सुरक्षा निकाय जिम्मेवारी पुरा गर्न सक्षम छन्: गृहमन्त्री


काठमाडौँ/ उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सार्कको १८औँ शिखर सम्मेलन सुरक्षाफौजको लगनशीलता र प्रतिवद्धताअनुरुपको जिम्मेवारीले सफल भएको बताउनुभएको छ ।

शिखर सम्मेलनका लागि गठित सुरक्षा परिवहन तथा यातायात समन्वय तथा नियन्त्रण समितिद्वारा  सैनिक मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दे उहाले ज्यादै छोटो समयमा यति ठूलो जिम्मेवारी पुरा गर्न सुरक्षा निकाय सक्षम छन् भन्ने सन्देश दिन सफल भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो– सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ, कुनैपनि क्षेत्रमा कमी कमजोरी भएको छैन, यसले नेपालीहरु राष्ट्रपति बफादार र इमान्दार छन् जस्तो सुकै जिम्मेवारी वहन गर्न सक्छन भन्ने देखाएको छ ।

प्रधानसेनापति गौरवसम्शेर राणाले अतिनै संवेदनशील र जटिल रहेको सार्क सम्मेलनलाई एकीकृत सुरक्षा प्रणालीका माध्यमबाट सहज रुपमा जिम्मेवारी पूरा गर्न सहयोग पुगेको बताउनुभयो ।

युद्धकार्य निर्देशक देवेन्द्रबहादुर मेधासीले सम्मेलन क्रममा गरेको पूर्वतयारी, सम्पूर्ण काम र आगामी दिनमा त्यस्ता सम्मेलन आयोजना गर्दा हेक्का राख्नुपर्ने विषयमा विस्तृतरुपमा जानकारी गराउनुभयो ।

‘शान्ति र समृद्धिका लागि गहन सम्मिलन’ मुल नारा रहेको सार्कको १८औँ शिखर सम्मेलन यही मङ्सिर १० र ११ काठमाडौँमा सम्पन्न भएको थियो ।

सम्मेलनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका समेत गरी २६ हजार ६४७ जना सुरक्षा फौज परिचालन गरिएको थियो ।

आगामी दिनमा यस्ता किसिमका सम्मेलनको आयोजना गर्दा एकवर्ष अघि नै आवश्यक समिति गठन गरिनुपर्ने, सम्मेलनस्थलमा ठूला प्रवेशद्वार बनाइनुपर्ने, रिट्ररिटस्थल सडकको सजिलो पहुँच हुने स्थान छनोट गरिनुपर्ने, सम्मेलनका लागि बेग्लै सवारी साधनको व्यवस्था गरिनुपर्ने सुझाव दिइएको थियो । रासस