काँग्रेसले क्रियाशील सदस्यता वितरणको समयावधि एक महिना थप्यो


काठमाडौँ,/ नेपाली काँग्रेसले पार्टीको क्रियाशील सदस्यता वितरणको समयावधि एक महिना थप गर्ने निर्णय गरेको छ । हिजोदेखि सुरु भएको काँग्रेस केन्द्रीय समितिको जारी बैठकले केन्द्रीय कार्यालयको परिपत्र बमोजिम क्रियाशील सदस्यता नवीकरण तथा नयाँ क्रियाशील सदस्यता प्रदान गर्ने आवेदन फारम पार्टी केन्द्रीय कार्यालयमा पुस मसान्तभित्र बुझाइसक्नुपर्ने गरी पुनः म्याद थप गरेको हो।

जसअनुरूप केन्द्रबाट भएको परिपत्रबमोजिमको प्रक्रिया पूरा गरेर मात्र आवेदन फारम जिल्लाले केन्द्रमा बुझाउनुपर्नेछ । क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरणसम्बन्धी कार्यको अनुगमन गर्न केन्द्रीय सदस्यलाई जिल्लामा पठाइने काँग्रेसले जनाएको छ।

बैठकले माघ ८ भित्र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी गर्न पार्टीले अग्रसरता लिने निर्णय गरेको काँग्रेसका मुख्य सचिव ऋषिकेश तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रीय समिति र पार्टी संसदीय दलको बैठक आगामी आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुनः बसी अन्य समसामयिक विषयमा थप निर्णय लिनेछ ।

आजको बैठकले हालै सरकारद्वारा घोषित नयाँ नगरपालिकाभित्र परेका पहिलेका नगरपालिका तथा गाविसमा क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरण कार्यमा प्रस्ताव गरी क्षेत्रीय कार्यसमितिमा बुझाउनुपर्ने कार्य पहिलेकै गाउँ कार्यसमिति तथा नगर कार्यसमितिहरूले आ–आफ्नो पहिलेको क्षेत्रभित्र रही गर्नुपर्ने निर्णय गरेको छ ।

तत्कालको सङ्गठन परिचालन सम्बन्धमा एकै निर्वाचन क्षेत्रका नगरपालिका तथा गाविस मिलाएर नयाँ नगरपालिका गठन भएको भए पहिलेको नगर कार्यसमिति, गाउँ कार्यसमितिका पदाधिकारीलाई समावेश गरी क्षेत्रीय सभापतिको संयोजकत्वमा नगर समन्वय समिति गठन गर्ने र नगरभित्र पार्टी नगर समितिले पर्नुपर्ने कार्य गर्न बैठकले निर्देशन दिएको छ ।

केन्द्रीय समितिको निर्णय अनुसार पार्टी तथा भातृ संस्थाको आगामी अधिवेशन नयाँ नगरपालिकालाई आधार मानी गर्नुपर्नेछ । यस्तै केन्द्रीय अनुशासन समितिले गरेका निर्णयउपर परेका पुनरावेदनका सम्बन्धमा आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय हुने र त्यसका लागि यथाशीघ्र बैठक बोलाउने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले केही समय यता देशका विभिन्न ठाउँमा सवारी दुर्घटनामा परी ठूलो जनधनको क्षति भइरहेको दुःखद् घटना के कति कारणले भइरहेका छन् र यस्ता दुर्घटना हुन नदिन कानुनी एवम् व्यावहारिक उपाय अवलम्बन गर्न ठोस नीति ल्याउन सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकले नेकाका बागलुङका नेता, लोकतान्त्रिक आन्दोलनका अथक योद्धा एवम् सभासद् हरिबहादुर खड्काको असामयिक निधनमा गहिरो दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तैगरी काँग्रेस बाँकेका सभापति ७३ वर्षीय डा अरूण कोइरालाको गत मङ्सिर २ गते उपचारका क्रममा भएको असामयिक निधन, स्वतन्त्र सेनानी १०१ वर्षीय सर्वज्ञमान प्रधानाङ्ग र नेपाल दलित सङ्घको केन्द्रीय सदस्य गीता सुनारको निधनप्रति पनि बैठकले गहिरो दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा प्रधानमन्त्री निवास, बालुवाटारमा हिजोदेखि जारी बैठकमा महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, अर्जुन नरसिंह केसी, दीपकुमार उपाध्याय, डा प्रकाशशरण महतलगायत दुई दर्जन बढी केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्नुभएको थियो । रासस