सभासद हरिबहादुर खड्काको गृहजिल्ला बाग्लुङमा अन्त्येष्टि


 – सुवास आचार्य
, बागलुङ / जिप दुर्घटनामा निधन भएका कांग्रेस सभासद हरिबहादुर खड्काको मंगलबार गृहजिल्ला बाग्लुङमा अन्त्येष्टि गरिएको छ । मालढुंगास्थित कालीगण्डकी नदी किनारमा उनको अन्त्येष्टि गरिएको हो ।
छोराहरु सुदिप र सुमिसले दागवत्ति दिएका थिए । खड्काको सम्मानमा नेपाल प्रहरीले सलामी अर्पण गरेको थियो ।
अन्त्येष्टि अघि धौलागिरी बहुमुखी क्याम्पसमा श्रद्धाञ्जली अर्पण गरिएको थियो । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले खड्काको पार्थिव शरिरमा पार्टीको झन्डा ओढाएका थिए ।
कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरु खड्काको श्रद्धाञ्जली कार्यक्रममा सहभागी थिए । श्रद्धान्जली दिएपछि अन्त्येष्टिका लागि शवयात्रा सहित कालीगण्डकी नदी किनारमा लगिएको थियो ।

खड्काको सम्झनामा ट्रमा सेन्टर
कालीगण्डकी किनारमा गरिएको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा कांग्रेस उपसभापति पौडेलले स्वर्गीय खड्काको सम्झनामा धौलागिरी अञ्चल अस्पतालमा ट्रमा सेन्टर स्थापना गर्ने आश्वासन दिए ।
खड्काका जेठा छोरा सन्दिपले सँधै समाज सेवामा अग्रसर हुने बाबुले सुरु गरेका कामलाई अघि बढाउने प्रतिवद्धता जनाए ।
बाग्लुङमा जिप दुर्घटनामा परेर घाइते भएका सभासद खड्काको काठमाडौंस्थित न्यूरो अस्पतालमा उपचारको आइतबार राति निधन भएको थियो । सोमबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा श्रद्धान्जली दिएर उनको पार्थिव शरिरलाई गृहजिल्ला बाग्लुङ लगिएको थियो ।
शोकमा शिक्षण संस्था र बजार पसल बन्द

नेपाली कांग्रेस बाग्लुङका सचिवसमेत रहेका खड्काको निधनले बाग्लुङ शोकमा डुबेको छ ।
खड्काप्रति श्रद्धाञ्जली अर्पण गर्न र शव यात्रामा सहभागी हुन उद्योग वाणिज्य संघले आग्रह गरेपछि बाग्लुङ बजारका सम्पुर्ण पसलहरु बन्द गरिएको थियो ।
यस्तै नेपाल शिक्षक युनियन र शैक्षिक गणतान्त्रिक शिक्षक मञ्चको आहृवानमा बागलुङ क्षेत्र नम्बर १ का सबै शैक्षिक संस्थासमेत बन्द गरिएको थियो ।

उपप्रधानपञ्चदेखि सभासदसम्म

खड्का पञ्चायतकालमा कालिका गाउँ पञ्चायतमा उपप्रधानपञ्च पनि भएका थिए । बागलुङ नगरपालिकामा २०२० साल जेठ १८ गते जन्मिएका उनी २०३६ सालबाट नेपाली कांग्रेसको गाउँ समिति मार्फत राजनीति शुरु गरेका थिए । २०५४ सालमा कांग्रेस बागलुङ नगर समितिको सभापति, क्षेत्रीय सदस्य हुँदै २०५४ सालमा नेपाल तरुण दलको जिल्ला अध्यक्ष भएका थिए ।
२०५८ सालमा तरुण दलको केन्द्रीय सदस्य भएका खड्का २०५२ सालदेखि २०६७ सालसम्म पार्टीको जिल्ला सदस्य भए । उनले २०६७ सालदेखि कांग्रेस जिल्ला सचिव भए । उनी चारपटक पार्टीको महाधिबेशन प्रतिनिधि बनेका थिए ।
जिल्लामा कार्यकर्ता माझ लोकप्रीय र निष्ठावान नेता खड्का दोस्रो संविधान सभा निर्वाचनमा बागलुङ क्षेत्र नं. १ बाट नेपाली काँग्रेसको तर्फबाट प्रत्यक्ष चुनाव जितेका थिए ।