बिदेशमा न्वारन देखि बिबाह सम्म पुजापाठमा ब्यस्त शास्त्री टिकाराम


-बसन्त रानाभाट
बार्सिलोना /
दौरा सुरुवाल र ढाका टोपी ढल्काउदै हतार हतारमा पाईला लम्काईरहेको देख्दा अनि यकिन हुन्छ उनि शास्त्री टिकाराम कडेल नै हुन् । बार्सिलोनामा कसैको घरमा पुजा पाठ,न्वारन वा ग्रह शान्ति केहि त आज पक्कै छ भनेर सजिलै अनुमान उनको पहिरनबाट नै लगाउन सकिन्छ। बिगत चार बर्ष देखि स्पेनको बार्सिलोनामा बस्दै आएका शास्री कडेलले सबै समुदायको गरि एक दर्जन जति बिबाह,४० भन्दा बढी न्वारन,२५ जति सत्यनारायण पुजा लगायत शिब पुराण,दुर्गा पुजा,शुभ मुहुर्तहरु सम्पन्न गरेका छन्। हिन्दु धर्म प्रति आस्थावान नेपालीहरु मात्र हैन भारतीय र केहि बंगलादेशीहरुले पनि उनलाई बोलाएर पुजापाठ गर्ने गर्दछन्।

बिदेशमा रहेर पनि आफ्नो धर्म सस्कृतिलाई निरन्तरता दिन सकिन्छ कडेलले भने,जब कसैको घरमा गएर पुजापाठ गर्छु धेरै नै आनन्द आउछ। पुजा पछि जब भजन शुरु हुन्छ आफु सात समुन्द्र पार गरेर आए जस्तो लाग्दैन, नेपालमा नै भएको भान हुन्छ।” नेपाली समुदायको चाहना अनुसार बिधि पुर्बक पुजा आजा गर्नको लागि नै नेपालबाट कुश,गाईको गहुत,जनै,जौ,तिल लगायत पुजाका सबै सामाग्री जुटाउने गरेको कडेलले बताउछन् ।आफु बस्ने घरको कोठामा नै मन्दिर बनाएको छु यदी कसैलाई ठाउले अप्ठारो पार्छ भने पनि मैले घरमा नै बोलाउने गरेको छु उनले थपे। तर बिदेशमा बिधि पुर्बक पुजाआजा गर्न सामान नै हुदैन भन्नेहरु प्रति इंकित गर्दै कडेल भन्छन्, “सबै भन्दा ठुलो कुरा मन हो,मनले माने सबै कुरा यही नै छ।”

IMG_0535

भरतपुर नगरपालिका -८ गौरी गन्जा,पिपलचोकमा आज भन्दा ३७ बर्ष पहिले जन्मेका कडेलको धर्मकर्ममा लगाव सानैबाट थियो। गौरी गन्जा हुदै शरदपुर माबिमा कक्षा ८ हो अध्ययन गर्दा गर्दै उनलाई सस्कृतमा बढी रुचि लाग्यो। आफ्नो सानो बाबा खगराज रिजालको प्रेरेणाले उनि त्रिपुरेश्वर शिब मन्दिर सस्कृत बिद्यालयमा भर्ना भए र त्यहीबाट नै उनले यी सबै कुरा सिके। शास्त्री अध्ययनका लागि पछि उनि भारत गए। उनले सम्पूर्ण बिश्व बिद्यालय बनारसबाट सो अध्ययन पुरा गरे। नेपालमा छदा एक हजार आठ स्वामी ज्ञाननन्द सरस्वती,डियास आचार्य,किशोर कुमार गौतम,ज्योतिष खगराज रिजाल,देविलाल कडेल जस्ता गुरुहरुको संगत गर्ने अवसर मिलेकोले नै बिदेशमा रहेर पनि कामलाई निरन्तरता दिन सकेको उनि बताउछन्।

10676134_715699215165730_287943462727483120_n

बैदेशिक रोजगारको क्रममा नै विदेश आएका कडेल आफुले गर्ने कामको अलवा पुजापाठको कर्मलाई पनि यसरी निरन्तरता दिदै आएका छन्। अन्य मुलुकका नागरिकहरुले पनि कुनै नयाँ ब्यबसाय होस् बा पसल उद्घाटन गर्दा शुभमुर्हतको साईतमा गएर पुजा गर्न पाउदा उनि निकै खुशी ब्यक्त गर्छन्। बार्सिलोना मात्र हैन स्पेनका बिभिन्न ठाउमा रहेका नेपालीहरु तथा भारतीयहरुले बोलाउने क्रम आजभोलि बढ्दो छ ,उनि भन्छन् “दान दक्षिणाको मलाई कुनै प्रलोभन छैन कहिँ गएर कसैको मन शान्ति गराउदा नै मलाई आनन्द लाग्छ।” आज भोलि त स्पेनिसहरु पनि हात हेराउनु पर्यो भन्दै आउछन् भाषा अलि मेरो राम्रो छैन कसैलाई ट्रान्सलेट गराउन लगाएर भए पनि हात हेरिदिन्छु। साहेद मन परेर होला एक पटक आएकोले अर्को पटक आउदा फेरि नयाँ साथि लिएर आउने गरेको कडेल बताउछन्। कडेलले स्पेनमा रहेर पनि हिन्दु परम्परा अनुसारका बिभिन्न चाडबाड,बर्त लगायत पुजापाठहरु पनि नेपाली समुदाय बीच परम्परा अनुसार नै गर्दै आएका छन्।