पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला शुरु


पोखरा/पोखरा उद्योग वाणिज्य संघको आयोजनामा बिहीबार ‘राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७१’ सुरु भएको छ । मेलाको अर्थमन्त्री डाक्टर रामशरण महतले उद्घाटन गरे ।अर्थमन्त्री महतले पश्चिमाञ्चल क्षेत्रमा विकास निर्माणका ठुला आयोजना बन्ने बताएका छन् । क्षेत्रीयस्तरका अन्तर्राष्ट्रिय विमानस्थल, १ सय ४० मेगावाट क्षमताको तनहुँ हाइड्रो, लम्जुङमा ६ सय मेगावाट क्षमताको अपर मस्र्याङदी आयोजना, बेनी–जोमसोम सडकलाई कालोपत्रे गर्ने योजना अगाडि बढिरहेको उनले बताए । पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानसमेत निर्माण हुने उनको भनाइ छ । ‘पर्यटकीय नगरी पोखरालाई स्वास्थ्य, शिक्षा, खेलकुदको शहरका रुपमा पनि विकसित गरिनुपर्छ,’ उनले भने । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले नेपालमा आयोजना हुने मेला तथा महोत्सवले आर्थिक गतिबिधिलाई अगाडि बढाउन सहयोग पु¥याउने बताए । ‘नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको योगदान महत्वपूर्ण छ,’ उनले भने ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक विन्दुकुमार थापाले जतिसक्दो छिटो पोखरामा क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिनुपर्ने बताए । सबैको सकारात्मक पहलबाट पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने वातावरण बनेको उनको भनाइ छ । ‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रिया सरकारले अगाडि बढाएको छ । जुन काम निकै स्वागतयोग्य छ,’ थापाले भने, ‘अब छिट्टै विमानस्थलको शिलान्यास गर्न सरकारसँग आग्रह गर्दछु ।’ उद्योग, व्यवसाय तथा स्थानीय उत्पादनको प्रबद्र्धन र बजारीकरणको लक्ष्यसहित संघले मेला आयोजना गरेको उनले बताए ।

कार्यक्रममा बोल्दै सभासद रवीन्द्र अधिकारीले पोखरा विश्वमै पर्यटकीय गन्तव्यका रुपमा परिचित बनेको बताए । ‘अब सबै मिलेर पोखराको विकास गरिनुपर्छ,’ उनले भने । सभासद यज्ञबहादुर थापाले कास्कीको समग्र विकासका लागि व्यापार मेलाले महत्वपूर्ण योगदान पु¥याउने भनाइ राखे । ‘पोखरालाई लगानीको क्षेत्रका रुपमा विकसित गरिनुपर्छ,’ उनको तर्क छ । मेलाको उद्घाटनका अवसरमा पोखराका योजनाकारद्वय शंकरराज पाठक र पदमबहादुर क्षेत्रीलाई सम्मानित गरिएको छ ।नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित मेलामा २ सय ९५ स्टल राखिएको छ । डोममा ७८, रेष्टुराँका १५, अटोका ४७, पोखराका उत्पादन, पर्यटन, कृषि तथा हस्तकलामा ३६, प्mलोरिकल्चरमा ७, गार्मेण्टका २० र बाँकी १ सय ९२ साधारण स्टल मेलामा राखिएको संघका महासचिव तथा मेलाका प्रचार–प्रसार संयोजक रवीन्द्रबहादुर प्रजुले बताए ।

‘लगानीको सम्वद्र्धन ः उद्योग ब्यवसायको प्रवद्र्धन’ नाराका साथ आयोजित मेलाबाट पश्चिमाञ्चल क्षेत्रमा व्यवसाय बिस्तारको सम्भावनाको खोजी गरिने प्रजुले जानकारी दिए । मेलामा औद्योगिक, कृषि जन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरण गरिने भएको छ । मेलाका आकर्षणमा औद्योगिक तथा व्यापार, हस्तकला, कृषि, पुष्प, अटो मेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाहरुको गतिबिधीहरुको प्रदर्शनी गरिएको छ । स्थानीयकला र संस्कृतिको प्रदर्शनीलगायत दैनिक उपभोग्य बस्तु, घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामान पनि मेलाका आकर्षण बनेका छन् । ख्याति प्राप्त कलाकारहरुको लोकदोहोरी गीत, चर्चित व्याण्डहरुको लाइभ साँगीतिक कार्यक्रम, लोकनृत्य प्रतियोगिता, हाँस्य प्रहसन, शारीरिक सुगठन प्रतियोगिता, फेसन सोलाई पनि मेलामा समावेश गरिएको छ ।

मेलाबाट ९५ लाख रुपैयाँ आम्दानी गर्ने आयोजकको लक्ष्य छ । ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको मेलाबाट २५ लाख रुपैयाँ बचत गर्ने लक्ष्य छ । मेलाबाट बचत हुने रकम पोखरामा निर्माण हुन लागेको पोखरा प्रदर्शनी केन्द्रको पूर्वाधार निर्माणमा विशेष प्राथमिकता प्रदान गरी खर्च गरिने संघले बताएको छ । मेलालाई राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजना गरेको छ । मेलाको ३ लाख दर्शकहरुले अवलोकन गर्ने आयोजकको विश्वास छ । मेला मंसिर १४ गतेसम्म जारी रहनेछ ।