बालोन डि’ओरको अन्तिम तीनमा रोनाल्डो, मेस्सी र नुयुर


काठमाडौं / त्रिष्टियानो रोनाल्डो र लिओनल मेस्सी फिफा बालोन डि’ओर अवार्डका प्रमुख दाबेदार हुन् ।
विश्वको उत्कृष्ट फुटबलरलाई दिइने यो अवार्डको अन्तिम प्रतिस्पर्धामा रोनाल्डो र लिओनल मेस्सीसँग जर्मन गोलकिपर म्यानुअल नुयुर पनि परेका छन् ।
फिफाले गएराति २३ जनाको सूचीबाट अन्तिम तीनको नाम सार्वजनिक गरेको हो । बालोन डि’ओरको विजेताको घोषणा जनवरी १२ मा हुनेछ ।

गत वर्ष रियल मड्रिडका फवार्ड रोनाल्डोले बालोन डि’ओरको उपाधि जितेका थिए । यसअघि म्यानचेष्टर युनाइटेडमा रहँदा उनले २००८ मा पनि यो अवार्ड जिते ।
त्यसपछिको चार वर्ष मेस्सीले राज गरे । उनले २००८ देखि १२ सम्म उपाधि जितेर लगातार चार पटक बालोन डि’ओर जित्ने पहिलो खेलाडी बने ।
पोर्चुगलका २९ वर्षीय रोनाल्डोले २०१४ को ४६ खेलमा ५० गोल गरिसकेका छन् । उनले रियल मड्रिडलाई च्याम्पियन्स लिगसँगै कोपा डेल रे र यूइएफए सुपर कपको उपाधि दिलाए ।

२७ वर्षका मेस्सीले भने हालै मात्र दुई कीर्तिमान बनाए । उनले ला लिगा र च्याम्पियन्स लिगमा सर्वाधिक गोलको कीर्तिमान बनाएका हुन् । क्लब फुटबलमा कुनै उपाधि नदिलाए पनि उनको उत्कृष्ट प्रदर्शनसँगै अर्जेन्टिनाले विश्वकपको फाइनलसम्म यात्रा तय गरेको थियो । उनले गोल्डेन बल समेत जिते ।
जर्मन र बार्यन म्युनिखका गोलरक्षक नुयुर जर्मनीले विश्वकपको उपाधि जित्दा टीमका महत्वपूर्ण सदस्य थिए । उत्कृष्ट गोलकिपर बन्दै उनले गोल्डेन ग्लोब समेत हात पारेका थिए ।

नुयुर बालोन ओलिभर कानपछि डि’ओरको अन्तिम तीनमा पर्ने पहिलो गोलरक्षक समेत हुन् ।
जर्मनका लो, रियल मड्रिडका कार्लो एन्सेलोटी र एल्थेटिको मड्रिडका डिएयो साइमन उत्कृष्ट प्रशिक्षकको अन्तिम तीनमा परेका छन् ।