बजेट बिनियोजन गरी पूर्वाधारमा जोड दिन आग्रह गरे ।

प्रमुख कार्यकारी अधिकृत महेश बरालले कार्यालयले सबै नगर क्षेत्रलाई समानरुपले हेर्ने भन्दै अहिले नयाँ थपिएका सबै वडाहरुमा प्रति वडा ७० लाख रुपैयाँको हाराहारीमा बजेट विनियोजन गरिने बताए । अहिले थप भएका वडाहरुमा खानेपानी र सडक मुख्य समस्या भएकाले पहिला त्यसैमा ध्यान केन्द्रित गरिने उनको भनाई थियो । यसैगरी पोखरा उपमहानगरले आगामि आवका लागि झण्डै ७० करोडको बजेट प्रस्तावित गरेको छ । पुस २५ गते नगर परिषदबाट उक्त बजेट पारित गरिने छ । उपमहानगरका कर अधिकृत शिवहरी शर्माका अनुसार, ६९ करोढ ८० लाख ५० हजार रुपैयाँको बजेट प्रस्तावित गरिएको बताए ।

चालु आवका लागि ५६ करोड ७७ लाख रुपैयाँको बजेट पारित गरिएको थियो । आगामिव वर्षको लागि प्रस्ताव गरिएको बजेटमध्ये आन्तरिक आय ३७ करोड ६० लाख रुपैयाँ र वाह्य आय ३२ लाख २० रुपैयाँ हुने अनुमान उनले गरे । प्रस्तावित कुल बजेटमध्ये ३८ करोड १९ लाख रुपैयाँ पूर्वाधार विकासतर्फ छु्ट्याइएको छ । पोखराबा विभिन्न क्षेत्रमा सडक बत्ती विस्तार, फेवाताल संरक्षण, भूउपयोग नीति निर्माण, आकाशे पुलको सम्भाब्यता अध्ययनलगायत अन्य नगरस्तरीय योजनाहरुको लागि उक्त रकम खर्च गरिने बरिष्ठ ईन्जिनियर शारदामोहन काफ्लेले बताए । पोखरा उपमहानगरको सडक आकस्मिक निर्माणका लागि दुई करोड रुपैयाँ विनियोजना गरिएको समेत उनले जानकारी दिए । सो अवसरमा विभिन्न विषयगत समितिका तर्फबाट बजेट प्रस्तुत गर्नुका साथै नगरवासीमा आफ्ना भनाई समेत राखेका थिए ।

साविकको १८ वडा रहेको पोखरा उप–महानगरपालिका हाल २८ वडामा विस्तारित भएको छ । बिस्तारित पोखराको क्षेत्रफल दुई सय २५ दशमलव ६९ वर्ग कीमी.पुगेको छ भने विस्तारित पोखराको जनसंख्या तीन लाख १३ हजार आठ सय ४१ पुगेको छ । जस अनुसार ८२ हजार २ सय ७६ घरधुरी संख्या तथा १ लाख ५२ हजार ६ सय ५१ पुरुष एवम् एक लाख ६१ हजार एक सय ९० महिला छन् ।