पोखरामा वडा संख्या २८ पुग्यो, गाभिएका गाविसलाई चल अचल सम्पत्ती नगरपालिकामा अभिलेख गर्न निर्देशन


मंसिर/पोखरा
पोखरा उपमहानगरपालिकामा गाभिएका गाविसलाई एक गाविस एक वडाका रुपमा विभाजन गरिएको छ । १८ वडा रहेको उपमहानगरपालिकामा पछिल्लो क्रममा १० गाविस थप भएका थिए । पछि थप भएका गाविसलाई १० वडामा विभाजन गरिएपछि उपमहानगरपालिकामा वडा संख्या २८ पुगेको छ । पोखरा उपमहानगरपालिकाका प्रवक्ता अनन्त कोइरालाका अनुसार लामाचौर गाविसलाई वडा नं. १९ बनाइएको छ । यसैगरी वडा नं. २० मा भलाम, वडा नं. २१ मा काँहु गाविस, वडा नं. २२ मा आर्वा विजय गाविस वनाइएको छ ।

निर्मल पोखरीलाई वडा नंं २३, कृस्ति गाविस २४, पुम्दी भुम्दी २५, सराङकोट २६, हेम्जा २७ र २८ नम्बर वडामा अर्मला गाविसलाई मिलाइएको छ ।
संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव डा. सोमलाल सुवेदी पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत रहेका नगरपालिकाका कार्यकारी अधिकृतसंग कार्यसम्पादनमा संझौताका लागि सोमबार पोखरा आउँदा वडा नंं १९ को कार्यालय उद्घाट्न गर्ने कार्यक्रम रहेको छ ।

यता लेखनाथ नगरपालिकामा गाभिएको भरतपोखरी गाविसलाई भने ३ वटा वडामा विभाजन गरिएको छ । यो सँगै लेखनाथको वडा संख्या १८ पुगेको छ । मन्त्रालयले मंसिर १८ मा एक परिपत्र गर्दै, गाविसबाट हुँदै आएका काम नगरपालिकाबाट संचालन गर्न निर्देशन दिएको छ । साथै गाविसका खाताहरु वन्द गरी नगरपालिकाको खातामा ल्याउन, चल अचल सम्पत्ती नगरपालिकाको जिन्सीमा अभिलेख खडा गर्न समेत निर्देशन दिइएको छ । नगरपालिकाको वडाकार्यालय वा केन्द्र स्थानीय सर्वपक्षिय राजनितिक वा सर्वदलिय बैठकबाट टुंगो लगाई मन्त्रालयबाट स्विकृत गरी संचालन गर्न, मन्त्रालयबाट अर्को आदेश नआएसम्मका लागि थप कर्मचारी भर्ना नगर्न समेत मन्त्रालयले निर्देशन दिएको छ ।