रियल मड्रिडको लगातार २० औं जित,


काठमाडौं / रोनाल्डोको दुई गोलको मदतमा रियल मड्रिडले सबै प्रतियोगितामा गरी लगातार २० औं जित हात पारेको छ ।
स्पेनिस ला लिगा फुटबल अन्तरगत शुक्रबार राति भएको खेलमा लिग लिडर रियल मड्रिडले अल्मारियालाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।
यो सबै प्रतियोगितामा गरी रियल मड्रिडको लगातार २० औं जित हो । उसले १३ सेप्टेम्बरपछिका सबै खेल जितेको छ ।
लगातार सर्वाधिक जितको कीर्तिमान भने ब्राजिलियन क्लब कोर्टिबासँग छ । उसले २०११ मा सबै प्रतियोगितामा गरी लगातार २४ खेल जितेको थियो ।
अल्मारियाको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले ३४ औं मिनेटमा इस्कोको गोलबाट अग्रता लिएको थियो । ३९ औं मिनेटमा अल्मारियाले बराबरी गोल फर्कायो ।

तर, ४२ औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै रियललाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।
खेलको ६२ औं मिनेटमा मार्सेलोले फल गरेपछि अल्मारियाले पेनाल्टी पायो, खेलको टर्निङ प्वाइन्ट थियो । तर, भेर्जाको प्रहार रियल मड्रिडका गोलरक्षक कासियासले रोके ।
७५ औं मिनेटमा फल खेलेका रोनाल्डोले पहेँलो कार्ड पाए । तर, अन्तिमा उनले दुई गोल गरे । ८१ औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका रोनाल्डोले ८८ औं मिनेटमा दोस्रो गोल गरेपछि रियल मड्रिड ४–१ ले विजयी भयो ।
यो सिजन निकै फर्ममा रहेका रोनाल्डोको ला लिगामा १४ खेलमा २५ गोल भएको छ ।