जनसम्पर्क अधिवेशन लागि नेता कार्यकर्ताहरु टेक्सासमा


न्युयोर्क/ अमेरिका स्थित कांग्रेसको प्रवास संगठन जनसम्पर्क समितीको दोस्रो अधिवेशनको लागि दक्षिण पूर्वी अमेरिकी राज्य टेक्सासको डालासमा उल्लेखीयरुपमा नेता देखि कार्यकर्ताहरु ओइरिएका छन् । संभवत, जनसम्पर्क समिति, अमेरिकामा प्रवासी नेपालीहरु आवद्व सबैभन्दा ठुलो र क्रियाशील संस्था हो । अमेरिकामा रहेका कांग्रेस समर्थकहरुबाट छानिएका एक हजार प्रतिनिधि रहेको एकता अधिवेशन शनिबार देखि दुई दिनसम्म चल्नेछ । अधिवेशनका लागि नेपाल कांग्रेसका उपसभापति रामचन्द्र पौडेल सहित आधा दर्जन केन्द्रीय नेताहरु डालास आइपुगेका छन् भने विभिन्न राज्यहरुबाट प्रतिनिधि एवम् पर्यवेक्षकहरु डालास आउने क्रम जारी रहेको अधिवेशन आयोजक समितिका संयोजक ज्ञानेन्द्र कार्कीले ईकान्तिपुरलाई बताए । तयारीले पूर्णता पाएको बताउँदै डालास फोर्थवर्थ च्याप्टरका सभापति समेत रहेका कार्कीले भने ‘६ सय प्रतिनिधिको उपस्थित हुने हाम्रो अनुमान छ ।’

विपी कोइरालाको भारत प्रवासको क्रममा सन १९७० को मध्यतिर स्थापना गरिएको जनसम्पर्क समिति, अहिले विभिन्न मुलुकहरुमा सक्रिय रहेको छ । पार्टीले जनसम्पर्कलाई एक निर्वाचन क्षेत्रको बराबरको हैसियत प्रदान गरेको छ । कांग्रेसको आगामी महाधिवेशनमा कम्तीमा एक दर्जन भन्दा बढी प्रतिनिधीहरु अमेरिकाबाट सहभागी हुने पृष्ठभुमिमा पार्टीले अधिवेशनलाई महत्व दिएको बुझिएको छ । उपसभापति पौडेलका अतिरिक्त केन्द्रीय सदस्यहरु डा. प्रकाशशरण महत, सुरेन्द्र पाण्डे, दिपक गिरी, अर्जुन जोशी सहित, सभासद धु्रव वाग्ले र युवा नेता विश्वप्रकाश शर्मा डालास आईपुगिसकेका छन् । स्थापनाकाल देखि गुटबन्दी एवम चर्काे विवादमा रुमल्लिएको अमेरिका स्थिती जनसम्पर्कले सन २००७ मा कनेटीकेट राज्यको हार्टफोर्डमा पहिलो अधिवेशन गरेको थियो । अधिवेशनको वैधानिकता माथि प्रश्न उठाउदैं अर्को समुहले न्युयोर्क अधिवेशन गरेपछि जनसम्पर्कको गुटबन्दी एवम विवाद, सतही बनेको थियो । त्यसपछि निरन्तर, विभाजित पक्षबीच आरोप प्रत्यारोप चल्दै आएको छ ।

janasamparka-samiti-USA

आइतबार सम्म संचालन हुने अधिवेशनको उदघाटन शनिबार पार्टी उपसभापति रामचन्द्र पौडेलले गर्नेछन् । ‘नेपालमा शान्ति र संविधान’ नारा दिईएको अधिवेशनमा विदेशमा बस्ने नेपालीलाई दोहोरो नागरिकताको व्यवस्था सम्बन्धी पार्टीको निती अनुरुप पहलका लागि अधिवेशनले आधिकारिक निर्णय गर्ने संयोजक कार्कीले बताए । अधिवेशनको सबैभन्दा महत्वपुर्ण पक्षको रुपमा रहेको नयाँ नेतृत्वको चयनका लागि चर्को दौडधुप शुरु भईसकेको सहभागीहरुले बताएका छन् । ईकान्तिपुरसँगको टेलिफोन सम्पर्कमा प्रतिनिधी रहेका दुर्गेश कार्कीले भने’ चुनावी मौहाल निकै तातिएको छ र यसले नेपालको राजनितीक सभा सम्मेलनको झल्को दिएको छ ।’ नेतृत्वका लागि आनन्द बिष्ट, बिष्णु सुवेदी, डा.अर्जुन बञ्जाडे र चित्रा केसी आ-आफनो दाबेदारिता प्रस्तुत गरिसकेका छन् भने महासचिवमा मुनेन्द्र नेम्वाङ, धनन्जयनरसिंह केसी र वेद खरेलको नाम चर्चामा छ । सहमतीको लागि प्रयास भईरहेपनि विवाद र गुटबन्दीको विगत र वर्तमान परिदृश्यमा यो संभव नरहेको एक सहभागीले बताए । उनले भने’ चुनाव हुने निश्चितप्राय नै छ । मुख्य कुरा, अधिवेशन पछिको एकता कति प्रभावकारी हुन्छ भन्ने कुरा हो ।’ बन्द सत्रपछि शनिबार नै उम्मेदवार मनोनयनको कार्यक्रम रहेको र निर्वाचन आइतबार हुनेछ ।

– ekantipur