नेपालमा पूँजीवादी क्रान्ति मूल रुपमा पुरा भयो- वर्षामान पुन ‘अनन्त’


पोखरा/

एकीकृत नेकपा (माओवादी) का सचिव तथा पूर्व अर्थमन्त्री वर्षामान पुन ‘अनन्त’ले नेपालमा पूँजीवादी क्रान्ति पुरा भएको बताएका छन् । माक्र्सवादी अध्ययन स्रोत केन्द्र पोखराद्धारा प्रकाशित मुखपत्र ‘अग्निशिखा’ को शनिबार पोखरामा विमोचन गर्दै नेता पुनले यस्तो बताएका हुन् । ‘नेपालमा पूँजीवादी क्रान्ति मूल रुपमा पुरा भयो, तर विश्वमा भएका अभ्यासहरुजस्तै नयाँ जनवादी क्रान्तिको रुपमा भएन ।’

नेता पुनले थपे, ‘राजतन्त्रको अन्त्य, सामन्ती उत्पादन प्रणालीमा आएको परिवर्तन, कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको हिस्सा घट्नु, संघीयता, समावेशी, समानुपातिक प्रणालीको स्थापना, वैज्ञानिक भूमिसुधारको व्यवस्थाजस्ता विषयले अब मुलुक सामन्तवादमा रहेन ।’ पुनले ‘पूँजीवादी क्रान्तिको नेतृत्व सर्वहारा वर्गको हातबाट दलाल नोकरशाही पूँजीपति वर्गको हातमा पुगेको’ भन्दै पूँजीवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्न र समाजवादी क्रान्तिको तयारीका लागि नयाँ संविधानमा उत्पीडनका पाँच रुपहरुलाई सम्बोधन गरिनुपर्ने बताए ।

पूर्व अर्थमन्त्रीसमेत रहेका पुनले ‘सामन्तवादको उपरिसंरचना भत्किएपनि आधारहरु बाँकी रहेको र त्यो पनि भत्किने क्रममा भएको’ दावी गरे । अर्को एक प्रसङ्गमा नेता पुनले ‘संघीयताको मुद्धा जातीय मुद्धा नभएको भन्दै उत्पीडित जातिभित्र उत्पीडित वर्गकै बाहुल्यता रहेको दावी गरे । पुनले भने, ‘दलित अधिकारको कुरा उठाउँदा त्यहाँ दलितको मात्र कुरा आउँदैन, दलित समुदायभित्र रहेका अत्याधिक संख्यामा रहेका सर्वहारा वर्गको अधिकारको कुरा आउँछ ।’ नेता पुनले अहिले भइरहेको बहस जातीयजस्तो देखिएपनि एमाओवादीले वर्गीय मुद्धालाई नै केन्द्रमा राखेको पनि बताए ।