काग्रेस सभासद खड्काको निधन प्रति नेकपा एमालेद्वारा दुःख ब्यक्त


काठमाडौँ/ नेकपा (एमाले) संसदीय दलको बैठकले बाग्लुङ जिल्ला क्षेत्र १ बाट नेपाली काँग्रेसका तर्फबाट निर्वाचित सदस्य एवम् लोकतान्त्रिक आन्दोलनका अथक योद्धा हरिबहादुर खड्काको असामयिक निधनप्रति गहिरो दुःख प्रकट गर्दै हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

सांसद खड्का बाग्लुङ जिल्लाको भकुण्डे गाविस–९ स्थित कमेरे भन्ने स्थानमा ग १ झ २२४ नम्बरको जिप दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको थियो । उपचारका क्रममा उहाँको मङ्सिर २१ गते निधन भएको थियो ।

नेकपा (एमाले)का अध्यक्ष एवम् दलका नेता केपी ओलीको अध्यक्षतामा नयाँबानेश्वरमा बसेको बैठकले हालै देशका विभिन्न भागमा भएका सार्वजनिक यातायातका साधना दुर्घटनामा परी असामयिक निधन भएकाप्रति गहिरो दुःख प्रकट गर्दै उचित क्षतिपूर्ति दिन सरकारसँग मागसमेत गरेको दलका प्रमुख सचेतक अग्नि खरेलले जानकारी दिनुभयो ।

उहाँले अगामी दिनमा सार्वजानिक यातायातका साधन दुर्घटना हुन नदिन सरकारले विशेष सक्रियता र चासो दिन बैठकले ध्यानाकर्षणसमेत गराएको छ ।

बैठकले अगामी माघ ८ भित्र नयाँ संविधान जारी गर्न दलहरूबीच थप सहमति र सहकार्यमा आवश्यक भएकामा जोडसमेत दिएको सचेतक खरेलले जानकारी दिनुभयो ।

बैठकमा दलका नेता एवम् अध्यक्ष ओली, नेता माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष विद्यादेवी भण्डारीले संविधान निर्माणका बारेमा धारणा राख्नुभएको थियो । रासस