पोखरामा शैक्षिक प्रदर्शनी सुरु


विजय नेपाल,

पोखरा / नेशनल प्याब्सानको शैक्षिक चिन्तन बालबालिकाहरूको मौलिक सृजनाको प्रस्फुटन भन्ने मूलनाराका साथ नेसनल प्याब्सान कास्कीको आयोजनामा पोखरामा वृहत शैक्षिक प्रदर्शनी एवं १३ औं लोकनृत्य प्रतियोगिता – २०७१ सुरु भएको छ । प्रदर्शनीको उद्घाटन गर्दै प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रीय शिक्षा उपनिर्देशक हेमनारायण चापागाईले शिक्षण सिकाइको अलावा व्यवहारिक रूपमा विद्यार्थीको सृजना प्रदर्शनी गरिएको यस्तो कार्यक्रम कास्की जिल्ला मात्र नभई समग्र पश्चिमाञ्चल क्षेत्रकै नमुना भएको बताए ।

एन-प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराईले पाठ्पुस्तक र पाठ्यक्रममा रहेको सिकाइ विधिलाई हातले सृजना गरेर ल्याएको प्रदर्शनीले विद्यार्थीको सृजनात्मक क्षमता थप अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे । जिल्ला शिक्षा कार्यालय कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी दामोदर सुवेदीले शैक्षिक प्रदर्शनीले बालबालिकाको शिक्षाका चौतर्फी विकास पुर्‍याउने बताए । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ कास्कीका निवर्तमान अध्यक्ष ऋषिराम भण्डारीले विद्यार्थीले शिक्षण अभ्यासका क्रममा सिकेका गतिविधिलाई व्यवहारिकरूपमा उतार्ने महइभ्वपूर्ण थलो भएको बताए ।

कोशेली पब्लिकेशन प्रालिका प्रोप्राइटर गोपाल ध्वजूले नेपालको पाठ्यक्रम गतिविधिमा आधारित नभएको बताए । पश्चिमा मुलुकहरूसँग प्रतिस्पर्धा गर्नको लागि व्यवहारिक शिक्षा प्रणाली लागू गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले घोकन्ते विद्याले शैक्षिक विकास नगर्ने दाबी गरे । प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाटले नेपालको शैक्षिक विकासमा निजी विद्यालयको विकल्प सोच्न पनि नसकिने बताए ।शैक्षिक विकासमा निजी विद्यालयको आवश्यकता अकाट्य र अपरिहार्य हुँदाहुँदै पनि आलोचना हुने गरेको भन्दै उनले थप सचेत भएर लाग्नुपर्ने बताए ।

अभिभावक सङ्घ कास्कीका अध्यक्ष हेमराज बरालले विद्यार्थीहरूले पढाइका अलावा अतिरिक्त क्रियाकलापमा पनि धयान दिनुपर्ने बताए । प्रदर्शनीमा ४० विद्यालयका एक सय दुईवटा स्टल रहेका छन् । दुई दिनसम्म सञ्चालन हुने प्रदर्शनीको करिब एक लाखले अवलोकन गर्ने अनुमान गरिएको छ ।