सार्क सम्मेलनमा बक्ताहरुको सुची कस्तो छ त ?


काठमाडौं / सार्क सम्मेलनका सबै तयारी पूरा गर्ने क्रममा आयोजक नेपालले सम्बोधन कार्यक्रम पनि तय गरेको छ । मंसिर ६ देखि हुने सार्क शिखर सम्मेलनको प्रक्रिया सहसचिव स्तर, सचिव स्तर हुँदै परराष्ट्रमन्त्री स्तर पछि मुख्य सम्मेलन राष्ट्र एवं सरकार प्रमुखको स्तरको मुख्य सम्मेलन मंसिर १० को बिहान ९ बजे र ३० मिनेट जाँदा प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गरेपछि आरम्भ हुनेछ ।

सार्कको वर्तमान अध्यक्ष माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिनले भाषणबाट सम्मेलन सुरुवात हुनेछ । त्यसपछि प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन भाषण गर्ने कार्यक्रम छ । त्यसपछि सम्मेलनको एजेन्डाहरू राखिने छन् । त्यसपछि सार्कको अध्यक्षता नेपाललाई हस्तान्तरण हुनेछ । नेपालले अध्यक्षता गरेपछि आगामी सार्कको अध्यक्षको क्रममा रहने पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले मन्तव्य दिनेछन् । उनी पछि क्रमशः श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षे, अफगानिस्तानका राष्ट्रपति अस्रफ घानी, बंगलादेशका प्रधानमन्त्री शेह हसिना वाजेद र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले बोल्ने छन् । भुटानपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बोल्ने कार्यक्रम छ ।

अध्यक्षबाट निवर्तमान भएका माल्दिम्सका राष्ट्रपति यामिनले पुनः बोल्ने छन् । त्यसपछि सार्कका महासचिव अर्जुनबहादुर थापाले १७ औं शिखर सम्मेलनदेखि अहिलेसम्मको विश्लेषणात्मक मन्तव्य राख्ने छन् । यी सबै मन्तव्यका लागि प्रत्येकलाई बढीमा १० मिनेट समय छुट्याइएको छ । त्यसपछि सार्कका नौ पर्यवेक्षकका लागि ४५ मिनेट समय दिइने छ । उनीहरूले बढीमा पाँच मिनेट बोल्न पाउनेछन् । विदेशमन्त्रीस्तरमा उनीहरूको उपस्थिति हुनपर्नेमा अहिले राज्य वा उपमन्त्री स्तरमा सहभागिता रहनेछ । विदेशमन्त्रीहरूले प्रस्तुत गरेको विभिन्न प्रतिवेदनहरूको अध्ययन गर्ने र छलफल गर्ने कामलगत्तै सार्क समझदारीमा हस्ताक्षर हुनेछ ।

यसका लागि बिहान ९.३० देखि १.३० सम्मको समय लाग्ने उल्लेख छ । त्यस दिन उनीहरूलाई प्रधानमन्त्री कोइरालाले रात्रिभोज दिने कायक्रम छ । भोलिपल्ट बिहान सीधै रिटि्रटका लागि धुलिखेल जाने कार्यक्रम छ । धुलिखेलबाट फर्केर चार बजे विसर्जन कार्यक्रम हुनेछ । मंसिर ११ का दिन चार बजेपछि कार्यक्रम सुरु हुनेछ । त्यहाँ अर्कोर् शिखर सम्मेलन कहिले र कहाँ गर्ने भन्नेबारे निर्णय हुनेछ । छलफलपछि तय घोषणपत्र स्वीकार गर्ने कार्यक्रम हुनेछ । सार्कका अध्यक्ष कोइरालाले समापन मन्तव्य राखेपछि शिखर सम्मेलन सम्पन्न हुनेछ । –