मोदीको धार्मिक भ्रमण स्थगनबारे जानकारी छैन-भारतीय राजदूत


काठमाडौं / नेपालका लागि भारतीय राजदूत रणजीत रेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काठमाडौं बाहिरको धार्मिक भ्रमण रद्द भएको बारे दूतावासलाई कुनै जानकारी नरहेको दाबी गरेका छन् ।
रिपोर्टस क्लब नेपालको साक्षात्कारमा शुक्रबार बिहान उपस्थित भएका राजदूत रेले पत्रकारको पटक-पटकको जिज्ञासापछि यसबारे दूतावासलाई जानकारी नभएको बताएको क्लबका अध्यक्ष ऋषि धमलालले बताए ।
‘यसबारेमा नेपाल सरकारको कुरा जे आएको छ, मलाई आधिकारिक जानकारी छैन,’ रेले भने, ‘हामी छलफलमै छौं, कसरी यस्तो कुरा बाहिर आयो हामी बुझ्दैछौं ।’
भारतीय राजदूतले मोदी भ्रमण स्थगनको सूचना नेपाल सरकारले जसरी बाहिर ल्यायो, त्यसप्रति असन्तुष्टि जनाएको धमलाले बताए ।
राजदूत रेलाई प्रधानमन्त्री कार्यालयमा यसबारे जानकारी दिन बोलाइएको स्रोतले जनाएको छ ।
अब मोदीको सार्क सम्मेलनको सम्पूर्ण कार्यक्रम नै अदल-बदल हुने संकेत राजदूतले गरेका छन् ।
यसैबीच गृहमन्त्रालयका अधिकारीले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका धार्मिकस्थल भ्रमण रद्द गरेकोबारे औपचारिक जानकारी नभएको बताएका छन् । गृहमन्त्रालयका सचिव सूर्यप्रसाद सिलवालले परराष्ट्र मन्त्रालयबाट मोदीको जनकपुर भ्रमण रद्द भएको व्यहोराको पत्र नपाएको बताएका हुन् ।