प्रधानमन्त्रीबाट बाग्लुङका सभासद् खड्काको स्वास्थ्य स्थितिको जानकारी


काठमाडौँ/ – प्रधानमन्त्री सुशील कोइरालाले गाडी दुर्घटनामा परी बाँसवारीस्थित न्युरो अस्पतालमा उपचार गराइ रहनु भएका सभासद् हरिबहादुर खड्काको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको छ।

बाग्लुङमा  दुर्घटनामा परी उपचारार्थ अस्पताल ल्याइएका खड्काको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्री कोइरालाले अस्पतालमै पुगेर जानकारी लिनुभएको प्रधानमन्त्रीका प्रेस सहयोगी प्रकाश अधिकारीले  जानकारी गराउनुभयो।

बागलुङस्थित पैयुँपाटा बहुमुखी क्याम्पसमा स्नातकोत्तर तह सञ्चालनका लागि आजदेखि सुरु गर्न लागिएको धान्याञ्चल महायज्ञमा सहभागी हुन जाने क्रममा बागलुङ नगरपालिकाको ग१झ २२४ नम्बरको जिप बागलुङको भकुण्डे गाविस–९ गलुवाको कमेरेखोल्सामा पल्टिँदा सभासद् खड्का गम्भीर घाइते हुनुभएको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य जीवलाल खरेलले जानकारी गराउनुभयो।

घाइते सभासद् खड्कालाई थप उपचारका लागि हेलिकप्टर मार्फत आजै काठमाडौँ ल्याइएको हो । नेपाली काँग्रेस बागलुङका सचिव समेत रहेका खड्का दोस्रो संविधानसभाको निर्वाचनमा बागलुङ क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ निर्वाचित हुनुभएको थियो। रासस