नेपाली विद्यार्थी अपहरणमा संलग्न अभियुक्त पक्राउ


काठमाडौँ/- थाइल्याण्डको बैंककमा तीन जना नेपाली विद्यार्थीको अपहरणमा सङ्लग्न व्यक्तिसँग सम्पर्कमा रहेका एक नेपालीलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

बैंककमा पाकिस्तानी नागरिकले सञ्चालन गरेको रेस्टुरेण्टका कामदारले पुस ४ गते एजम्सन विश्वविद्यालयमा अध्ययनरत विद्याथीहरु रोनेश श्रेष्ठ, कर्ण हाचेथु र विभुष रिजाललाई राति ११ बजे अपहरण गरेका थिए ।

अपहरणपछि माग गरिएको फिरौतीवापतको रकम बुझिलिने जिम्मा लिएका सर्लाही छतौनका ३० वर्षीय सुजन यादव भनी चिनिने श्रीचन रायलाई थप अनुसन्धानका लागि ब्यूरोले काठमाडौँबाट पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

अपहरणपश्चात अर्को दिन पुस ५ गते बिहान १० बजे अपहरणकारीले नेपालमा विद्यार्थीका अभिभावकलाई टेलिफोन गरी रु एक करोड फिरौती मागेपछि आफूहरुले अनुसन्धान सुरु गरेको व्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक हेमन्त मल्लले जानकारी दिनुभयो ।

अनुसन्धानको क्रममै व्युरोका प्रहरी उपरीक्षक पीताम्बर अधिकारी पुस ६ गते बैंकक गई त्यहाँको प्रहरीसँगको समन्वयमा अनुसन्धान सुरु गर्नु भएको थियो ।

व्युरोले दिएको सूचनाको आधारमा समन्वय गर्दै उपरीक्षक अधिकारीसहितको संयुक्त अनुसन्धान टोलीले अपहरणमा परेका विद्यार्थीलाई पुस ८ गते अपहरणमुक्त गराउन सफल भएको व्युरो प्रमुख मल्लले बताउनुभयो ।

अपहरणमा भारतीय, पाकिस्तानी, थाइल्याण्डका नागरिकसहित आठ जनाको संलग्नता रहेको अहिलेसम्मको अनुसन्धानबाट खुलेको र तीमध्ये तीन जना पक्राउ परेपनि अन्य फरार रहेको व्युरोले जनाएको छ ।