कार्यतालिका छोट्याएर भएपनि माघ ८ भित्रै संविधान जारी गर्नुपर्छ – केपी ओली


बुटवल/- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कार्यतालिका छोट्याएर भएपनि माघ ८ भित्रै नयाँ संविधान जारी हुनुपर्ने बताउनुभएको छ।

नेकपा (एमाले)को केन्द्रीय राजनीतिक पत्रिका ’नवयुग’ मासिकको रजत वर्षका अवसरमा केन्द्रीय प्रचार विभागद्वारा बुटवलमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले माघ ८ मा संविधान जारी हुन नसके संविधान विरोधी उग्रवादी र अतिवादी शक्तिले अनेकखाले षड्यन्त्र गरेर बितण्डा मच्याउने धारणा राख्नु भयो।

उहाँले दोस्रो संविधानसभा चुनावका बेला जनतामाझ सबै दलले माघ ८ भित्रै संविधान जारी गर्ने प्रतिबद्धता जाहेर गरेर संविधानसभा नियमावली सर्वसम्मतले निर्माण गरेको भएपनि अहिले एमाओवादीलगायत केही दलले बितण्डा मच्याउन खोजेको आरोप लगाउनु भयो।

माघ ८ मै संविधान ल्याउने विश्वासका साथ एमाओवादी नेता बाबुराम भट्टराईलाई राजनीतिक सहमति तथा संवाद समितिको सभापति बनाइएपनि उहाँले एमाओवादी पार्टीको स्वार्थअनुसार काम गरेकाले उहाँको सभापतित्वमाथि प्रश्न उठेको अध्यक्ष ओलीले बताउनुभयो।

संविधान निर्माणका लागि हिंसा भड्काउने र जातीय विद्वेश फैलाउने जस्ता गतिविधिप्रति एमालेले कसैसँग सम्झौता नगरिने भन्दै अध्यक्ष ओलीले शान्ति र लोकतन्त्रका आधारभूत मूल्य मान्यताविपरितका गतिविधिलाई रोक्न एमाले प्रतिबद्ध भएर लागेको उल्लेख गर्नु भयो। उहाँले छिमेकी मुलुकहरूको उदाहरण दिँदै नेपाल जस्तो सानो मुलुकले सङ्घीयतामा धेरै प्रदेश राज्यले धान्न नसक्ने बताउँदै हिमाल, पहाड र तराईलाई जोड्ने गरी थोरै प्रदेश बनाउइनुपर्ने धारणा राख्नु भयो ।

कार्यक्रममा एमालेका उपमहासचिव विष्णु पौडेलले वर्तमान संविधान सभाले नै माघ ८ भित्रै संविधान जारी गर्न नसके देश दुर्घटनामा पर्ने बताउनुभयो । उहाँले अघिल्लो संविधानसभाबाट शिक्षा लिएकाले अहिलेको संविधानसभा असफल नहुने प्रष्ट पार्नुभयो।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सूर्य थापा, नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट, प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्याल, सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव)का अध्यक्ष मोहन चापागाईं, एमाले रूपन्देही अध्यक्ष भोजप्रसाद श्रेष्ठ, उपाध्यक्ष शिवराज सुवेदीलगायतले एमालेको मुखपत्र ‘नवयुग’को विगत र वर्तमानबारे धारणा राख्नु भएको थियो । कार्यक्रम एमाले केन्द्रीय सचिव एवम् प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीको अध्यक्षतामा भएको थियो । रासस