हिटिङले काम गर्न छोडेपछि, लण्डन स्थित नेपाली दूतावासमा समस्या


– चिरन शर्मा

लण्डन / लण्डनको कठ्याग्रिदो चिसोमा तातो पानी बिना नुहाउने कुरा कल्पनै गर्न सकिन्न् । सेन्टर हिटिङ्ग नहुने हो भने घरभित्रै कहाली लाग्दो चिसोले समात्छ । धेरै चिसोका कारणले रोग लाग्ने सम्भावना हुन्छ । अहिले लण्डन स्थित नेपाली दूतावासका कर्मचारी यही चिसोमा दिन बिताइरहका छन् । लण्डनको मुटु केन्सिन्टन प्यालेसमा रहेको भयानक ठूलो दूतावास भवनमा त्यस्तो चिसो होला भन्ने कसैले कल्पनै गर्दैनन् । छिमेकीहरु प्रख्यात ब्यापारी लक्ष्मी मित्तल, साउदी राजपरिवार र राजकुमार विलियम छन् ।
सुन्दै रहर लाग्दो स्थानमा अवस्थित छ नेपाली दूतावास । सुन्न जति कर्णप्रिय छ, वास्तविता त्यत्ति नै नमीठो छ । बिगत एक महिनादेखी सेन्टर हिटिङले काम गर्न छोडेपछि चिसो छिडीमा बसेर काम गर्न बाध्य छन् कर्मचारी । नेपाली दूतावासले उपलब्ध गराएको जानकारीअनुसार सो भवनमा प्रयोग हुँदै आएको बोइलर (हिटिङ सिस्टम) जर्मन कम्पनीको हो । उक्त कम्पनीको सन् २०१० मा नयां हिटिङ सिस्टम जोडेको थियो । तर चार बर्ष जेनतेन चल्यो अहिले पूर्णरुपमा काम गर्न छोडेको छ । दूतावास स्रोतका अनुसार तत्तकालीन राजदूत सुरेशचन्द्र चालिसेले नयां वोइलर राख्न करिब ३० हजार पाउण्ड खर्चिएका थिए ।

दूतावासका अनुसार कुटनीतिक नियोग तथा सरकारका उच्चपदस्थ कर्मचारीहरु आउँदासमेत डेक्चीमा पानी तताएर नुहाउने गरेका छन् । दूतावासमा आउने पाउना प्रायः विशिष्ट श्रेणीका हुन्छन् । उनीहरुसँग दूतावासमा तातो पानी छैन भन्नसमेत लाजमर्दो छ, स्रोतले भन्यो, ‘गत महिना बेलायत आएका एक मन्त्रीसमेत आफैले पानी तताएर नुहाए ।’
सेन्टर हिटिङ काम नलाग्ने भएपछि दूतावासमा आउने पाउनालाई समेत वैकल्पिक ब्यवस्था दूतावासले गर्दै आएको छ । हालै मात्र एक महिला सभासदलाई दूतावासको अतिथि कक्षमा बस्ने ब्यवस्था मिलाउन खोजिएको थियो, तर चिसोका कारणले राख्नै नहुने अवस्था आएका कारण अन्यत्र ब्यवस्था गरिएको थियो । दूतावासमा आउने सेवाग्राहीले समेत कठ्याग्रिदो चिसो भोग्दै आएका छन् ।

बेलायतका लागि कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीका अनुसार सो हिटिङ मर्मत गर्न पटक–पटक प्रयास गरिएको थियो, तर त्यसमा प्रयोग हुने समान जर्मनीमा मात्र पाइन्छ । बेलायतस्थित विभिन्न कम्पनीसंग कोटेन मागेर मर्मत गर्न खोजिएको हो । धेरै ठूलो भवन भएको कारण जुनसुकै कम्पनीले हात हाल्नै मान्दैन, क्षेत्रीले भने– ‘सरकारले समयमा बजेट निकासा नगर्दा मर्मतमा ढिलाइ भएको हो ।’ धेरै खर्चिलो काम हो, मन्त्रालयको निर्णय बिना अगाडी बढ्न सकिँदैन, कार्यवाहक राजदूत क्षेत्रीले भने ।
सरकारी ढिलाइका कारण दूतावास भवन मर्मत सम्मारको कामसमेत रोकिएको छ । दूतावासका अनुसार गतबर्ष दूतावास भवनमा लगाएको रङरोगनको खर्चसमेत सरकारले अझैसम्म निकास गरेको छैन्