भ्रमण गर्नेपर्ने दश मुलुकको सूचीमा नेपाल नवौँ स्थानमा


 

काठमाडौँ/ – विश्वविख्यात अमेरिकी पत्रिका फोब्र्सले सन् २०१५ मा भ्रमण गर्नैपर्ने १० मुलुकको सूचीमा नेपाललाई पनि समावेश गरेको छ। उक्त पत्रिकाको पछिल्लो संस्करणमा एन आबेलले प्रकाशन गरेको ‘द टेन कुलेस्ट प्लेसेस् टु भिजिट इन २०१५’ शीर्षकको आलेखमा नेपाललाई नवौँ स्थानमा समावेश गरिएको छ।

नेपाल पदयात्रीहरुको स्वर्ग भन्दै आलेखमा नेपाल क्रमशः आरामदायी गन्तव्य मुलुकका रुपमा विकसित हुँदै गएको प्रष्ट गरिएको छ। चकित पार्ने नेपालको सौन्दर्य र विविध कलात्मक परम्परा, उच्च हिमशृङ्खला, पहाडी उपत्यका, मठ मन्दिर र गुम्बाले नेपाललाई भ्रमण गर्नै पर्ने मुलुक बनाएको छ” आलेखमा भनिएको छ।

फुर्सदका बेला फेवातालमा डुङ्गा खियाउँदै त्यसमा देखिने मनोरम हिमच्छादित टाकुराले नेपालको प्राकृतिक सौन्दर्यमा निखार थपेको आलेखमा लेखिएको छ। आलेखअनुसार भ्रमण गर्नैपर्ने प्रमुख १० मुलुकको सूचीको पहिलो स्थानमा आइसल्याण्ड, दोस्रोमा मोरक्को, तेस्रोमा भियतनाम, चौथोमा अमेरिका, पााचौँमा तस्मानिया, छैटौँमा कोलम्बिया, सातौँमा जापान, आठौँमा अर्जेन्टिना र दशौँमा श्रीलङ्का छन्। रासस