पोखरा विश्वविद्यालयको समस्या समाधान, नवनियुक्त पदाधिकारीहरुको संयुक्त राजिनामा,


पोखरा/ पोखरा विश्वविद्यालय ऐन नियम पालना गरिनुपर्ने, ऐन नियम विपरितका नियुक्तीहरु खारेज गरिनुपर्ने र करार प्राध्यापकहरुको सेवाको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग राखेर आइतबारदेखि पोखरा विश्वविद्यालयमा आमरण अनसनरत वरिष्ठ सहप्राध्यापक डा. गोविन्द प्रसाद लामिछानेको अनसन बिहिबार साँझ समाप्त भएको छ । पोखरा विश्वविद्यालयका नवनियुक्त सम्पूर्ण पदाधिकारीहरुले संयुक्त राजिनामा गरेपछि लामिछानेले अनसन तोडेका हुन् ।

पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर विष्णु प्रसाद तिवारीले आफुँले नियुक्त गरेका रजिष्ट्रार राजेश कुमार ठकुराठी, परीक्षा नियन्त्रक अनुप आचार्य, मानविकि संकायका डिन डा. अजय थापा, व्यवस्थापन संकायका डिन डा. दिपक बहादुर भण्डारी र विज्ञान तथा प्रविधि संकायका डिन डा. निर्मला जम्मरकट्टेलको संयुक्त राजिनामा पत्र अनसनरत प्राध्यापक लामिछानेलाई हस्तान्तरण गरेपछि लामिछाने अनसन तोड्न सहमत भएका हुन् । उता पोखरा विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष पूर्णबहादुर खाँड र उपकुलपति तिवारीबीच पनि उपकुपतिले गरेका सम्पूर्ण नियुक्ती खारेज गर्ने र करार प्राध्यापकहरुको मागलाई विश्वविद्यालयको सभामार्फत सम्बोधन गर्ने सहमति भए पछि अनसन समाप्त भएको हो । राजिनामा पत्र शुक्रबार नै विश्वविद्यालय प्रशासनमा दर्ता गरिने बताइएको छ ।

अनसनको पाँचौ दिनसम्म आइपुग्दा लामिछानेको अवस्था निकै कमजोर भएकाले अनसनरत लामिछानेलाई सोझै पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा लगेर भर्ना गरिएको छ । राजिनामा आए लगत्तै विश्वविद्यालयमा आन्दोलनरत प्राध्यापक तथा विद्यार्थी संगठनहरुले विजय उत्सवको आयोजना गरेका छन् ।आमरण अनसन फिर्ता लिएपनि आन्दोलनरत विद्यार्थी संगठनहरुले भने राजिनामा औपचारिक रुपमा दर्ता गरेर कार्यान्वयन नभएसम्म आन्दोलन जारी रहेन जनाएका छन् । अनेरास्ववियु पोखरा विश्वविद्यालयका संयोजक नेशन शर्माका अनुसार शुक्रबार राजिनामाले औपचारिकता पाएसँगै आन्दोलनको पनि औपचारिक समापन गरिने छ । शर्माका अनुसार विश्वविद्यालयका उपकुलपतिले अर्काे कुनै बेइमानी नगरे शुक्रबार दिउँसोबाट विश्वविद्यालयका सम्पूर्ण आंगिक कलेजहरु, परीक्षा नियन्त्रण कार्यालय र पदाधिकारीहरुको कार्यकक्षको तालाबन्दी खुल्ने छ ।