सुरक्षाको कारण भारतीय कमेडियन कपिलको कार्यक्रम स्थगित


काठमाडौं / जिल्ला प्रशासन कार्यालय काठमाडौंले भारतीय चर्चित कमेडियन कपिल शर्माको शनिबार दशरथ रंगशालामा हुने कार्यक्रम स्थगित गर्न आदेश दिएको छ ।
एनसेलको आयोजनामा  शनिबार रंगशालामा कपिलको उपस्थितिमा ‘पर्पलफेष्ट’ कार्यक्रम राखिएको थियो ।
तर, कार्यक्रमको अघिल्लो दिन साँझ सुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कार्यक्रम गर्न रोक लगाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले  भने-सुरक्षाका कारण कार्यक्रम स्थगित भएको हो ।’
जिल्ला सुरक्षा समितिको बैठकले मुलुकको सुरक्षा संवेदनशील भएको भन्दै कार्यक्रम माघ ८ गते पछि मात्र गर्न भनेको छ ।
साथै १३ हजारभन्दा बढी टिकट विक्री भएको तथा रंगशालाको निर्माण सामाग्री पनि यत्रतत्र राखिएकाले पनि सुरक्षा संवेदनशीलतालार्इ हेरेर कार्यक्रम स्थगित गर्न भनिएको सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले अनलाइनखबरसँग बताए ।
एनसेलका कर्पोरेट सम्वाद विज्ञ मिलन अमात्यले पनि स्थानीय प्रशासनले मौखिक रुपमा कार्यक्रम स्थगित गर्न भनेको अनलाइनखबरसँग बताए । उनले भने-‘हामीलाई अबेर मात्र जानकारी दिइएको छ । अझै लिखित दिइएको छैन । हजारौं ग्राहकसँग जोडिएको विषय भएकाले हामीले केही निर्णय गरेका छैनौं । जे हुन्छ छिट्टै जानकारी गराउँछौं ।’
कपिलसँगै भारतीय चर्चित गायक सोनु निगम र नेपाली कलाकारहरुले पनि प्रस्तुत राखिएको थियो । -onlinekhabar