प्रहरीको गाडीको ठक्करबाट घाइते दुई युवा अस्पतलमा अलपत्र


 

भरत कोइराला,

पोखरा

शान्ति सुरक्षाको जिम्मा लिएको नेपाल प्रहरीकै गाडीको ठक्कबाट घाइते भएका दुई युवा मनिपाल मेडिकल कलेजको हाडजोर्नी विभागस्थित ओपीडीमा अलपत्र परेका छन् । गलत दिशाबाट आएको प्रहरीको गाडीले गत बिहीबार पोखराको नदीपुरस्थित भीसी मार्गमा छिर्ने क्रममा ग७प ४९८६ नम्बरको मोटसाइकललाई ठक्कर दिएका थियो । मोटरसाइकलमा सवार स्याङ्जा पक्वादीका २३ वर्षे हुमबहादुर गाहा र राङभाङका २० वर्षे कमल थापा सख्त घाइते भएका छन् ।

नदीपुरबाट भीसीमार्गमा छिर्न साइडलाइट बालेर बिस्तारै अघि बढेका बेला तीब्र गतिमा आएको प्रहरीले मोटरसाइकलालाई ठक्कर दिंदा गाहा र थापाको दुबैका देब्रे खुट्टा भाँच्चिएको छ । गाहको देब्रे हातमा समेत गम्भीर चोट लागेको छ । गाहा पोखरामै बसेर मोबाइल मर्मत सम्बन्धी तालिम लिंदै आएका छन् भने थापा पृथ्वीनारायण वहुमुखी क्याम्पसमा बीबीएस अध्ययनरत छन् । घटनालगत्तै दुवैजनालाई प्रहरीले मनिपाल पु¥याएको थियो । हाल मनिपालमा उनीहरुको सामन्य उपचार भए पनि प्रहरीको बेवास्ताका कारण शल्यक्रिया हुन सकेको छैन ।

घाइते गाहाले भने, ‘घटनालगत्तै अस्पताल ल्याइदिंदा त उपचार गरिदिन्छन कि भन्ने लागेको थियो, अहिले त हामीसँग त्यस्तो रकम हुँदैल अस्पतालसँगै कुरा गर भनेर प्रहरीले टारेको छ ।’ अस्पताल भर्ना भएलगत्तै शल्यक्रिया गर्नुपर्ने भए पनि रकम अभावमै उनीहरु पीडा खपेर बस्न वाध्य भएका छन् । घटनापछि स्याङ्जाबाट आएका आफन्त पनि प्रंहरीकोमा धाउँदा धाउँदै थाकिसके । तर प्रहरीको व्यवहारबाट आजित भइसकेको घाइतेका आफन्त थमनसिंह रानाले दुखेसो पोखे । पहिला आइतबार शल्यक्रिया गर्ने प्रहरीले बताएपछि उनीहरु ढुक्क भएर बसेका थिए । त्यसपछि सोमबारलाई भनियो, अब कहिले शल्यक्रिया हुने टुंगो छैन, घाइतेद्वयले गुनासो पोखे । सुरक्षाको जिम्मा लिएको प्रहरीबाटै भएको यस्तो ब्यवहार देखेर दुख लागेको उनीहरुले बताए ।

अहिले अस्पतालले प्रहरीकै आग्रहमा सामान्य प्लास्टर गरी उपचार गर्दै आएको छ । तर समयमै शल्यक्रिया नभए घाउमा संक्रमण समेत हुनसक्ने चिकित्सकले जनाएका छन् । घाइतेका आफन्तहरुले आफूहरुसँग पैसा नभएकै कारण तत्कालै शल्यक्रिया गर्न नसकिएको गुनासो गरेका छन् ।
पटकपक जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी वसन्तकुमार लामासँग भेटेर कुरा गरेका थमनसिंह रानाले भने,‘जति पटक भेटे पनि उही कुरा गर्नुहुन्छ, यता घाइतेले पीडा सहनै नसक्ने अवस्था आइसक्यो ।’ बरु मोटरसाइकलको बिमा गरेको कम्पनिसँग कुरा गरेर रकमको जोहो गर्न सल्लाह दिएको उनले बताए । एसपी लामाले गत बिहीबार विद्यार्थीहरुले जिल्ला शिक्षा कार्यालय कास्कीमा आगजनी गर्न थालेको खबर पाएपछि गएको प्रहरीको गाडीले दूर्घटना गराएको स्वीकार गरे । तर प्रहरीसँग उपचारका लागि रकम नहुने भएकाले अस्पतालप्रशासनसँग अनुरोध गरिएको उनले बताएका छन् ।