भ्रष्टाचार बढ्दै जानु मुलुकका लागि ठूलो अपराध- प्रधानमन्त्री कोइराला


काठमाडौँ/ प्रधानमन्त्री सुशील कोइरालाले भ्रष्टाचार बढ्दै जानु मुलुकका लागि ठूलो अपराध हुने बताउनुभएको छ ।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज प्रधानमन्त्रीको कार्यालयमा आयोजित कार्यक्रममा उच्चपदस्थ कर्मचारीहरूलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘भ्रष्टाचार बढ्दै जानु लाजमर्दो र दुःखदायी हो भन्नेकुरा मन्त्री र सम्बन्धित क्षेत्रका कर्मचारीलाई थाहा भएकै कुरा हो तर पनि अर्बाै रकमको बेरुजु आउँदा पनि केही गर्न नसक्नु देशलाई गरिवीतिर धकेल्नु हो भन्नुभयो ।

तल्ला तहका कर्मचारीलाई मात्र अख्तियार लागेर भएन भन्दै प्रधानमन्त्री कोइरालाले माथिल्लो तहका कर्मचारीलाई पनि भ्रष्टाचारका घटनामा छानविन गर्नुपछर्, अन्यथा मिलोमतोमा भ्रष्टाचारका काम नरोकिए अर्को वर्ष पनि नेपाल भ्रष्टाचारको सूचिमा माथि उक्लिन्छ भन्नुभयो ।

अहिले भ्रष्टाचारी खुल्लमखुल्ला हिड्ने र सदाचारी लाजले लुकेर बस्नुपर्ने अवस्था आएको चर्चा गर्दै उहाँले राष्ट्रको ढुकुटी रित्तिदै जाँदा र व्यक्तिको खातामा रकम जम्मा हुँदै जाँदापनि अख्तियार, सतर्कता केन्द्र र महालेखा परीक्षकको कार्यालयले नहेरेको गुनासो पनि गर्नुभयो ।

स्थानीय निकायमा जनप्रतिनिधिविहीन भएका कारण अर्बाै रकम दुरुपयोग हुँदा पनि कसैको पनि चासो बढेको छैन भन्दै प्रधानमन्त्री कोइरालाले बगेर खेर गएको पानी उपयोगका लागि लगानीकर्ता तयार भएको अवस्थामा पनि भ्रष्टाचारकै लागि काम लम्व्याउने खेल भएको पनि उल्लेख गर्नुभयो ।

कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले यस दिवसलाई औपचारिक र कर्मकाण्डी हिसावले मात्र मनाउनुभन्दा हामीले आफ्ना व्यवहारलाई फरक ढङ्गले सुधार गर्दै लानुपर्छ भन्नुभयो ।

भ्रष्टाचारको राष्ट्रिय र अन्तर्राष्ट्रिय जालो फुकाउनका लागि पहल गर्नुपर्नेमा जोड दिंदै उहाँले यस सम्बन्धमा विद्यमान कानुनी कमजोरी सुधार गरिने बताउनुभयो ।

महालेखा परीक्षक भानुप्रसाद आचार्यले राज्य सञ्चालनमा भ्रष्टाचारले नकारात्मक असर पारिरहेको अवस्थामा सुशासन कायम गर्न सरकारका सम्बद्ध निकाय बलियो हुनुपर्ने बताउनुभयो ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल च्याप्टरका उपाध्यक्ष गिता केशरीले भ्रष्टाचारमा राजनीतिक क्षेत्रपनि मुछिएको आरोप लगाउनुभयो ।

राष्ट्रिय सतर्कता केन्द्रका कायममुकायम प्रमुख रमेशप्रसाद शर्माले भ्रष्टाचार नियन्त्रणका लागि निजी क्षेत्रको सहभागिता महत्वपूर्ण हुने भएकाले जनचेतना जगाउन पहल हुनुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजुमानसिंह मल्लले ट्रान्स्परेन्सी इन्टरनेसनलको प्रतिवेदनअनुसार यसवर्ष नेपालमा भ्रष्टाचार झन बढेकोमा चिन्ता ब्यक्त गर्दै भ्रष्टाचारबिरुद्ध पाँचवर्षे रणनीति तथा कार्ययोजना कार्यान्वयनमा जोड दिनुभयो । रासस