मानवता र बिश्वशान्तिको अभियान -“दीप दर्शन”


– दिपक प्रसाद कोईराला

जीवनको मुल्य

मानव जीवन के हो ? मानव भएर जन्मिनुको कर्तब्य के हो ? उद्धेश्य के हो ?  के मानब जीवन खानु, सुत्नु, मैथुन गर्नु, अनि अन्त्यमा मर्नु यतिमै सिमित छ त ?  यदी त्यसो हो भने मानव र अन्य प्राणिमा के नै अन्तर रह्यो र ! संसारको सबैभन्दा उतम र चेतनशिल जिव हुनुको के नै अर्थ रह्यो र ? 

यो त सृष्टिको अकाट्य सत्य हो कि जन्मनु र मर्नु कसैको नियन्त्रणमा छैन तर ईश्वरले मानवलाई फ्री विलको साथमा सर्बोत्कृस्ट प्राणीको दर्जा प्रदान गरेका छन जो सोचविचार गर्न, तर्क गर्न, वादविवाद गर्न, आफ्नो इच्छा अनुसार कर्म गर्न अनि समग्रमा  आफ्नो जीवन व्यतित गर्न स्वतन्त्र छ, जुन स्वतन्त्रता अन्य प्राणिहरुलाई रत्तिभर पनि छैन । परापूर्वकालको एउटा उदाहरण हेरौ: एकपटक गुरु नानकसँग एकजना शिष्यले सोधेछन्, जीवनको मुल्य के हो गुरुदेव ? गुरु नानक केहि नबोली आश्रम भित्र प्रवेस गर्छन र एउटा अत्यन्तै चम्किलो पत्थर रुबी ल्याएर त्यस शिष्यको हातमा थमाउदै भन्छन्, यसको मुल्य पत्ता लगाएर आउ ।

शिष्य आज्ञाकारी हुनाले हवस गुरुदेव भन्दै आफ्नो बाटो तताउछ । जादा जादा अलि पर पुगेपछी एउटा तरकारी व्यापारी आफ्नो टोकरिमा तरकारी बोकेर आइरहेको देख्छ अनि त्यस्लाई सोध्छ, सुन्नुस त यस्को मुल्य कती होला ? निकै चम्चमाउदो पत्थर देखेर उस्ले भन्छ, यो पत्थर मलाई दे म तलाई दुइ वटा लौकादिन्छु । यती सुनेपछी त्यो शिष्य गुरुजिको आदेश नभएको भन्दै आफ्नो पत्थर लिएर त्यहाँबाट निस्कन्छ । जादा जादा अलि पर पुगेपछी एउटा तरकारी पसलमा पुग्छ र सोध्छ, पसलेले त्यो पत्थरको सट्टामा दुइ बोरा आलु दिन सकिने कुरा बताउछ । त्यसपछी उ त्यहाँबाट पनि हिड्यो । अलि पर पुगेपछी एउटा सुनारको पसल देख्यो अनि त्यहाँ पसेर त्यो पत्थरको मुल्य सोध्यो । सुनारले बडो जतनसाथ त्यस पत्थरलाई हातमा लियो अनि केहिबेर नियालेपछी त्यो पत्थर लाई ५० लाखसम्म दिन सकिने कुरा बताउछ । त्यती सुनेपछी उ त्यहाँबाट पनि हिड्यो । त्यहाँबाट अलिक पर पुगेपछी एउटा जोहरिको पसल आयो, उ पसल भित्र छिर्यो र भन्यो साहुजी यस्को मुल्य के होला ? रुबिको त्यो अमुल्य पत्थर देख्ने बित्तिकै साहुजी छक्क पर्‍यो । उ भित्र गयो अनि एउटा सफा मखमलको कपडा लिएर आयो अनि आफ्ना दुबै हत्केला फैलाएर त्यसमाथि मखमलको कपडा राख्यो अनि त्यो पत्थरलाई बडो साबधानिपूर्वक आफ्नो हातमा लिइ दण्डवत गर्‍यो अनि बडो होसियरिपूर्वक सफा गरी पसलको केन्द्र भागमा स्थापित गर्‍यो अनि तीन पटक परिक्रमा गरेर दण्डवत गरी त्यो शिष्यलाई सोध्यो, यती बहुमुल्य पत्थर कहाँबाट ल्यायौ ? उस्ले भन्यो मेरो गुरुजिले दिनुभएको, अब मलाई छिटो भन्नुस यस्को मुल्य के हो ? उस्ले आफ्नो अनुहार अत्यन्त उज्यालो बनाउदै अति प्रसन्न मुद्रामा भन्यो, यो धातु अत्यन्तै अमुल्य छ, यो पुरै संसार बेच्दा पनि यस्लाई किन्न सकिन्न, यती भनेर उ थचक्क बस्छ । अनि त्यो शिष्य खुशी हुँदै दौडिदै दौडिदै गुरु समक्ष पुग्छ । अनि गुरुजिले सोध्नुहुन्छ पत्ता लगायौ त यस्को मुल्य ? उस्ले उत्तेजित हुँदै भन्यो, यो धातु त अमुल्य रहेछ गुरुजि! अनि गुरुजिले मुस्कुराउदै भन्नुभयो, हो तिम्रो जीवन पनि यो चम्किलो पत्थर जस्तै अमुल्य छ । अब तिमी यसलाई दुइटा लौकामा पनि बेच्न सक्छौ, दुइ बोरा आलुसँग साट्न पनि सक्छौ, ५० लाख वा केहि करोडमा बेच्न पनि सक्छौ वा आफुलाई अमुल्य सिद्ध गर्न पनि सक्छौ, यो सबै तिम्रै हातमा छ !

माथिको उदाहरणमा भनिए जस्तै मनिसको जीवन साच्चै अमुल्य छ, तर ईश्वरको यती ठुलो उपहारलाई कौडिको भाउ बेचेको देख्दा उदेक लग्छ, अनि अश्चर्य लाग्छ उस्का कृयाकलाप हरुलाई देखेर । यती मुल्यवान दैबिशक्ती पाएर पनि किन यती निरिह बनेको छ मानिस ? उस्ले साच्चै चाहने हो भने गर्न नसक्ने के नै छ र यो धर्तिमा ! उसले धर्तिको उचाई देखी गहिराईसम्म चुमिसकेको छ । आज उ पानीमा तैरन सक्छ, आकाशमा उडान भर्न सक्छ, धर्तिका सम्पूर्ण प्राणिहरु उसको नियन्त्रणमा छन्, लाग्छ सारा धर्ती नै उसको कब्जामा छ, अनि यहाँका सम्पूर्ण चिजहरु उसका बन्दी हुन । त्यतिले नपुगेर अब उ सारा ब्रह्माण्ड कब्जा गर्ने ध्याउन्नमा लागेको छ, यो कस्तो आश्चर्य !
कुनै समय एक रहेको मानव समाज आज अनेकन टुक्राहरुमा बाडिएको छ । कतै देशको नाममा त कतै धर्मको नाममा, कही जातको नाममा त कतै भाषाको नाममा, कतै स्त्री पुरुषको नाममा त कतै धनीगरीबको नाममा, कही शासकको नाममा त कतै शोषितको नाममा, कतै शिक्षित अशिक्षित त कतै सभ्य असभ्यको नाममा, कतै बिकशित त कतै अबिकशितको नाममा, कुन्नी के के नाममा हो के के नाममा टुकृने क्रम अझै जारी छ, लाग्छ एकदिन आफैसँग पनि छुट्टिने तैयारी गर्दैछ उ । धनी वा गरीब जुनसुकै देश होस शक्ती र सत्ताको चरम दुरुपयोग गर्ने होड्बाजी नै चलेको छ । स्मरण रहोस, आज यूरोप र अमेरिकाजस्ता महाशक्ती राष्ट्रहरु त्यत्तिकै आर्थिक मन्दिको चपेटामा परेका होईनन् । यस्को प्रस्ट कारण त्यही शक्ती र सत्ताको दुरुपयोग नै हो । ४, ५ बर्ष यूरोप बसेर स्थलगत अध्ययन गर्ने क्रममा एउटा कुरा यो प्रस्ट भयो कि हाम्रो नेपालतिर गएका यहाँका गोराहरुले गर्ने सुशासन र समानताका कुरा कती सतही रहेछन भनेर । म लन्डनमा दुइ बर्ष बसे अनि अहिले दुइ बर्षदेखी स्पेनमा छु । बर्सिलोनाका गल्ली गल्लिमा कचौरा थापेर १०, २० सेन्टको याचनमा बसेका मान्छेहरुलाई देख्दा कतै म यूरोपमा नभएर नेपालमा नै त छैन भन्ने भान हुन्छ । यस्तो दृश्यले स्तब्ध भएर यसको कारण पहिल्याउन म रिसर्चतिर लागे । आफुले चिनेजानेका यूरोपियनहरुसँगको भेटघाट र बिचार बिमर्शलाई तिब्रता दिए । निकै लामो अध्ययन पश्चात म के निष्कर्शमा पुगे भने यहाँ राम्रा कुराहरु मात्र नभएर नराम्रा कुराहरु पनि चरम बिकशित भैसकेका रहेछन । यहाँका अग्ला अग्ला भवन, चिल्ला सडक, सुबिधा सम्पन्न सपिङ मल, ब्यबस्थित जीवनशैलि, अत्याधुनिक प्रबिधिको प्रयोग, मेशिनरी जीवनशैली आदिले जो सुकैलाई पनि लोभ्याउनु स्वभाविकै हो तर त्यही अत्याधुनिक र सुबिधसम्पन्न जीवनशैलिभित्र गुम्सिएर आहत भएका मनिसहरुको क्रन्दन कसरी आम दुनियाको कानसम्म पुग्नु, जसलाई यहाँका शासक बर्गले दशकौ देखी लुकाएका रहेछन । भ्रष्टचार र दुराचारले यसरि जरो गडेको छ कि त्यो सिस्टमको एक हिस्सा नै बनिककेको छ यानी सिस्टमेटिक भ्रष्टाचार । जुन हाम्रो नेपालमा जस्तो प्रत्यक्ष त देखिदैन तर समाजलाई नराम्ररी आक्रान्त पारिरहेको छ नत्र मैले सक्षात्कर गरेका भिन्न भिन्न पेशा व्यवशायका मनिसहरुले एउटै कुरा किन दोहोर्याउथे कि राजनीतिक भ्रष्टचारले सबै खतम भयो भनेर । यहाँको भौतिक विकाश बिश्वमै उदाहरणिय छ, बिश्वले यसबाट पाठ सिक्नुपर्छ तर यहाँका बिषाक्त भाइरसहरु जुन अति नै हानिकारक छन तीनलाई कुनै पनि हालतमा हाम्रोजस्तो बिकाससिल देशले स्विकार गर्नु हुँदैन ।

भर्खरै यहाँ घटेको एउटा घटना जसमा राजपरिवारका अधिकाश सदस्यहरु अरबौ डलर लुकाएको आरोप खेप्नु पर्यो। । बेलाबखतमा फरक फरक रुपमा यस्ता घटनाहरु दोहोरिरहन्छन । यि सबै घटनाहरु केलाउदा बिस्तारै थाहा हुँदैछ कि अबिकशित अनि बिकाससिल देशहरुको नाममा दिइने बैदेशिक सहयोग कसरी चरम दुरुपयोग हुदोरहेछ, एक वाक्यमा भन्नुपर्दा सिमित व्यक्तिहरुको कर छल्ने अनि अरबौ डलर अपचलन गर्ने माध्यम बन्दोरहेछ त्यो बैदेशिक सहयोग । कस्तो अचम्म सहयोगको नाममा पनि भ्रष्टाचार । अब आम मानिसले कसलाई बिश्वास गर्ने ? रक्षक नै अदृश्य रुपमा रगत चुस्ने भक्षक बनेपछी ! अनि लाग्यो, चाहे त्यो धनी वा गरीब जुनसुकै देशका हुन्, संसारभरिका आम मानिसहरु आम नै रहेछन्, सधै कसै न कसैबाट शोषित भई नै रहनु पर्ने मात्र शोषणका रुप फरक हुँदारहेछन ।

यती सबै कुरा भनिसकेपछी एउटा गहिरो प्रश्न उठ्छ कि उसो भए के गर्ने त ति आम मनिसहरुको न्यायका लागि । कि फेरी क्रान्ती गर्ने, आन्दोलन गर्ने, युद्ध गर्ने वा के गर्ने यि सबै त प्रयोग गरेकै हो अनि त्यसको परिणाम पनि भोगेकै हो । कतिपय देशहरुमा त अझै त्यसका अवशेषहरु बाकी नै छन । खै त के भयो यि सब कुराहरु गरेर, घुमिफिरी रुम्जाटार भनेझै आखिर परिणाम त त्यही नै आउने रहेछ, उहि अब्यवस्था, उहि थिचोमिचो, उहि पुरानै युग्, मात्र रुप फेरिएर !
हो यहिनेर आबश्यक पर्छ जीवन दर्शन, नैतिक शिक्षा, बैदिक (दैबि) ज्ञान । जब मानव मस्तिस्क कहिल्यै नसकिने अन्त्यहिन समस्याको गोलचक्करमा फस्छ, उ त्यो समस्यामा यसरि जेलिन्छ कि त्यही बिकृत माहौल नै उसको दिनचर्या बन्न थाल्छ, त्यहाँबाट निस्कन असम्भवप्राय लाग्छ, हो यहिनेर आवश्यक पर्छ सच्च जीवन दर्शनरुपी ज्ञानज्योती । आज पुर्विय समाज आफ्नो आध्यात्मिक शक्तिलाई भुलेर भौतिक आकर्षणमा फसेको छ जबकी पश्चिमा समाज भौतिक जिन्दगीदेखी वाक्क दिक्क भएर पुर्विय बैदिक ज्ञानतर्फ आकर्षित भइरहेको छ । उनिहरु पिटी छोडेर योगतर्फ लम्किरहेछन । ध्यान, सत्सग, प्राकृतिक चिकित्सा, अर्गानिक आहार उनिहरुको दैनिक जीवनशैली बन्न थालेको छ । आर्टिफिसियल लाईफबाट उनिहरु वाक्क भएर बिस्तारै नेचुरल लाईफतिर पाइला चाल्दै छन तर कस्तो बिडम्बना  हामीहरु भने त्यही पश्चिमाहरुले प्रयोग गरेर असफल सिद्ध भैसकेका तथ्यहरुलाई आफ्नो जीवनको हिस्सा बनाउने होड्बाजिमा छौ, फेसनको नाममा । यहाँभन्दा लाजमर्दो कुरा अरु के हुन सक्छ !

भर्खरै एउटा तथ्य बाहिर आएको छ, पछिल्लो दशौ बर्षदेखी नर्वे शान्त र सुबिधा सम्पन्न जीननशैलिको मामलामा नम्बर एकमा रहदै आएको छ तर भुटान जो नर्वे भन्दा कैयौ गुणा कमजोर मानिन्छ, त्यहाँकै मानिसहरु संसारकै सबैभन्दा खुशी मानिसहरु भएको तथ्य बाहिर आएपछी आज संसार नै अचम्भित बनेको छ । यसको कारण खोज्दै जादा पत्ता लाग्यो कि उनिहरुको नेचुरल जीवनशैली अनि सादगिपनले नै उनिहरुलाई त्यती खुशी तुल्याएको रहेछ । उनिहरु झोपडी र गिट्ठा भ्याकुरमै खुशी छन त महल अनि तडक भडकको के मुल्य! भनिन्छ नि ¨गधेपे दिल्लगी तो परी क्या चिज है¨ । यसो भनेर मैले भौतिक बिकासको पूर्ण रुपमा बिरोध गर्न खोजेको हैन तर मलाई लाग्छ मानव सभ्यतलाई नै सन्कटमा पार्ने अनि निदहराम गर्ने बिकासको कुनै मुल्य छैन । अहिलेको मानव समाजलाई यस्तो बिकास चहिएको छ, जस्ले भौतिक सुखको साथमा खुशी पनि देओस अन्यथा त्यस्तो खुशी छिन्ने सुखको के मोल । यो त यौटा मुर्ख लोभिले केहि पैसाको लालचमा आफ्ना दुबै आखा बेचेजस्तै भयो, जसपश्चात उ त्यो पैसा गन्न नै असमर्थ होस ।
आखिर किन यसो भैरहेको छ त ? त्यती सुन्दर मानवसमाज आज किन यती जर्जर अवस्थामा पुगयो ? आउनुहोस्, अब यसो हुनुको कारणबारे एकछिन गौर गरौ: आज मानिस यत्ती दुखी र पीडित हुनुको कारण उसले लगाएको नकाब हो । मानिस पनि अरु प्राणिहरुजस्तै नेचुरल प्राणी हो तर जन्मने बित्तिकै उसलाई उसको परिवार अनि समाजले बिभिन्न नकाबमा बेर्न थल्छ । जातपातको नकाब, धर्मको नकाब, सामाजिक अनि पारिवारिक बन्धनको नकाब, देशको नकाब यस्तै अन्य कैयौ नकाबहरुमा बेरिन्छ उ । अनि उ सानैबाट बिभिन्न बिरोधाभासपूर्ण माहौलमा हुर्किदै जान्छ । ति अनगिन्ती नकाबहरुमा ढाकिएर उ बास्तविक सत्यदेखी अन्जान बन्न पुग्छ । जब उ आफ्नो नकाबभित्र असल ठहरिन्छ, अनि उस्लाई लाग्न थाल्छ उस्ले गरेको सबै ठीक, उ मात्र राम्रो अरु सबै गलत । यही नै हो आजको बास्तविक समस्या । आआफ्नै सिमित परिधिका नकाबधारिहरुको टकराब जस्ले वस्तविक संसार देखेकै छैन, देख्ने चहना पनि रख्दैनन । जुन टकराबको कुनै मुल्य छैन, अनि जस्को नतिजा ध्वस सिवाय अरु केहि हुनै सक्दैन ।
आजका मानिसहरु कती गलत धारणामा चलेका छन भने उनिहरुलाई लाग्छ कि अरुलाई नदबाई आफ्नो उत्थान असम्भव छ, खुनको बदला खुनले नै दिनुपर्छ, शक्ती र सत्ताबाहेक यस दुनियामा प्राप्य चिजहरु केहि छैनन्, आफ्नो तुस्टी मेट्नु नै जीवनको लक्ष्य हो, सफलता नै अन्तिम सत्य हो अनि त्यस्का लागि गरिने सबै प्रयासहरु जायज हुन आदी आदी । अब तपाईं नै भन्नुस संसारका अरबौ मनिसहरुले यस्तै सोच राखेर सिर्फ आफ्नो स्वार्थ पुर्तिका लागि अरुको दोहन गर्न थालेपछी यस संसारमा हत्या, हिसा, अन्याय, अत्याचार, भ्रष्टाचार, दुराचार, ध्वस आदी बिकृतिहरु नबढेर के शान्तिको फुल फुल्छ त ?
अब यस्को समाधानतर्फ लागौ । एकदम सरल छ यस्को समाधान । बस, तपाईंमाथि लगाईएका अनेकन नकाबहरुलाई एक एक गर्दै उतार्नुस । पारिवारिक, सामाजिक, धार्मिक, राजनैतिक यस्तै अरु अन्य सबै नकाबहरु एक एक गर्दै उतार्नुस । तपाईं आफ्नो मुहारलाई सर्वाङ खुल्ला बनाउनुस । अब बिस्तारै आफ्नो आखा खोल्नुस् । वाह! कती सुन्दर छ यो संसार, नकाबबिहिन संसार, बन्धन बिहिन संसार, बास्तविक संसार । यो त्यही पुरानै संसार हो, तपाईंका आखा पनि तिनै हुन तर किन यती सुन्दर लागिरहेछ तपाईंलाई आज यो संसार । किनकी तपाईं बास्तविक मानवको रुपमा संसारलाई नियाल्दै हुनुहुन्छ, मानवताको आखाले संसारलाई हेर्दै हुनुहुन्छ । हो यही आखा, यही हेराई अनि यही प्रबृत्तिको खाचो छ आजको यो संसारलाई ।

बस, आफुमा यत्ती बदलाब ल्याउनुस । तपाईंका दुस्मनी र बैरभावहरु अनयासै हराउनेछन । एक मानब र अर्को मानबको बिचमा केको बैरभाब । अब तपाईं सबै मानबलाई समान देख्न थल्नुहुन्छ । उनिहरुमा बन्धुत्व खोज्न थल्नुहुन्छ तपाईं । तपाईंका अस्त्रशस्त्रहरु अनयासै भुइमा झर्नेछन्, तपाईंको मनमा प्रेम(करुणा)को टुसा अन्कुराउन थाल्ने छ, तपाईं सबैमा दया अनि करुणा भाव राख्न थाल्नुहुन्छ, तपाईं आफ्नो भन्दा अरुको खुशीको चिन्ता राख्न थल्नुहुन्छ, तपाईं सबैलाई निस्वार्थ प्रेम गर्न थाल्नुहुछ, समग्रमा भन्नुपर्दा लुट्ने भन्दा लुटाउनेको सख्या अत्याधिक भएपछी यही ससार स्वर्गमा परिणत हुन कती नै बेर लाग्छ र ।

याद राख्नुस्, यस संसारमा मानवताभन्दा ठुलो धर्म अरु कुनै छैन अनि मानव (प्राणि)सेवाभन्दा ठुदो कर्म अरु केहि छैन । तपाईंलाई लाग्दो हो आफै दरिद्र छु, अरुलाई के दिउ । हैन तपाईं बिल्कुल गलत हुनुहुन्छ । याद राख्नुस्, आज तपाईं जुन जिन्दगी जिउदै हुनु हुन्छ, त्यो जिन्दगी करोडौ मानिसको सपना हुनसक्छ । वास्तवमा तपाईं सर्बगुण सम्पन्न हुनुहुन्छ । जब सबै नकाबहरु उतारेर मानवताको आखाले तपाईं यो संसारलाई हेर्नु हुन्छ, तब तपाईंका लुप्त भएका सबै शक्तिहरु आफसे आफ प्रकट हुन थाल्ने छन । पत्यार लगेन, गरेर हेर्नुस । धनको सहयोग मात्र सहयोग होईन । मन छोटो नबनाउनुस्, तपाईंले गर्न सक्ने धेरै प्रकारका सहयोगहरु छन्, यस संसारका लागि । यही ज्ञान बाड्नु पनि ठुलो सहयोग हो । अब तपाईं सहयोग लिनेमात्र होईन, दिने भएर हिंड्नुस् । हात तल होईन, माथि पार्नुस । जस्लाई जे सहयोग आवश्यक पर्छ, मानवताको आखामा उचित लागेसम्म अनि तपाईंको योग्यता र क्षमताले भ्यायसम्म सहयोग गर्नुस्, यही नै आफ्नो जीवनको लक्ष्य बनाउनुस तपाईं । अनि हेर्नुस कसरी ईश्वरले तपाईंको हात सदा पूर्ण राख्नु हुन्छ । आफ्नो लागि होईन अरुको लागि जिउनुहोस्, जीवन पूर्ण बन्नेछ । गरेर हेर्नुहोस्, पहिलो पाइला चाली हाल्नुस्, तपाईंलाई शुभकामना!

एउटा कुरा याद राख्नुस्, भागवत गीतामा भनिएको छ, ¨तिमी के कर्म गर्छौ त्यो महत्वपूर्ण पुरा होईन, कुन नियतका साथ कर्म गर्छौ त्यो महत्वपूर्ण कुरा हो ।¨ कुनै चेलीको इज्जत बचाउनका लागि गरिएको हत्या पनि पुण्य बन्न सक्छ तर सहयोगमा स्वार्थ मिसियो भने त्यो अक्षम्य पाप बन्न जान्छ । त्यसैले सदा निस्वार्थ सहयोग गर, सहयोगमा स्वार्थ मिसाएर पापी ब्यपारी नबन । ईश्वरले तिम्रो झोला सदा परिपूर्ण रख्नुहुनेछ ।

लेखक, अभियन्ता
बर्सिलोना, स्पेन