फेवाताल अतिक्रमण गर्नेलाई तत्काल प्रहरी खटाएर पक्राउ गर्न मुख्य सचिवको निर्देशन


 

-गिता राना मगर

नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेलले फेवाताल अतिक्रमण गर्नेलाई तत्काल कारवाही गर्न क्षेत्रिय प्रशासक र प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्नुभएको छ । पोखराको पर्यटकिय केन्द्रविन्दुको रुपमा रहेको फेवातालको नक्सांकन गरी अतिक्रमण भएको जग्गा प्रति प्रशासनले चासो देखाउनुपर्नेमा उहांले जोड दिनुभयो ।

शनिवार पोखरा आइपुग्नुभएका मुख्य सचिव पौडेलले फेवाताल अवलोकनका क्रममा पामे पुग्ने क्रममा पश्चिमाञ्चल क्षेत्रिय प्रशासक दिनेश कुमार थपलिया र कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर रावतलाई तत्काल फेवाताल अतिक्रमण गर्नेलाई कानुनी कारवाही गर्न आग्रह गर्दै तालको नक्सांकन अनुसारको मापदण्ड लागु गर्न आग्रह गर्नुभयो ।

पोखराको मुख्य केन्द्रविन्दुका रुपमा रहेको फेवाताललाई अहिले अतिक्रमणबाट जोगाउन नसकेको खण्डमा भावी पुस्ताले फेवातालको रुप देख्न नसक्ने भन्दै तत्काल अतिक्रमण रोक्न र अतिक्रमित जग्गा फिर्ता गरी अतिक्रमण गर्नेलाई कारवाही गर्न प्रमुख जिल्ला अधिकारीलाई मुख्य सचिव पौडेलले ठाडो आदेश दिनुभयो । पौडेलले भन्नुभयो यो हामी सवैको साझा सम्पति हो यसलाई अतिक्रमण गर्नेलाई हामीले छुट दिनुहुदैन तत्काल प्रहरी खटाएर पक्राउ गर्नुस अनि काम सुरु गर्नुस ।

त्यसैगरी फेवाताल किनार वरपर घर तथा टहरा वनाउनेहरुलाई पनि कारवाही गर्न मुख्य सचिव पौडेलले आग्रह गर्नुभयो । फेवाताल किनार वरपर घर तथा टहराहरु निर्माण गरी त्यसवाट निस्कने माटो तथा फोहोरले फेवाताल पुरिने तथा प्रदुषण हुने भएकाले यसलाई रोक्नुपर्ने उहांको भनाइ रहेको थियो । फेवाताललाई जोगाउन स्थानिय प्रशासनदेखि, पर्यटन ब्यवशायीहरु, तथा सम्पूर्ण पोख्रलीहरु लागी पर्नुपर्नेमा उहांले जोड दिनुभयो ।

अवलोकनका क्रममा सहभागी क्षेत्रिय प्रशासक दिनेश कुमार थपलिया र प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर रावतले पर्यटन ब्यवयशायीहरुको मनोमानीका कारण फेवाताल अतिक्रमणमा परिरहेको मुख्य सचिव समेत जानकारी गराउनुभएको थियो ।