नोबेल बिजेता मलालाको प्रधानमन्त्री बन्ने सपना


पाकिस्तानी नोबेल शान्ति पुरस्कार बिजेता मलाला युसफजईले बिहीबार आफू आउँदो २० वर्षमा मुलुकको प्रधानमन्त्री बन्नेसक्ने आकाङ्क्षामा रहेको बताएकी छन् । ‘‘म आफ्नो मुलुकलाई सहयोग गर्न चाहन्छु । म आफ्नो देश अगाडि बढोस् भन्ने चाहन्छु र म वास्तवमै देशभक्त छु’’, सबैभन्दा कम उमेरमा नोबेल पुरस्कार प्राप्त गर्ने १७ वर्षीया मलालाले बताइन् । ‘‘यसै कारण मैले राजनीतिमा संलग्न हुने निर्णय गरेकी छु र हुनसक्छ एक दिन जनताले मलाई मतदान गर्नेछन् र मैले बहुमत प्राप्त गर्नेछु, म प्रधानमन्त्री बन्नेछु’’, उनले भनिन् ।

नर्वेका महिला प्रधानमन्त्री एर्ना सोलबर्गसँग एक पत्रकार सम्मेलनमा मलालालाई उनको राजनीतिक महत्वाकाङ्क्षाका विषयमा सोधिएको थियो । ‘‘तपाई ३५ वर्षको हुँदा प्रधानमन्त्री बन्नसक्नुहुन्छ । त्योभन्दा अगाडि सक्नुहुन्न । यसैले यत्तिकै वर्षमा’’, उनले भनिन् । बालिकाको शिक्षाको अधिकारका लागि अडान लिएकोमा सन् २०१२ को अक्टोबर ९ मा तालिवानले उनको टाउकोमा गोली प्रहार गरी उनलाई मार्न प्रयास गरेपछि पाकिस्तानकी यी नवयुवा विश्वव्यापी पहिचान बनेकी थिइन् । मलालाले सन् २००७ मा हत्या गरिएकी पाकिस्तानी पूर्व प्रधानमन्त्री बेनजिर भुट्टो आफ्नो अभिप्रेरणा भएको बताइन् । ‘‘उहाँले उदाहरण दिनुभयो… केही समुदायमा महिलालाई अगाडि बढ्न र प्रधानमन्त्री बन्न नदिइने अवस्थामा उहाँले महिला पनि अगाडि बढ्न सक्छिन् र भन्ने सन्देश उहाँले दिनुभयो’’, हाल बेलायतमा बसोबास गर्ने मलालाले बताइन् ।

मलालालाई कहिलेकाँही उनका विरोधीले उनको मुलुकमा मुसलमान मूल्य अस्वीकार गर्ने पश्चिमीको कठपुतली भएको आरोप लगाउने गरेका छन् । बुधबार उनले गत ३५ वर्षदेखि बालश्रमको विरोधमा सङ्घर्ष गर्ने भारतका कैलाश सत्यार्थीका साथमा नोबेल शान्ति पुरस्कार संयुक्त रूपमा प्राप्त गरिन् ।