सरकारी कार्यालयमा बिहानी सेवा प्रभावहिन, पुनरावलोकन गर्न कर्मचारीको माग


– भरत कोइराला
अत्यधिक चाप हुने सरकारी कार्यालयमा बिहान ६ बजेबाट काम सुरु भए पनि सेवाग्राही नआउँदा प्रभावहीन बनेको छ । साँझ छ बजेसम्म सेवाग्राही आउने गरेको भए पनि बिहान भने कर्मचारी आएर कुर्नुवाहेक काम हुन नसकेको कर्मचारीहरुले बताएका छन् । जिल्ला मालपोत कार्यालयमा एक साताको अवधिमा बिहान ६३ वटा लिखत पास भए भने १० लाख राजश्व संकलन भएको छ । जुन दिउँसो समयमा एकै दिन हुने काम हो । नापीबाट १० वटा कित्ता काट भएको छ ।
बिहानी सेवा सुरु भएदेखि नै चीसो बढेको र बिहान अध्याँरो भएकोले सेवाग्राही अत्यन्त कम आएको प्रमुख मालपोत अधिकृत दीर्घनारायण शर्माले बताए । उनले भने, कुनै तयारी बिना नै कर्मचारीको व्यवस्थापन नगरी थालिएको काम बिहानमा प्रभावकारी हुन सकेको छैन । एक साता वित्दासमेत कर्मचारीले कसरी काम गर्ने हो र लोडसेडिङको समयमा कसरी काम गर्ने भन्नेसम्मको समेत निर्देशन नआउँदा उनीहरु अलमलमा परेका छन् । केही समयको लागि बिजुलीको ब्याकअप भए पनि वैकल्पिक व्यवस्था नभएकाले कसरी काम गर्ने भन्ने अन्यौल सिर्जना भएको मालपोत अधिकृत केशव भट्टराई बताउँछन् ।

उनले भने, सेवाग्राहीको पक्षबाट राज्यले ल्याएको अवधारणा ठिक हो, तर त्यही अनुसारको तयारी नगरेकाले हामी अलमलमा पर्नु परेको हो । चीसो समयमा कर्मचारीलाई कार्यालमा बस्न समेत असजिलो हुने अवस्थामा सेवाग्राहीलाई राख्ने प्रतिक्षालय समेत सरकारी कार्यालयमा पर्याप्त छैनन । आफ्नो सवारी साधन नहुने कर्मचारी निकै समस्यामा परेका छन् । यातायात व्यवस्था कार्यालय गण्डकी(सवारी) प्रमुख भरत पौडेल अलि टाढा बसेका कर्मचारीलाई बिहानै अफिस पुग्न निकै समस्या भएको बताए । उनले भने, नजिक बस्नेलाई त ठिकै हो, टाढाबाट आउनलाई बिहानै सार्वजनिक सवारी चल्दैनन, यो पनि समस्या बनेको छ । यातायातमा बिहान भन्दा बेलुकाको सेवा प्रभावकारी भएको उनले बताए ।

अर्को व्यवस्था नहुँदा सम्म यही जनशक्तिले काम चलाउनु भन्ने निर्देशन अनुसार कास्कीका तीनवटा कार्यालय मालपोत, नापी र यातायात व्यवस्था कार्यालयमा पहिलो दिन काम भएको छ । तर खाना र खाजा खाने समय समेत नतोकिएका कारण यसरी कति दिनसम्म काम गर्न सकिन्ने भन्नेमा कर्मचारी पुगेका छन् । मालपोत अधिकृत भट्टराईका अनुसार बिहान झिसमिसेमै अफिस आएर १२ घण्टा काममा खटिंदा कर्मचारीले कस्तो सुविधा पाउने हुन भन्नेसम्म पनि सरकारले प्रस्ट पारेको छैन । अहिले त आफ्नै खल्तीको पैसाले भात खाइयो, माथिबाट कुनै अख्तियारी आएको छैन, भट्टराईले भने । विभागबाट दुई सिफ्टका काम गर्नु भन्ने निर्देशन आए पनि परीक्षण भएकाले सबै कर्मचारी बिहानै आएको उनले जनाए ।

दिन छोटा हुने र चीसो पनि हुने भएकाले सरकारले कात्तिक १५ बाट माघ १५ गतेसम्म कार्यालय समय १० देखि ४ बजेसम्मलाई तोके पनि अहिले आएर १२ घण्टे नियमले कर्मचारी मात्र सेवाग्राही समेत समस्यामा पर्ने कर्मचारीहको दाबी छ । यातायात व्यवस्था कार्यालय गण्डकी(सवारी) प्रमुख भरत पौडेल शुक्रबारको बारेमा समेत परिपत्रमा केही उल्लेख नगरिएको बताउँछन् । कतिपय कार्यालयहरुमा राजश्व बुझाउन बैंकसँग सहकार्य गरिएकोले ती कार्यालयसँगै बैंक पनि खुल्नुपर्ने हुन्छ ।

पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दीनशेकुमार थपलिया सरकारले नागरिकको सुविधाका लागि यो अवधारणा ल्याएकोले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताउँछन् । सुरुमा केही समस्या देखिए पनि बिस्तारै हट्दै जाने उनको भनाइ छ । कामको चाप हेरी अन्तबाट कर्मचारी काजमा ल्याएर काम चलाइने उनले बताए । ऊर्जाको समस्या देशव्यापी भएकाले सरकारी कार्यालयहरुमा सोलार प्रणाली जडान गर्दै जाने योजना पनि उनले सुनाए । प्रमुख जिल्ला अधिकारी अहिले जाडोको समय भएकाले बिहानमा सेवाग्राही नआएको र लोडसेडिङको समस्या पनि बढेकाले यो बिस्तारै प्रभावकारी बन्दै जाने बताए ।