स्पेनमा दुताबास बारे प्रधानमन्त्री र परराष्ट्र समक्ष कुरा राख्छु – एमाले उपाध्यक्ष रावल


– बसन्त रानाभाट
बार्सिलोना/
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वगृहमन्त्री भीम रावलले स्पेनमा राजदुताबास स्थापनाको लागि प्रधानमन्त्री र परराष्ट्र मन्त्री समक्ष कुरा राख्ने प्रतिबद्दता ब्यक्त गरेका छन्।
एनआरएनए स्पेनले आयोजना गरेको चियापान कार्यक्रममा दुताबासको माग जायज रहेको भन्दै रावलले छलफल गर्ने बचन दिएका हुन्।

रावलले स्पेनमा दूतावास स्थापनाको माग लुँडो खेलेजस्तै भएको टिप्पणी गरेका छन् । उनले दूतावास स्थापनाका लागि पटक पटक पहल गरिएको भए पनि सुनुवाइ नभएको बताए ।
‘दूतावास स्थापनाका लागि यसअघि पनि कुरा राखेको थिए’, रावलले भने, ‘तर यो लुडो खेले जस्तै हो, खेल्यो–खेल्यो माथि गएपछि साँपको मुखमा पर्यो भने एकैचोटी पुछारमा पुग्ने यो नै हाम्रो पीडादायिक अवस्था हो।’

उनले सरकार परिवर्तन भईरहदा कार्यान्वयन गर्न कठिन हुने तर्फ संकेत गरे । नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउन लागेको स्वागतयोग्य भएको बताउँदै रावलले यस्ता अभियानले निर्णय गर्न मद्दत पुग्ने आशा ब्यक्त गरे ।

राजनीतिक अधिकार दिन सकिदैन

रावलले दोहोरो नागरिकताबारेको प्रसंगमा प्रवासमा रहेका नेपालीहरुलाई राजनीतिक अधिकार दिने पक्षमा आफू नरहेको बताए।

‘कसैले नारा लगाए पनि, कालो झण्डा देखाए पनि राजनीतिक अधिकार दिन सकिदैन’, रावलले भने, “कोही मान्छे २० वर्ष अमेरिकाको ह्वाइट हाउस वा स्टेट डिपार्टमेन्टमा काम गरेर तुरुन्त नेपालमा पुगेर प्रधानमन्त्री बन्न मिल्छ कि मिल्दैन ? त्यो तपाईँहरु नै सोच्नुहोस्।

फ्रान्समा २० बर्ष काम गरेको मान्छे नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सदस्य बन्न सक्ने कि नसक्ने ? तर म भन्छु– सक्दैन ।’

सुरक्षाका दृष्टिकोण जस्ता संबेदनशील कारणले राजनीतिक अधिकार दिन समस्या रहेको नेता रावलले बताए। उनले यस बिषयमा एनआरएनहरुसँग पनि लामो छलफल गरेको उल्लेख गरे ।

रावलले प्रवासी नेपालीहरुको राजनीतिक अधिकार तथा मताधिकारको प्रमुख समस्या नै भारतमा रहेका ६० लाख भन्दा बढी नेपालीहरु नै रहेको जिकिर गरे। दुई देशबीच लडाई भए उनीहरु कताबाट लड्ने ?– रावलले प्रश्न गरे ।

IMG_0164

हस्ताक्षर संकलन अभियान जारी

स्पेनस्थित बिभिन्न संघ-सस्थाहरुको सहयोगमा एनआरएनए स्पेनले दूतावास स्थापनाको माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाउन लागेको हो। संघको नै पहलमा दबाबका लागि स्पेनका बिभिन्न ठाउँहरुमा नेपालीहरुबाट हस्ताक्षर संकलन अभियान जारी राखेका छन्।

संघका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएनए आईसीसी सल्लाहकार पुष्पराज तिमिल्सिना, आईसीसी सदस्य दीपक खरेललगायत स्पेनस्थित बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुले धारणा राखेका थिए। शनिबार युरोप आएका उपाध्यक्ष रावल दुइ दिने बसाईपछि सोमबार नै नेपाल फर्किएका छन्।