आइतबार कास्कीका निजी विद्यालय बन्द, मंगलवारबाट शैक्षिक आमहड्ताल


-राजन उपाध्याय

मंसिर/आफ्ना मागहरु प्रति वेवास्ता गरेको भन्दै संयुक्त विद्यार्थी संगठनले आइतवार कास्कीका निजी विद्यालय बन्द गराउने निर्णय गरेका छन् । शनिवार साँझ सम्पन्न विद्यार्थी संगठनको बैठकले यस्तो निर्णय गरेको अनेरास्ववीय कास्कीका सह–संयोजक शेखर गौतमले जानकारी दिनुभएको छ । सोमवार सबै शैक्षिक संस्था बन्द गर्ने र मंगलबारबाट शैक्षिक आम हड्ताल गर्ने निर्णय भएको गौतमले जानकारी दिनुभयो ।

आन्दोलनका क्रममा पक्राउ परेका विद्यार्थी नेता नेत्र चापाँगाईको रिहाईको माग गर्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको उनीहरुले बताएका छन् । साथै बिना अनुमति सञ्चालित विद्यालय , मन्टेश्वरी , ट्युसन इन्स्चिट्युडहरु खारेज गर्नुपर्ने माग राख्दै आएका छन् । विद्यार्थी सङगठनहरुले शुक्रवार पोखराका निजी तथा सामुदायिक विद्यालय बन्द गराएका थिए भने न्युरोडमा रहेको नोबेल एकेडेमीमा आगजनी समेत गरेका थिए ।

यस अघि शुक्रवार कास्कीका प्रमुख जिल्ला अधिकारी सहित राजनीतिक पार्टीका प्रतिनिधिको बैठकमा पार्टी एवम नागरिक समाजका प्रतिनिधिहरुले विद्यालय नियमितरुपमा सञ्चालन गर्ने निर्णय गरेका थिए । अराजक गतिविधिमा सग्लग्न व्यक्तिहरुलाई कानुन अनुसार कार्वाही गर्न सहमत भएका थिए । तर पार्टीले हस्तक्षेप गर्न खोजेको भन्दै गिरफ्तारमा परेका विद्यार्थी नेता चापाँगाइलाई विनासर्त रिहाई गर्न माग गरेका छन् । यता सो आन्दोलनमा आफ्नो संगठनको कुनै संलग्नता नभएको नेपाल विद्यार्थी संघ कास्कीले जनाएको छ ।