संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदमा छलफल


काठमाडौँ/ संविधानसभाको आजको बैठकमा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले संविधानसभामा बुझाएको चौथो प्रतिवेदनमाथि छलफल जारी छ ।

समितिका सभापति डा बाबुराम भट्टराईले गत मङ्सिर २४ गते प्रस्तुत गर्नुभएको समितिको सो प्रतिवेदनमा २९ गतेदेखि लगातार छलफल भइरहेको हो ।

आज नौ दिनसम्म भएको छलफलमा पनि सभासद्बाट निर्धारित समयमै संविधान जारी गर्नका लागि दलीय अडानभन्दा माथि उठेर ठोस पहल र सुझाव भने प्रस्तुत भएको पाइएन ।

छलफलमा नेपाली काँग्रेस र नेकपा (एमाले)लगायतका दलले सहमति भए सहमतिबमोजिम र सहमति नभए प्रक्रियामा गएर पनि संविधान बनाउन जोड दिँदै आएका छन् भने प्रतिपक्षी एनेकपा (माओवादी)लगायतका दलले सहमति नगरी प्रक्रियामा गएर संविधान जारी गर्न नहुनेमा जोड दिँदै प्रक्रियामा गए आफूहरुले स्वीकार नगर्ने बताउँदै आएका छन् ।

नेपाली काँग्रेसका तारामान गुरुङले माघ ८ मै संविधान ल्याउन हामी किन अन्कनाएका छौँ भन्दै बाटोमा गाउँघरमा जाँदा पनि जनताले संविधान कहिले आउँछ भनेर सोध्ने गरेका छन् भन्नुभयो ।

नेकपा (एमाले)का श्रीमाया थकालीले नेताहरुले हिजो गरेको प्रतिबद्धता कार्यान्वयन गर्न र एकअर्काबीचको वाकयुद्धलाई अब जनताले नमान्ने हुँदा नेपाली काँग्रेस र एमालेले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल गरेर निष्कर्ष निकाल्न सकिने भएकाले दलका नेताहरूलाई एक ठाउँमा बसेर छलफल गर्न सुझाव दिनुभयो ।

नेकपा (एमाओवादी)का सन्तकुमार दरैले सहमतिबाटै संविधान बन्नुपर्ने प्रमुख आधार भएकाले विवादित विषयमा संवाद सहमतिमा लगेर सुल्झाउनुपर्ने र संविधान जारी गर्ने समयसीमा सरकारले मिलाउनुपर्ने सुझवा दिँदै प्रक्रियामा जानुभन्दा सहमतिबाटै संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय जनमुक्ति पार्टीका सीमाकुमारी विकले विवादित विषयमा संवाद समितिमै पठाएर सहमति गराउनुपर्नेमा जोड दिँदै दुईतिहाई बहुमतले संविधान जारी गर्न खोजे परिणाम राम्रो नहुने बताउनुभयो ।

नेपाली काँग्रेसका सुवर्ण ज्वारचनले अब पनि छलफल गर्नुभन्दा माघ ८ मै संविधान जारी गर्न जोड दिँदै संविधानमा उल्लेख भएबमोजिम प्रक्रियामा गएर पनि संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो ।

अर्का सभासद् गणेशप्रसाद विमलीले नेकपा (एमाओवादी)लाई संविधान नचाहिएकाले नै यस्तो बखेडा निकालेर भाँड्ने गरेको अरोप लगाउनुभयो । रासस