स्पेनमा जेल जीबन बिताईरहेका ३२ बर्षिय प्रताप सिंह बुढाको रहस्यमय जीबन कहानी


– बसन्त रानाभाट
बार्सिलोना
युवतीलाई दुर्ब्यवार एबम महिला हिँसाको अभियोगमा रुकुम घर भएका ३२ बर्षका प्रताप सिंह बुढाले ३३ महिनाको जेल सजाय भोग्नु पर्ने भएको छ। हाल स्पेनको सारगोसामा जेल सजाय भोगिरहेका बुढाले अहिले सम्म १३ महिनाको लामो बन्दी जीवन बिताईसकेका छन्। उनलाई दुर्ब्यवार तथा महिला हिँसाको अभियोगमा १८ महिना र १५ महिनाका गरी दुई छुट्टा छुट्टै सजाय सुनाइएको थियो। यस अघि उनले नोभेम्बर २०१३ देखि १९ जुन २०१४ सम्म स्पेनकै अर्को शहर भ्यालेन्सियामा बन्दी जीवन गुजारीसकेका छन्। अर्को ठाउमा सारीए पछि त्यस पछिका दिनहरु सारागोसामा बिताईरहेका बुढालाई भेट गरि फर्केका एनआरएनए स्पेनका अध्यक्ष एकराज गिरीले जानकारी दिए ।
१३ बर्ष अगाडि १९ बर्षको कलिलो उमेरमा नै उनि युरोप छिरेका थिए। बेल्जियममा बस्दै आएका बुढा सन् २००७ मा स्पेन आएर पेपर(रेसिडेन्सी) बनाउन पनि सफल बनेका थिए।
स्पेनको भ्यालेन्सियामा बस्दै आएर दुर्ब्यवार एबम महिला हिँसाको अभियोग लागेका बुढाको घटना प्रकृति अलि फरक ढङ्गको रहेको छ। उनको बसाई र युवती सँगको सम्बन्ध नेपाली समाजमा बिरलै पाईन्छ। युवतीको परिचय सार्बजनिक नगरीए पनि उनि नेपाली मुलकी स्पेनिस नागरिक भएको खुल्नमा आएको छ। ४३ बर्ष उमेर कि युवती उनि २५ बर्ष अघि स्पेन आएकी थिईन्। समस्यालाई सुल्झाउने प्रयास स्वरूप युवतीको परिचय सार्बजनिक नगरिएको गिरीले बताए।

एनआरएनए स्पेनका अध्यक्ष गिरीलाई बुढाले बताएको आफ्नो जीबन कहानी

मेरो नाम प्रतापसिंह बुढा घर रुकुम, सन् २००१ तिर बेल्जियम आएको हुँ, तर पेपर (रेसिडेन्सी ) बनाउन सजिलो हुने हुदा म स्पेन आएँ। सन् २००७ मा नै म स्पेन आएको त्यस पछि मैले पेपर पनि बनाएँ। समयको क्रमसँगै म नेपाली मुलकी एक युवतीसँग नजिक भएँ । उनी बिबाहित थिइन् । उनका एक छोरा पनि छन्, जो अहिले २१ बर्षका भए। उनले स्पेनिस नागरिकसँग बिबाह गरेकी थिइन्।

हामी सबै एउटै घरमा सँगै थियौं। उनका श्रीमानसँग पनि मेरो राम्रो सम्बन्ध नै थियो । हामी नजिकिँदै गएपछि सम्बन्ध प्रगाढ बन्दै गयो र उनी सँगैको सम्बन्धबाट मेरा दुई छोरीहरु भए। यो सबै उनका श्रीमानलाई पनि थाहा छ ।
अहिले मेरी ठूली छोरी ६ बर्षकी र कान्छी ४ बर्षकी छन्। युवतीले मलाई अति नै माया गर्थिन् र मैले पनि।

हामी ५ बर्षसम्म (सन् २००७ देखि सन् २०१२ सम्म) सबैजना सँगै बस्यौं। मेरा २ छोरीहरु भए पनि उनीहरुको जन्म दर्ता गर्दा बाबुको नाम उल्लेख गर्दा मेरो नभई स्पेनिस श्रीमानकै नाम छ। तर, म चाहन्थें ती मेरा छोरीहरु भनेर बैधानिक रुपमा मैले नै भन्न पाउँ। तर, उनीहरु पछि हुन्छ नि भन्थे । यसै कुराले गर्दा म घर छोड्न चाहन्थें । तर, केटीले मलाई जाने हैन, सँगै बस्ने भन्थिन् र जान दिन्थिनन्।

एक दिन हाम्रो यसै बिषयमा झगडा भयो । म लगेज लिएर बाहिर निस्कन लागेको थिएँ । तर, उनी रोक्न चाहन्थिन् । हाम्रो धकेला धकेलजस्तै भयो। तर, यो झगडाको भिडियो स्पेनिसपट्टिका छोरा (२१ बर्षका) ले खिचेछन्। र, यसैलाई आधार बनाएर प्रहरीमा रिपोर्ट गरियो र केस अदालतसम्म पुग्यो।

यति छिटो सुनुवाइ भयो कि १५ दिनमा नै मलाई जेल सजायँ सुनाइयो। दुर्ब्यवहार एवम् महिला हिँसाको अभियोगमा २ वटा सजायँ भनियो । एउटा १८ महिना र अर्को १५ महिनाको गरी ३३ महिनाको जेल सजायँ।

अदालतमा जेल भन्नेबित्तिकै मलाई अन्धकारजस्तो लाग्यो। आफैंले आफैंलाई बिश्वास गर्न सकिँन। मलाई भ्यालेन्सियामा नोभेम्बर २०१३ देखि १९ जुन २०१४ सम्म थुनियो।
सुरूको ४-५ महिना गुजार्दा त म पागलजस्तै भएँ। मलाई भेट्न कोही पनि आएनन्। भेट्न कोही नआएर पनि होला, मलाई सारागोसा ट्रान्सफर गरियो। यहाँ सुन्नमा आए अनुसार आफन्तहरु भेट्न नआएपछि यताको कारागारमा सारिन्छ रे।

मलाई जर्मनी एक सोसल वर्कर डागमारसँग भेट गराइयो। उनी मार्फत नै मेरो नेपाली कन्सुलरसँग सम्पर्क भयो । एनआरएनए अध्यक्ष भेट्न आउँदा मलाई त आफ्नै बाबा-आमा आएर भेटेजस्तो भयो। म धेरै दिनपछि खुशी छु त सायद आज नै छु होला । १३ महिनाको जेल जीवनमा एउटा नेपाली भेट्न पाएँ।

हिजो बाबा आमाले त्यो केटीसँग नबस् आफ्नो सुर गर् भन्दा मानिँन। जन्म दिने बाबुआमाले दिएको सल्लाह अमूल्य हुने रहेछ। आज आएर पछुतो लागेको छ । धेरै दु:ख पाइयो । मरेर जिएजस्तो लागिरहेको छ। तर, मेरो अब चिन्ता लिनुपर्ने अवस्था त केही छैन। घर परिवार आफन्त सबैलाई राम्रै छ, ठीक छ भन्ने सन्देश दिनु । खानालाई त ठिकै छ । बरु अहिले लत्ता कपडा र जुत्ता चप्पल छैन । मिल्यो भने ब्यवस्था गरिदिनु होला । सकिन्छ भने त छुटाउने पहल गरिदिनू । यदि सकिँदैन भने पनि कोही भेट्न आए पनि मन खुशी हुने रहेछ। एक्लो अनुभब भईरहेकोबेला कोहि आई दिए हुन्थ्यो नि भने जस्तो हुने रहेछ। मिल्छ भने भेट्न आई राख्नु न है।

अहिले उनै डाकमार (जर्मनी सोसल वर्कर) भेट्न आउँछिन् । हप्ताको एक दिन भेटेर जान्छिन् । भेटेको दिन सारै आनन्द लाग्छ । झन् नेपालीसँग भेट्दा त मलाई एकदमै खुशी लागेको छ।

मेरो पुरानो वकील त लिस्टबाट हटिसकेको रहेछ। अब वकील खोजेर केही हुन्छ भने गरिदिनुहोला । अदालतमा बुझाएको भिडियो वकील मार्फत हेर्नुभयो भने पनि सामान्य नै छ। मेरा दुई छुट्टाछुट्टै सजायँहरु २ बर्ष भन्दा कमका थिए । राम्रो वकील परेको भए आफ्नो मान्छे वा आफन्तहरुले सहयोग गरिदिएको भए मेरो सजायँ नि:शुल्क श्रमदान वा जरिवना (पैसा) पनि हुन सक्ने थियो । तर, भएन । तर जे हुनु भयो, अब मिल्छ भने एकपटक कोसिस गरिदिनु होला।

अब १३ महिना त काटिसकें, बाँकी समय गुजारेर बाहिर आए पनि नयाँ जिन्दगी शुरु गर्ने छु । पुरानो कुराहरुमा जान्न होला । तर, छोरीहरुको धेरै याद आउँछ । माया पनि लाग्छ।
अब त केही चेत पनि पाउनुपर्यो नि । म बाहिर आएर केही त गर्छु । पुरानो कुरामा अल्झिन्न। पैसा कमाउन अनि आफू सेटल हुनेतर्फ ध्यान दिनेछु।

मेरो एउटा मात्र अनुरोध सुनाइदिनु होला, युरोपमा झुक्किएर पनि आफ्नै श्रीमती होस्, प्रेमिका होस् वा अरु जो कोही भए पनि केटी मान्छेलाई सँधै राम्रो व्यवहार गर्नुहोला।

 रिहाईको लागि एनआरएनए स्पेनले अब कस्तो पहल गर्ला ?

कारागारमा रहेका बुढासँगको भेट पछि एनआरएनए स्पेनका अध्यक्ष एकराज गिरीले वकिल सँग परामर्श लिने बताएका छन्। उनीलाई भेटे पछि मलाई साह्रै भाबुक बनायो गिरीले भने,हामीले कानुनी प्रकियाको लागि एक पटक वकिल सँग परामर्श लिन्छौ।

उनले भने अनुसार नै लत्ताकपडा ,जुत्ता चप्पल लिएर फेरि भेट्न जाने पनि गिरीले बताए।अर्को तर्फ मैले उनको परिबार र आफन्त सँग पनि कुरा गरिसकेको छु उनको बारेमा परिबारलाई सबै जानकारी गराएको छु। बिशेष गरि उनलाई उजुरी गर्ने महिलाका कुराहरु पनि हामीले सुन्नु पर्ने हुन्छ त्यसैले सम्पर्कको प्रयास गरिरहेका छौ। त्यसैले अहिले महिलाको बिबरण सार्बजनिक गर्न जरुरी छैन उनि पनि एक नेपाली नै हुन् उनको धारणा पनि सुनेर हामी समाधान गर्ने तर्फ कोशिस गर्ने छौ गिरीले भने। 

सारागोसामा नै बस्दै आएका नेपाली बाबुराम भट्टराईको सहयोगमा गिरीले बुढा सँग भेट गरेका थिए। आफ्नो परिचय पत्र सहित भेट गर्नको लागि अपिल गर्नु पर्ने रहेछ,कारागारमा रहेका बुढाले भेट्ने सहमति जनाएपछि केहि दिन पछि मात्र भेट्ने समय कारागारले उपलब्ध गराउने रहेछ गिरीले भने ।

भेट्न दिएको समय भन्दा १ घण्टा अगाबै त्यहा पुग्नु पर्ने बताउदै उनले भने पटकपटक एउटा औलाको फिङ्गर दिनु पर्ने रहेछ,फिङ्गर पछि हाम्रो परिचय तत्कालै खुल्ने र ढोका पनि खुल्ने सिस्टम रहेछ। पटक पटक ढोका खुल्दै बन्द हुदै गर्दा ३- ४ मिनेटको समय पछि मात्र बुढालाई राखेको कोठामा पुगेको उनले बताए।

बीचमा सिसा, एकातिर म अनि अर्को तर्फ उनि मलाई देखे पछि  खुशी पनि भए अनि भाबुक पनि। मेरो तर्फ लाउड स्पिकरको ब्यबस्था थियो तर उनले भने फोन रिसिभर लगाएर आफुलाई  हेर्दै कुरा गरेको गिरीले सम्झीए। उनले भने “बुढाले पटक पटक भेट गर्न चाहेकोले पनि म स्पेन स्थित संघ सस्थाका प्रतिनिधिहरुलाई अनुरोध गर्छु ,” बिदेशमा कैदी जीबन बिताइरहेका एक नेपालीलाई भेटेर बुझेर सान्त्वना दिनुहोस्।

हरेक हप्ता बुढालाई भेट गरिरहने जर्मनी नागरिक डाकमारले पनि उनको बारेमा जानकारी पठाई रहने हुदा अझ सजिलो भएको गिरीले बताए। भेट पछि बुढाको बारेमा फ्रान्स स्थित नेपाली राजदुताबासका कार्यबाहक राजदुत रामबाबु ढकाल र बार्सिलोना स्थित नेपाली कन्सुलर लुईस बिल्बिसलाई पनि जानकारी गराईसकेको गिरीले जानकारी दिए।